fbpx
corona information

गृहपृष्ठ विश्वभर कोरोना संक्रमित एक लाख १४ हजारलाई सञ्चो भयो

विश्वभर कोरोना संक्रमित एक लाख १४ हजारलाई सञ्चो भयो

एकै दिन इटालीमा ६८३, स्पेनमा ६५६ जनाको ज्यान गयो

नोबेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढे पनि सञ्चो हुनेको संख्या पनि बढ्दै गएको छ । जनवरी २२ बाट विश्वभर फैलिएको कोरोना भाइरसले माहामारीको रुप लिएको छ । तर पनि हालसम्म एक लाखभन्दा बढीलाई सञ्चो भइसकेको छ ।

चीनको बुहानबाट फैलिएको भाइरस मार्न अहिले वैज्ञानिकहरु औषधिको खोजीमा दिन रात जुटेका छन् । तर पनि भ्याक्सिन पत्ता लागेको भने छैन । अहिले यो भाइरसले युरोपियन देशहरुमा चर्को रुप लिइरहेको छ ।

चीनको भन्दा दोब्बर प्रकोप लिएका इटाली र स्पेनमा भने दिनहुँ जसो ज्यान गुमाउनेको संख्या ५ सयभन्दा बढी पुग्ने गरेको छ । ती देशहरुमा अस्पतालबाट सञ्चो भएर घर फर्किनेको संख्या बढे पनि चीनको तुलनामा भने एकदमै कम हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभर भाइरस संक्रमित भएर डिस्चार्ज हुनेको संख्या एक लाख १४ हजार २१८ पुगेको छ । संक्रमित डिस्चार्ज हुने देशमा सबैभन्दा बढी पनि चीन नै हो । सो देशको तुलनामा अन्य देशमा भने एकदमै कम डिस्चार्ज भइरहेका छन् । चीनमा हेर्ने हो भने ७४ हजार ५१ जना अस्पतालबाट सञ्चो भएर फर्किसकेको वर्ल्ड म्याटरको तथ्यांकले देखाएको छ ।

अहिले चीनमा ८१ हजार २८५ जना संक्रमित देखिएका छन् भने ज्यान गुमाउनेको संख्या पनि घट्दै गएको छ । यो समाचार तयार गर्नसम्म चीनमा ३ हजार २८७ जनाले ज्यान गुमाएका छन् । चीनपछि महामारी फैलिएको इटालीले भने ठूलै प्रकोप लिएको छ । अहिले इटालीको अवस्था हेर्ने हो भने ७४ हजार ३८६ जनामा कोरोना संक्रमण देखिएको छ ।

एक दिनमा मात्रै इटालीमा पाँच हजार २१० जना नयाँ संक्रमित देखा परेका छन् । त्यस्तै गएको २४ घण्टामै इटालीमा ६८३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ७ हजार ५०३ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । इटालीमा कोरोना संक्रमित भएर सञ्चो हुनेको संख्या पनि मृत्यु हुनेको संख्याको हाराहारीमा छ । इटालीमा ९ हजार ३६२ जनालाई सञ्चो भएको छ ।

कोरोनाले अमेरिकामा पनि महामारीको रुप लिएको छ । पछिल्लो २४ घण्टामै नयाँ संक्रमित ११ हजार १९२ गरी अहिलेसम्म ६६ हजार ४८ जनामा संक्रमण देखिएको छ । अमेरिकामा मृत्युको संख्या पनि बढ्दै गएको छ । २४ घण्टाभित्रै १६४ जनाले ज्यान गुमाए । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ९४४ पुगेको छ भने ३९४ जनालाई मात्र सञ्चो भएको छ ।

स्पेनमा पनि कोरोना भाइरसको प्रकोप निकै फैलिएको छ । एकै दिनमा स्पेनमा ६५६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा तीन हजार ६४७ जनाले ज्यान गुमाएका छन् भने ४९ हजार ५१५ जनामा संक्रमण देखिएको छ भन् पाँच हजार ३६७ जनालाई सञ्चो भएको छ । त्यस्तै इरानमा ज्यान गुमाउनेको संख्या दुई हजार ७७, जर्मनीमा २०६, फ्रान्समा १३३१, स्विट्जरल्यान्डमा १५३ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा कोरोना भाइरसका अहिलेसम्म तीन जनामा देखिएको छ । विदेशबाट नेपाल फर्किएका उनीहरूमा कोराोना देखिएका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पुष्टि गरे । उनका अनुसार चीनबाट आएका एक जना संक्रमित सञ्चो भएर घर फर्किसकेका छन् भने अन्य २ जनाको उपचार भइरहेको छ ।

प्रकाशित समय ०८:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु