fbpx
Nepal Mediciti

गृहपृष्ठ खर्च विवरण बुझाउन स्थानीय तहको अटेरी

खर्च विवरण बुझाउन स्थानीय तहको अटेरी

colenika-surkhet-newskarobar

सुर्खेतका स्थानीय तहले आर्थिक वर्ष ०७५÷७६ को खर्च विवरण अझै पनि कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाएका छ्रैनन् । स्थानीय तहले विवरण नबुझाएपछि केन्द्र सरकार तथा विभिन्न वैदेशिक सहायताको रकम कहाँ कति खर्च गरिएको छ भन्ने विवरण अझै नआइसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतका लेखा नियन्त्रक गोविन्द सुवेदीले जानकारी दिए ।

विकास निर्मणमा बाहेक तलब भत्ता तथा अन्य कार्यमा खर्च गर्ने निकाय जिल्ला प्रशासन, प्रहरी तथा समन्वय समितिहरुले खर्चको विवरण बुझाएको भए पनि स्थानीय तहले भने अटेरी गरेको उनले बताए । कर्णाली प्रदेशका मन्त्रालयको भने खर्चको विवरण बुझाउने म्याद अझै बाँकी भएकाले नआइसकेको उनले जनाए । ‘स्थानीय तहले हरेक साउन १५ गतेभित्र हिसाब मिलान गरी भदौ १५ सम्ममा खर्चको विवरण बुझाइसक्नुपर्छ,’ उनले भने, ‘तर सुर्खेतका स्थानीय तहले अझै पनि खर्च विवरण बुझाएका छैनन् ।’

स्थानीय तहले खर्चको विवरण समयमै नदिँदा आगामी वर्षका लागि दिइने अनुदान दिन नसकिएको सुवेदीले बताए । ‘समयमै खर्चको विवरण नदिने स्थानीय तहलाई अहिलेसम्म कुनै कारबाही हुने गरेको छैन,’ उनले थपे, ‘तर खर्चको विवरण नबुझाएमा भने अनुदान रोकिन्छ ।’ आफूले गरेको खर्चको विवरण दिन स्थानीय तहले अटेरी गरेको उनले प्रस्ट पारे ।

समयमै आफूले गरेको खर्चको हिसाब मिलान गर्नुपर्ने भए पनि उनीहरुले अटेरी गर्दै विवरण नबुझाएका हुन् । यो अवस्थाले संघीयता नै धरापमा पर्ने उनको भनाइ छ । सुवेदीले एउटा सरकारको निर्देशनलाई अर्को सरकारले अटेरी गर्दा संघीयताको अनर्थ लाग्ने आशंका गरे ।

चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले भने खर्च विवरण तयार गरेको बताए । ‘अनुसूची धेरै पेजको रहेछ,’ उनले भने, ‘अनुुसूचीहरु विश्लेषण गरेर राखेको रहेछ, जसलाई वर्गीकरण गर्न समय लागेको कारण केही ढिला भएको हो ।’ चौकुने गाउँपालिकाले केन्द्र सरकारले उपलब्ध गराएको अनुदान रकमको खर्च विवरण तयार गरिसकेको पौडेलले बताए ।

नेपाल सरकार तथा विभिन्न वैदेशिक सहायताको रकम सुर्खेतका नौवटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकामा ६२ करोड ६२ लाख १७ हजार जम्मा रकममा ६२ करोड ४६ लाख ८८ हजार निकासा भएको थियो । त्यस्तै भेरीगंगा नगरपालिकामा २९ करोड ५० लाख ४१ हजारमध्ये २९ करोड ४४ लाख ९० हजार निकासा भएको सुवेदीले जानकारी दिए ।

सिम्ता गाउँपालिकाको जम्मा रकम २६ करोड ५७ लाख ६९ हजारमध्ये २६ करोड ५४ लाख ८४ हजार र लेकबेँसी नगरपालिकामा २६ करोड ४२ लाख ७७ हजारमध्ये २६ करोड ३९ लाख ८४ हजार निकासा भएको थियो । त्यस्तै बराहताल गाउँपालिकामा २८ करोड २० लाख ६६ हजारमध्ये २८ करोड १५ लाख २४ हजार, चौकुने गाउँपालिकामा २४ करोड ४२ लाख २८ हजारमध्ये ख करोड ९३ लाख ८५ हजार र चिङ्गाड गाउँपालिकामा १८ करोड ३४ लाख ३६ हजार रुपैयाँमध्ये १८ करोड ३० लाख २६ हजार रुपैयाँ निकासा भएको कार्यालयले जनाएको छ ।

गुर्भाकोट नगरपालिकामा ३८ करोड १५ हजारमध्ये ३६ करोड ६६ लाख ५४ हजार र पञ्चपुरी नगरपालिकामा ३२ करोड २२ लाख ४९ हजारमध्ये ३१ करोड ८९ लाख ७९ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । तर, कसैले पनि खर्च विवरण भने बुझाएका छैनन् ।

प्रकाशित समय १२:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु