गृहपृष्ठ अफ्रिकाको भोकमरीमा युएन सहयोगको घोषणा

अफ्रिकाको भोकमरीमा युएन सहयोगको घोषणा

संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन ४ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ ।

राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुक्खाग्रस्त क्षेत्रका जनतालाई उक्त सहयोग गरिने बताए । यी अफ्रिकी देशका कतिपय भेगमा सुक्खाका कारण खाद्यान्नको चरम संकट उत्पन्न भएको छ ।

लोककले जारी गरेको विज्ञप्तिमा राष्ट्रसंघले निरन्तरको सुक्खाबाट प्रभावितको मृत्यु र मानवीय संकटमा सहयोग गर्न चाहेको उल्लेख छ । लोककले राष्ट्रसंघको बजेटमध्ये सोमालियाका लागि ३ करोड छुट्याइएको बताए । सोमालियामा आगामी सेप्टेम्बरसम्ममा चरम खाद्य असुरक्षाबाट करिब २२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

यस्तै करिब १ करोड अमेरिकी डलर सोमालियाको छिमेकी मुलुक इथियोपियामा खर्च हुनेछ । यहाँ सन् २०१६ र २०१७ को झैं विषम मौसमी अवस्था रहेको र सुक्खाबाट चरम खाद्य संकट उत्पन्न भएको छ ।

लोककले तीन देशले भोग्नुपरेको विषयम खाद्य संकट र अन्य मानवीय सहायतामा ध्यान दिन अन्य दातृ निकायहरुलाई पनि आग्रह गरेका छन् । करिब ५० लाख अमेरिकी डलर भने केन्या सरकारको खाद्य सुरक्षा कार्यक्रमका लागि उपलब्ध गराइने राष्ट्रसंघले जनाएको छ ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु