गृहपृष्ठ राष्ट्रपति सीद्वारा वुहानवासी र अग्रमोर्चामा काम गर्ने अधिकारीप्रति आभार व्यक्त

राष्ट्रपति सीद्वारा वुहानवासी र अग्रमोर्चामा काम गर्ने अधिकारीप्रति आभार व्यक्त

चीनका राष्ट्रपति सी चिनफिङले मंगलबार चीनमा कोरोना भाइरसको संक्रमणको महामारी फैलिएको सहर वुहानका वासिन्दा र संक्रमण नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गर्ने अधिकारीहरूलाई भेट गरेका छन् ।

विश्व स्वास्थ्य संगठनद्वारा कोभिड- १९ नाम दिइएको उक्त भाइरसको संक्रमणका कारण चीनमा मंगलबारसम्ममा तीन हजार १३६ जनाको मृत्यु भएको छ । राष्ट्रपति सीले भ्रमण गरेको हुबेई प्रान्तको राजधानी वुहान कोभिड- १९ को संक्रमणका कारण सबैभन्दा बढी प्रभावित स्थान हो ।

राष्ट्रपति सीले प्रकोप रोकथाम तथा नियन्त्रण परीक्षण केन्द्र, ह्वो शन शान अस्पतालको निरीक्षण भ्रमणपछि प्रकोप नियन्त्रणका शिलशिलामा क्वारेन्टिनमा बसेका स्थानीयसँग पनि भेटगरी जानकारी लिएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले भाइरस संक्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिएका थिए । उनले स्थानीय र अग्रपंक्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गरे।

उनले त्यहाँ अस्पतालको सञ्चालन, बिरामीको उपचार, चिकित्साकर्मीको संरक्षण र प्रत्याभूति, वैज्ञानिक अध्ययन आदि अवस्थाबारे जानकारी लिएर उपचाररत बिरामीप्रति सहानुभूति प्रकट गरेका थिए ।

राष्ट्रपति सीले कोभिड – १९ विरुद्धको काममा खटिइरहेका चिकित्साकर्मीलाई हौसला दिँदै सबैले दृढविश्वासका साथ भाइरस विरोधी लडाइँ जित्नुपर्ने पनि बताए । (रासस)

प्रकाशित समय १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु