fbpx
Nepal Mediciti

गृहपृष्ठ जन्माष्टमीअघि मथुराको कृष्ण जन्मभूमिलाई बमले उडाउने धम्की

जन्माष्टमीअघि मथुराको कृष्ण जन्मभूमिलाई बमले उडाउने धम्की

जन्माष्टमीअघि वृन्दावन अवस्थित प्रेम मन्दिर र मथुराको कृष्ण जन्मस्थानमा अवस्थित मन्दिरलाई बमले उडाइदिने धम्की आएपछि मानिसहरू उत्तेजित भएका छन् । यो धम्कीपछि दुवै मन्दिरमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।

भारतीय अनलाइन वेबदुनियाका अनुसार मथुरामा यस सनसनीपूर्ण घटनामा एक पर्यटकले अटो चालकको फोन मागेर वृन्दावन अवस्थित प्रेम मन्दिर र मथुराको कृष्ण जन्मस्थान मन्दिरलाई बमले उडाउने धम्की दिए । यो मन्दिर कृष्ण जन्मभूमिका नामबाट पनि परिचित छ ।

प्रहरीले यससम्बन्धमा अटो चालकलाई गिरफ्तार गरेर फोन गर्ने पर्यटकको खोजी गर्दै छ । स्थानीय प्रहरीले बिहीबार प्रेम मन्दिरका एक कर्मचारीको मोबाइलमा धम्कीपूर्ण फोन आएको बताएको छ । फोन गर्ने व्यक्तिले प्रेम मन्दिर र कृष्ण जन्मस्थानलाई बमले उडाइदिने धम्की दियो । धम्की दिएलगत्तै उसले फोन काटेपछि यसबारे प्रहरीलाई खबर गरियो । धम्कीपछि दुवै मन्दिरको सुरक्षा थप गरिएको छ ।

मथुराका अतिरिक्त प्रहरी अधिक्षक ज्ञानेन्द्र सिंहले अटो चालकसँग सोधपुछ जारी रहेको बताए । चालकका अनुसार पर्यटकले अटो चालकसँग मोबाइल मागेर त्यही मोबाइलबाट धम्की दिए । सिंहका अनुसार प्रहरीले यसको जाँचका लागि सातवटा टिम गठन गरेकाले धम्की दिने पर्यटकलाई छिट्टै गिरफ्तार गरिनेछ ।

प्रेम मन्दिर लगभग ५४ एकड भूमिमा कृपालु महाराजले निर्माण गराएका हुन् । यसको निर्माणमा डेढ अर्ब रूपैयाँभन्दा बढी रकम खर्च भएको छ । ११ वर्षमा निर्माण पुरा भएको यो मन्दिरको लेकार्पण सन् २०१२ मा भएको थियो ।

यस मन्दिरमा ९४ खम्बा छन् । यो मन्दिर निर्माण गर्दा इटालियन सिंगमरमर प्रयोग गरिएको छ । मन्दिर बनाउन राजस्थान र उत्तरप्रदेशक एक हजार कालिगढले दिन-रात काम गरेका थिए । यहाँ प्रतिदिन देश-विदेशदेखि धेरै संख्यामा श्रद्धालुहरू आउँछन् ।

मन्दिरको उचाइ १२५ फुट, लम्बाइ १२२ फुट तथा चौड़ाइ ११५ फुट छ । यहाँ बगैंचाका बिचमा पानीको फोहोरा, राधा-कृष्णका मनोहर झाँकीहरू, गोवर्धन लीला, कालिया नाग दमन लीला, पिङ लीलाका झाँकीहरूले सजाइएको छ । मन्दिरका शिलामा राधा-गोविन्द गीत सरल भाषामा लेखिएको छ ।

प्रकाशित समय १५:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु