fbpx
Nepal Mediciti

गृहपृष्ठ बुटवल उपमहानगरपालिकामा सधैं खानेपानीको पिरलो

बुटवल उपमहानगरपालिकामा सधैं खानेपानीको पिरलो

butwal-khanepani-newskarobar

गर्मी महिनामा बुटवलमा हरेक वर्ष पानीको हाहाकार हुने गर्छ । तर, वर्षौंदेखिको यो समस्या समाधानका लागि गम्भीर भएर कुनै सरकारी निकायले कदम चाल्ने गरेका छैनन् । केन्द्र सरकारको कहिल्यै ध्यान नपुग्ने यो समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकार पनि खासै जिम्मेवार बन्न सकेनन् । परिणामतः फेरि पनि बुटवलका अधिकांश क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ ।

खानेपानीको समस्या सबैभन्दा बढी बुटवल उपमहानगरपालिका-८ र ९ नम्बर वडाका बासिन्दाले भोग्दै आएका छन् । पानीकै लागि उनीहरु रातभर जाग्राम बस्न बाध्य हुने गरेका छन् । वर्षैभर पानीका लागि आक्रान्त उनीहरु गर्मीको समयमा बढी पीडित बन्ने गरेका छन् ।

नेपाल मानव सेवा आश्रम प्रदेश ५ संयोजक रुपा केसीले लामो समयदेखि आश्रममा पानी अभाव भएको बताइन् । बुटवल–९, सुक्खानगरमा रहेको नेपाल मानव सेवा आश्रमका लागि दैनिक उपभोगका लागि पनि पानी किनेर ल्याउनुपरेको उनले गुनासो गरिन् । गर्मी मौसम सुरु भएयता बुटवलका अधिकांश स्थानका धारामा पानी आउन छाडेको छ ।

नेपाल खानेपानी संस्था बुटवलका शाखा प्रमुख बुद्धरत्न महर्जनले खानेपानीको समस्या छ भन्ने जानकारी हुँदाहुँदै पनि केही गर्न नसकिएको लाचारी प्रस्तुत गरे । आर्थिक अभावमा बुटवल-८ र ९ नम्बर वडामा खानेपानी संस्थानले पानीका धारा विस्तार गर्न नसक्दा समस्या ज्युँका त्युँ रहेको उनको स्पष्टोक्ति छ । अहिले पनि तिनाउ नदीबाट तानेको पानी र बोरिङबाट गरी दैनिक २ करोड लिटर पानी संस्थानले वितरण गर्दै आएको उनले बताए । तर, बुटवलमा दैनिक साढे ५ करोड लिटर पानीको माग छ ।

बुटवल–८ र ९ मा एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने खानेपानी परियोजना ल्याइएको भए पनि सरकारी गैरजिम्मेवारीका कारण आठ वर्षपछि उक्त परियोजना फिर्ता भएको छ । सो परियोजना कार्यान्वयनका लागि नेकपाका प्रभावशाली नेता एवं रुपन्देहीका सांसद विष्णु पौडेलले पहल नगरेको स्थानीयको गुनासो छ । बुटवलमा करिब २० वर्षका लागि आपूर्ति हुने गरी अघि बढाइएको झुम्सा खोला खानेपानी आयोजना समेत अलपत्र परेको छ ।

खानेपानी संस्थाका अनुसार केही समयदेखि अदालतमा विचाराधीन रहेको झुम्सा खोला खानेपानी योजनाले सफाइ पाएको छ । लामो समयदेखि बुटवलको शिवनगर सामुदायिक वनमा थन्किएका झुम्सा खोला खानेपानी आयोजनाका पाइप अब प्रयोगमा आउने संस्थान प्रमुख महर्जनले बताए । ‘मुद्दा पार लागेको छ, अब ड्याम र पाइप बिछ्याउने कामका लागि टेन्डर गर्ने प्रक्रियामा छौं, उनले भने ।

बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले पानीको वैज्ञानिक वितरण गर्ने गरी काम अघि बढाएको बताए । मोतीपुर, सेमलार, बुद्धनगरलगायतका स्थानमा डिप बोरिङ गरी पानी वितरण गरिएको जानकारी गराउँदै उनले एडीबीको परियोजना फिर्ता भएपछि पानीका स्रोत खोज्ने काम भइरहेको बताए ।

अहिले तिनाउँको पानीभन्दा बोरिङको पानी दोब्बर बढी वितरण हुँदै छ । विभिन्न स्थानमा बोरिङ खन्नेदेखि लिएर खानेपानीका लागि स्रोत पत्ता लगाउनेसम्मका काम भइरहेको र नगरपालिकाले यसलाई विशेष प्राथमिकता दिएको प्रमुख सुवेदीको बताए । ‘खानेपानी संस्थानसँग मिलेर पानीको स्रोत खोज्ने र वितरण गर्नुको विकल्प रहेन, दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्ने गरी काम अघि बढाएका छौं,’ उनले भने । बुटवलको वडा नम्बर ८ र ९ तथा वडा नम्बर ५ को आदर्शनगरमा खानेपानीको ठूलो समस्या छ ।

प्रकाशित समय १३:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु