fbpx
corona information

गृहपृष्ठ आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु

आइसिटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु

इसेवा र एसएमएसबाट भोट गर्न सकिने

आइसिटी अवार्ड २०२० का लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डअन्तर्गतका विभिन्न चार विधामा छनौट भएका उत्कृष्ट पाँचका लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ । नाभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा इसेवा, एसएमएस र इमेलमार्फत विश्वभरबाट भोट गर्न सकिनेछ ।

कात्तिक ६ गते भर्चुअल कार्यक्रममार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितिमा आयोजकले चार विधाका उत्कृष्ट पाँचको घोषणा गरेको थियो । १४ जनाको जुरी समितिले तेस्रो चरणको छनौट प्रक्रियाबाट स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट पाँचको छनौट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप आइसिटी अवार्ड २०२० अन्तर्गत स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रालि, क्रिप्टोजेन नेपाल प्रालि, जेनियस सिस्टम प्रालि, जिवी हेल्थ प्रालि र नेपमेड्स प्रालि छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट पाँचमा पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, फ्युज क्लास रूम, जेनियस आइपिटिभी, जिवी र न्यानो नानी छन् ।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट पाँचमा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एन्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर छन् । राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट पाँच प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर छन् ।

यो वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्डका लागि अनलाइन नोमिनेसन खुला गरिएको थियो । ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आइसिटी अवार्ड २०२० को छनौट प्रक्रिया दुई महिनादेखि जारी छ । अन्य विभिन्न सात विधामा दोस्रो चरणको छनौट प्रक्रिया सञ्चालन भइरहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

आइसिटी अवार्ड २०२० को ग्रान्ड फिनाले मंसिर २१ गते आयोजना हुनेछ । कार्यक्रम विभिन्न टेलिभिजन र अनलाइनहरुमा प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण, नास्ट, जिनस सोलुसन, फोन पे, एनआइटिसी, राष्ट्रिय वाणिज्य बैंक, ईसेवा, डिस होम, इमिनेन्स वेज, टेक्नोरियो,  आइडियाजारलगायतको सहकार्य र सहयोग रहेको आइसिटी अवार्ड २०२० आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

कसरी गर्ने भोटिङ ?

विभिन्न चार विधाका लागि उत्कृष्ट पाँचमा छानिएका प्रतिस्पर्धीलाई भोट गर्न इसेवा, इमेल वा एसएमएसको प्रयोग गर्नुपर्ने हुन्छ । इसेवाबाट भोट गर्न मोवाइलमा इसेवा एप्लिकेसन डाउनलोड गरी आइसिटी अवार्डमा गएपछि विभिन्न चार विधा खुल्नेछन् । आफूले भोट गर्न चाहेको विधामा गएर उत्कृष्ट पाँचमध्ये कसलाई भोट गर्ने छनौट गरी भोट बुझाउन सकिनेछ ।

एसएमएसबाट भोट गर्न मोबाइल म्यासेज बक्समा आईसिटी लेखेर प्रतिस्पर्धीको भोटिङ कोड उल्लेख गरी ३३००१ मा म्यासेज पठाउन सकिनेछ । यसैरी इमेल तथा फेसबुकबाट भोट गर्न voting.ictaward.org मा गएर आफूले चाहेको प्रतिस्पर्धीलाई भोट गर्न सकिनेछ । एक प्रतिस्पर्धीलाई एक दिनमा एउटामात्र भोट गर्न सकिनेछ । भोटिङ मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित समय १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु