fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ स्थानीय जनप्रतिनिधिको विदेश मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ भ्रमण

स्थानीय जनप्रतिनिधिको विदेश मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ भ्रमण

kathmandu-mahanagar-newskarobar

स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेका छन् ।

वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि कडाइ गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले बताए । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ । सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् ।

काठमाण्डौ महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्की संयुक्त राज्य अमेरिका र चीन भ्रमण, ललितपुरका प्रमुख महर्जन मंगोलिया र भियतनाम तथा भरतपुर महानगरका प्रमुख दाहाल चीन र अष्ट्रेलियाको भ्रमणमा गएका छन् । काठमाण्डौका प्रमुख शाक्य अमेरिका गएको भदौमा जाँदा हवाई खर्च महानगर र बाँकी खर्च आयोजक तथा गत कात्तिकमा चीन जाँदा भने आयोजकको खर्चमा गएका थिए ।

उहाँ तत्कालीन प्रमुख प्रशासकिय अधिकृत यादवप्रसाद कोइरालासहित सात जनाको टोली लिएर गत भदौमा अमेरिका गएका थिए । काठमाण्डौका प्रमुख शाक्य भगिनीसम्बन्ध रहको अमेरिकाको फ्रेडरिकवर्ग शहरको अवलोकन गर्न र चीनमा भने चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज् कन्फरेन्समा भाग लिन गएका हुन् ।

यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि दुई देशको भ्रमण गरेका छन् । उनले अमेरिका र भारतको नयाँ दिल्लीमा मन्त्रालयको स्वीकृत लिएर भ्रमण गरेका हुन् । यसैगरी दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख निरुलाल चौधरीले दुई पटक चीनको भ्रमण गरिसकेका छन् । चौधरीले गत असोज २९ र गत असार १६ गतेदेखि चीनको दुई पटक भ्रमण गरेका हुन् ।

सबैभन्दा ठूलो जम्बो टोली लिएर जानेमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी जापानको भ्रमणमा नौ र दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीको चीन भ्रमण टोलीमा आठ स्थानीय तहका प्रमुखरउपप्रमुख सहभागी थिए । वैदेशिक भ्रमण गर्नेमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड, धरान उपमहानगरका कार्यवहाक प्रमुख मञ्जु भण्डारीसमेत सहभागि थिए ।

यसैगरी विदेश भ्रमण जाने पदाधिकारी ती देशका शहरसँग भगिनी सम्बन्ध कायम गर्न, विभिन्न भेला तथा सम्मेलन र अवलोकन भ्रमणमा जाने गरेका पाइएको छ । सबैभन्दा बढी गत भदौमा ४० जना, फागुनमा ३५ जना, साउन र माघमा २१र२१ जना, मङ्सिरमा १८ जना, कात्तिकमा १६ जना पदाधिकारी भ्रमणमा गएको मन्त्रालयका प्रवक्ता बरालले जानकारी दिए ।

पोखराका प्रमुख जीसी गत वर्षको साउन १४ देखि १८ गतेसम्म वैदेशिक भ्रमणमा महानगरका पदाधिकारी र कर्मचारीसहित गएका थिए । अधिकांश जनप्रतिनिधि अमेरिका, चीन, जापान, दक्षिण कोरियाको भ्रमणमा गएका छन् । पदाधिकारीहरूले चीनमा १८ पटक, अमेरिकामा १५ पटक जापान र दक्षिण कोरियामा सात पटक भ्रमण गरेका छन् ।

मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका- २०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका- २०७५ जारी गरेको छ । तर सो निर्देशिकाको अधिकांश जनप्रतिनिधिले पालना गरेका छैनन् । (रासस)

प्रकाशित समय १०:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु