fbpx

गृहपृष्ठ स्मार्ट पार्किङ : सर्वसाधारणलाई लाभ, व्यवसायीलाई तनाव

स्मार्ट पार्किङ : सर्वसाधारणलाई लाभ, व्यवसायीलाई तनाव

smart-parking3-newskarobar

मुलुकमै पहिलो पटक काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको स्मार्ट पार्किङले यतिबेला न्युरोड क्षेत्र तताएको छ । सवारी धनीले पार्किङ स्थल खोज्दै भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी परीक्षणको रुपमा सुरु गरिएको स्मार्ट पार्किङ कतिपयका लागि आँखाको तारो बनेको छ भने केहीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

एकपटकमा करिब ८ सय मोटरसाइकल र ४० वटा चार पाङ्ग्रे सवारी साधन पार्क गर्न सकिने पाँचवटा पार्किङ स्थल न्युरोडका करोडौं कमाउने व्यापारीका लागि नै आपत्तिको विषय बनेको छ । काठमाडौंको सबैभन्दा व्यस्त क्षेत्र न्युरोडका व्यवसायीले महानगरले सुरु गरेको स्मार्ट पार्किङको विरोध गरिरहेका छन् । विगतमा पनि सटर उचाल्न बिहानै पुग्ने व्यवसायीले तिनै सटरका सामान किनिदिन जाने ग्राहकका लागि पार्किङको आवश्यकताबारे कुनै जिम्मेवारी महसुस गर्दैनथे । विगतमा दिनभर आफैंले निःशुल्क पार्किङ ओगट्ने र ग्राहकका लागि पार्किङ क्षेत्र चाहिन्छ भन्ने कुनै हेक्का नराख्ने व्यवसायी अहिले आफूले पैसा तिर्नुपर्दा तनावमा छन्, जो त्यही व्यवसायबाट करोडौं कमाउँछन् ।

पार्किङको परीक्षण सुरु गरिएको एक सता बितिसकेको छ । सर्वसाधारण भने स्मार्ट पार्किङको क्षेत्र बढाउनुपर्ने बताउँछन् । ‘सवारी साधनको सुरक्षा पनि हुने, पार्किङ पनि व्यवस्थित हुने भएकाले महानगरपालिकाको कार्य सराहनीय छ,’ महेश ज्ञवाली भन्छन्, ‘न्युरोड क्षेत्रबाट सुरु भएको स्मार्ट पार्किङलाई सहरभरि पु-याउन सके धेरै लाभान्वित हुनेछन् ।’ पार्किङका लागि बुक गरेको १५ मिनेटभित्रै पुगिसक्ने भने समस्या पर्ने उनले बताए । ‘काठमाडौंको जाम सबैलाई थाहै छ, समयमा पुग्न सकिँदैन,’ ज्ञवालीले भने, ‘यसको समयसीमा अलि बढी राख्न सके अझ उपयोगी हुने थियो ।’

कतिपय सेवाग्राहीले प्रविधिगत त्रुटि पनि औंल्याएका छन् । स्मार्ट पार्किङमा भेटिएका वैकुण्ठ रिमालले स्मार्ट पार्किङ एप्स ‘पार्क केटीएम’मा सुविधाभन्दा बढी समस्या दिएको बताए । ‘महानगरपालिकाले राम्रो काम सुरु गरेको हो, यसलाई सबैतिर लैजानुपर्छ,’ उनले भने, ‘तर एप्समा धेरै समस्या छ, सहज बनाउनुपर्छ, अहिले त हात्ती आयो, हात्ती आयो फुस्सा भइरहेको छ ।’

कतिपयले भने पार्किङ शुल्क महँगो भएको बताएका छन् । शुल्क महँगो भनेर विरोध गर्ने अधिकांश व्यापारी नै छन्, जो निःशुल्क दिनभर सडकमा पार्किङ गर्दै आएका थिए । महानगरपालिकाले हाल दुई पाङ्ग्रे सवारीसाधनका लागि एक घण्टाको २५ रुपैयाँ र चार पाङ्ग्रेका लागि प्रतिघण्टा ६० रुपैयाँ लिने गरेको छ । त्यसमाथिका सवारी साधनलाई प्रतिघण्टा २०० रुपैयाँ लिने गरिएको महानगरपालिकाले जनाएको छ ।

सडकलाई निजी पार्किङकै रुपमा उपयोग गर्ने र व्यवस्थित गर्न खोज्दा विरोध गर्नेहरुसँग भने महानगरपालिका असन्तुष्ट देखिएको छ । व्यवसाय गरेर लाखौं आम्दानी गर्ने र सडकमा दिनभर गाडी राखेर आवतजावतमा समेत अवरोध पु-याउने कार्यको अन्त्य गर्न पनि महानगरपालिका दृढ देखिएको छ । ‘दिनभर सडक ओगटेर बस्ने व्यवसायीले मात्र स्मार्ट पार्किङको विरोध गरेका छन्,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘तर हामी पछि हट्दैनौं ।’

यस्ता ठूला व्यापारिक केन्द्रहरुमा घर बनाउँदा पार्किङका लागि ठाउँ नछाड्नेप्रति महानगरपालिका थप कठोर देखिएको छ । ‘भवन बनाउने बेलामा पार्किङ स्थलसहितको स्वीकृति लिने अनि पछि सटर निकाल्ने गरेको पाइएको छ,’ प्रवक्ता डंगोल भन्छन्, ‘अहिले तिनै घरधनी/व्यवसायी यसको विरोध गर्छन् ।’ स्मार्ट पार्किङ राख्नुको उद्देश्य सर्वसाधारणको सहजताका लागि भएको उनले स्पष्ट पारे । ‘सर्वसाधारण महानगरको कार्यसँग सन्तुष्ट छन्, उनीहरुबाट जे जस्ता सुझाव आइरहेका छन्, त्यसलाई आत्मसात गर्दै अघि बढ्छौं,’ उनले भने ।

स्मार्ट पार्किङका लागि महानगरपालिकासँग सहकार्य गरेको ह्विल टु योर्सले पनि सर्वसाधारणका सुझावका आधारमा स्मार्ट पार्किङको प्रभावकारिता बढाउँदै लैजाने बताएको छ । ‘पहिलो प्रयासबाट प्रतिक्रिया राम्रै आएको छ, आगामी दिनमा सर्वसाधारणको सहजतालाई मध्यनजर गर्दै बुकिङ एप्सलाई परिष्कृत गर्दै लैजान्छौं,’ इन्जिनियर हरिश अग्रवालले भने, ‘सुरुवाती केही दिन बुकिङमा समस्या आए पनि अहिले समाधान भइसकेको छ ।’

स्मार्ट पार्किङको क्षेत्र अहिले अपुग भएकाले आवश्यकता र प्रभावकारिताका आधारमा बढाउँदै लगिने ह्विल टु योर्सले जनाएको छ । ‘बढी चहलपहल हुने पाकोलगायतका स्थानमा बढाउन दबाब परिसकेको छ, पार्किङ बुक गर्नेहरु धेरै भइसकेका छन्,’ इन्जिनियर अग्रवालले भने, ‘दीर्घकालीन योजना भएकाले महानगरपालिकासँग यसबारेमा छलफल भइरहेको छ ।’ सुरुका दिनमा २ देखि ५ जनाले मात्र बुकिङ गर्ने गरे पनि अहिले भने दैनिक दुई पाङ्ग्रे सवारी ३० देखि ४० वटा र चार पाङ्ग्रे सवारी १० वटासम्म बुकिङ भइरहेको उनले जानकारी दिए ।

अहिले उपत्यकाका पाँच स्थानमा स्मार्ट पार्किङ सञ्चालनमा छ । विशालबजार, इन्द्रचोक, प्युखा, खिचापोखरी र पाकोबाट सुरु भएको यो सेवा चाँडै दरबारमार्गमा पनि सुरु हुने महानगरपालिकाले जनाएको छ । पार्किङ क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरिएकाले सवारी साधन हराउने तथा असुरक्षित हुने सम्भावना नभएकाले सर्वसाधारणको चासो बढेको पाइन्छ । तर, सूचना अभावमा न्युरोड पुग्ने ग्राहक अझै पनि पार्किङका लागि भौंतारिने गरेका छन् ।

smart-parking2-newskarobar
नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकअगाडि फुटपाथमा गरिएको पार्किङ ।
smart-parking-newskarobar
पुतलीसडकबाट शंकरदेव क्याम्पसतर्फ जाने मोडमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल उठाउँदै महानगर प्रहरी ।

यो पनि पढ्नुहोस्
लाखौं कमाउने, एक रुप्पे पनि नतिर्ने ?

प्रकाशित समय ११:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु