fbpx
corona information

गृहपृष्ठ चीनलाई सहानुभूति व्यक्त गर्न कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा

चीनलाई सहानुभूति व्यक्त गर्न कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा

चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गरेका छन् । चीनको भ्रमणमा रहेका हुन सेनले क्वाङलाई बेइजिङस्थीत ग्रेट हल अफ द पिपल्समा बुधबार भेटवार्ता गरेका हुन् ।

चीनमा फैलिएको कोरोना भाइरसबाट सयौँ चिनियाँको मृत्यु भएको, हजारौँ संक्रमित भएको र अरू धेरै त्रसित भइरहेको बेलामा आत्मीयता देखाउनका लागि हुन सेन चीन आएका हुन् ।

चिनियाँ नागरिकको दुःखमा साथ दिन र सहानुभूति व्यक्त गर्नका लागि उनले चीनको भ्रमण गरेको अधिकारीहरूले बताएका छन् । उनले भेटका क्रममा चिनियाँ उच्च अधिकारीहरूलाई कम्बोडियाली जनताको तर्फबाट सहानुभूति व्यक्त गरेका थिए ।

भेटवार्ताका क्रममा उनीहरूका बीचमा आपसी सहयोग, दुईपक्षीय हित, साझा चासोलगायतका विषयमा कुराकानी भएको जनाइएको छ । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले दुःखको यस घडीमा चीन सरकार र जनताले संक्रमण नियन्त्रणका लागि धेरै राम्रो काम गरिरहेको बताएका थिए ।

चिनियाँ प्रधानमन्त्री लिले चिनियाँ नागरिकको स्वास्थ्य नै सरकारको प्रमुख प्राथमिकतामा रहेकाले त्यहीअनुसार काम भइरहेको जानकारी दिएका थिए । यसअघि थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले पनि बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीलाई फोन गरी संक्रमणबाट चाडै मुक्ति पाउने विश्वास व्यक्त गरेका थिए ।

थाई विदेशमन्त्री डोनले संकटको घडीमा थाइल्याण्ड सधैँ चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन पनि दिएका थिए । उनले चीनलाई अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाई सरकार तत्पर रहेको पनि बताएका थिए ।

चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणले अहिले नै विश्वभरी महामारीको रूप नलिएको तर यसको खतरा भने बढ्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंगलबार बताएको छ ।

कोरोना भाइरसका कारण चीनमा मंगलबारसम्म ४७९ जनाको मृत्यु भइसेकेको छ । यसैगरी १६ हजार ६७८ व्यक्तिमा संक्रमण भएको कारण उपचार गराइरहेका छन् । तीमध्ये दुई हजार ५२० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सो प्रान्तमा यस भाइरस संक्रमणको कारण उपचार गराइरेहका ५२० जना उपचारपछि घर फर्किएका जनाइएको छ ।

चीनको मध्यक्षेत्रमा पर्ने हुबेइको उहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ संक्रमण महामारीका रूपमा नरहेको चिनियाँ विदेशमन्त्रीले बताए । (एजेन्सी)

प्रकाशित समय ०८:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु