fbpx

गृहपृष्ठ ६८ सेकेन्डमै १ खर्ब रुपैयाँको सामान खरिद

६८ सेकेन्डमै १ खर्ब रुपैयाँको सामान खरिद

alibaba-newskarobar

चिनियाँ उपभोक्ताले सोमबार ६८ सेकेन्डमै १ अर्ब अमेरिकी डलर अर्थात १ खर्ब रूपैयाँको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको विश्वकै सर्वाधिक ठूलो २४–घण्टे सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्विफ्टले गरेका थिए ।

चीनमा पछिल्ला वर्षहरुमा ‘वर्षमा एक दिन’ (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ । यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन् ।

ई–कमर्स कम्पनी अलिबाबाका अनुसार छुटका कारण ६८ सेकेन्डमै १ अर्ब अमेरिकी डलरबराबरको सामान बिक्री भएको छ । अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्स, लत्ताकपडा र घरायसी सामान बिक्री भएका थिए ।

अलिबाबाले गत वर्षको तुलनामा यो वर्ष ४३ मिनेटअघि नै अलि–पे मार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुंग्याएको जनाएको छ । अलि–पे का अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्डसमेत बनेको छ ।

अलिबाबाले चीनमा यस किसिमको खरिद दिनको आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यो कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ ।

चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार युद्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ । एक दिने खरिद अर्थात् ‘११.११’ (नोभेम्बर ११) भनिने यस दिनलाई चिनियाँ ‘अविवाहित’ (सिङ्गल्स) को दिन पनि भनिन्छ ।

कार्यक्रमका अवसरमा व्यापारिक सहर सांघाईमा विशेष समारोह आयोजना गरिएको थियो । मध्यरातबाट सुरु हुने खरिदको शुभारम्भ अमेरिकी ग्रामी अवार्ड विजेता कलाकार टेलर स्विफ्टले विशेष समारोहबीच गरेका थिए ।

गत वर्ष २४ घण्टे यस कार्यक्रममा अलिबाबा प्ल्याटफर्मबाट मात्र ३० अर्ब ७० करोड बराबरको सामान बिक्री भएको थियो । तर, अघिल्लो वर्षको तुलनामा व्यापारमा सामान्य मन्दी आएको छ ।

अमेरिकामा सूचीकृत अलिबाबाको यसै महिनाको सुरुवातमा बिक्री निकै बलियो देखिएको छ तर कम्पनीको समग्र वृद्धि भने झन्डै ४० प्रतिशतले घटेको छ । (रासस)

प्रकाशित समय १९:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु