fbpx
Nepal Mediciti

गृहपृष्ठ शिखर नगरपालिकाले खाद्य सामग्री र केआइसिंह गाउँपालिकाले बाख्रा वितरण

शिखर नगरपालिकाले खाद्य सामग्री र केआइसिंह गाउँपालिकाले बाख्रा वितरण

जिल्लाको शिखर नगरपालिका–१ ले आफ्नो वडाभरि भएका विपन्न तथा दलित महिलालाई खाद्य सामग्री वितरण गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी वडामा आर्थिक अवस्थाले कमजोर परिवारका १८ महिलालाई ५० केजी चामल, नुन, तेल, मसलालगायतका खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए ।

उनले भने, ‘लक्षित वर्गका महिलाका लागि वडा कार्यालयले छुट्याएको २ लाख रूपैयाँबाट २० महिलालाई हामीले दुईमहिने कम्प्युटर पढायौँ, त्यसबाट बचेको पैसाले विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका हौँ ।’ वडा कार्यालयले निःशुल्क रूपमा खाद्य सामग्री उपलब्ध गरएपछि अहिले उक्त वडाका स्थानीयवासी तथा विपन्न परिवारहरु निकै खुसी भएका छन् ।

बिहान-बेलुकीको छाक टार्नसमेत धौधौ पर्ने विपन्न परिवारलाई खाद्य सामग्रीमा चामल मिलेपछि अहिले उनीहरुको चुलामा खाना पाक्न थालेको स्थानीय करन ऐरले बताए । उनले भने, ‘विपन्न परिवारलाई के खाने भन्ने चिन्ता थियो, वडा कार्यालयले खाद्य सामग्री दिएको छ, एक महिनासम्म गरिबका घरमा भात पाक्ने भयो ।’

त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–५ मा आर्थिक रूपमा विपन्न भएका दलित तथा अन्य विपन्न परिवारलाई समविकास केन्द्र (इडिसी) डोटीले उन्नत जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकामा रहेका आर्थिक अवस्थाले अति विपन्न भएका परिवारलाई जनही दुई बाख्रा वितरण गरिएको छ ।

जिल्लामा कार्यरत समविकास केन्द्रले निःशुल्क रूपमा उन्नत जातका बाख्रा वितरण गरेको हो । उक्त गाउँपालिकाले छनोट गरेको अतिविपन्न परिवारलाई ११ लाख ३ सय ७२ रूपैयाँका १६० बाख्रा निःशुल्क रूपमा वितरण गरिएको केन्द्रका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।

निःशुल्क रूपमा उन्नत जातका बाख्रा पाएपछि स्थानीय विपन्न समुदायकका व्यक्ति निकै खुसी भएको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । उनले भने, ‘गाउँपालिकामा भएका विपन्न परिवारलाई बाख्रालगायत अन्य पशु किन्नसमेत मुस्किल थियो, हाम्रो पहल र संस्थाको सहयोगमा बाख्रा पाएपछि खुसी भएका छन् ।’

यसअघि जिल्लाका दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले आफनो क्षेत्रमा भएका विपन्न परिवार तथा एचआइभी संक्रमितलाई उन्नत जातका बाख्रा वितरण गरेको थियो । निःशुल्क बाख्रा पाएपछि सो क्षेत्रका स्थानीयवासी अहिले निकै खुसी हुनुका साथै व्यावसायिक रुपमा बाख्रापालनमा लागेका छन् । (रासस)

प्रकाशित समय १२:५६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु