गृहपृष्ठ पाकिस्तानमा जन्तीले ६ फिट दूरीमा बस्नुपर्नेसहितको विवाह निर्देशिका जारी

पाकिस्तानमा जन्तीले ६ फिट दूरीमा बस्नुपर्नेसहितको विवाह निर्देशिका जारी

पाकिस्तानमा वैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ । कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।

संक्रमित र मृतकको संख्या बढ्दै गएपछि महामारी न्यूनीकरण गर्न नेसनल कमान्ड एन्ड अपरेसन सेन्टर (एनसीओसी)ले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको छ । नयाँ निर्देशिकाअनुसार वैवाहिक समारोहमा सहभागी अतिथिले कम्तीमा ६ फिट दूरी कायम गर्नुपर्ने, वैवाहिक कार्यक्रम दुई घण्टामा सम्पन्न गर्नुपर्ने र राति १० बजेअगाडि नै गरिसक्नुपर्ने भएको छ ।

सवै सहभागीलाई मास्क प्रयोग अनिवार्य गरिएको छ भने वैवाहिक कार्यक्रम गर्ने ठाउँमा सामाजिक दूरी कायम गरेर बस्न मिल्ने व्यवस्था भएको सुनिश्चित गर्नुपर्नेछ । समारोहमा सहभागी हुने सबैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफैँ झिक्ने व्यवस्था गर्न नपाइने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्नेलगायतका नियम निर्देशिकामा राखिएको छ । आयोजकले सबै सहभागीको नाम, सम्पर्क नम्बरलगायतका विवरण स्थानीय प्रशासनलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

पाकिस्तानमा २४ घण्टामा एक हजार ६५० जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् । यससँगै अहिलेसम्म तीन लाख ४४ हजार ८३९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म ६ हजार ९७७ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । पाकिस्तानमा १८ हजार ९८१ जना सक्रिय संक्रमित छन । तीमध्ये ९७२ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित समय ०६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु