गृहपृष्ठ अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न राजाको स्वीकृति

अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न राजाको स्वीकृति

साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृति दिएका छन् ।

साउदी प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताएका छन् ।

अमेरिकी पाँच सय सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा रहने तय गरिएको दुई सुरक्षा स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानका कारण सिर्जित खतराबाट अमेरिकी स्वार्थको रक्षा गर्न अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न लागिएको जनाएको छ ।

खाडी क्षेत्रमा पानीजहाज हिँड्ने सामुद्रिक मार्गको विषयमा इरानसँग अमेरिकाको तनाव चुलिएको बेला अमेरिकाले सामरिक अर्थ राख्ने गरी अमेरिकी सेना रियाद ल्याउन लागेको हो ।

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट आफू अलग भएको घोषणा गरेपछि दुई देशबीच तनाव बढ्न थालेको छ ।

इराक युद्धपछि साउदी अरबले सन् २००३ देखि अमेरिकी सेना आफ्नो देशमा राखेको थिएन । त्यसअघि इराकले कुवेतमा आक्रमण गरेपछि सन् १९९१ मा साउदी अरबमा अमेरिकी सेना बस्न थालेका थिए । (रासस)

प्रकाशित समय १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु