fbpx
corona information

गृहपृष्ठ मलाई चिनाउन वर्ल्डलिंकको सहयोग महत्वपूर्ण छ : महाबीर पुन

मलाई चिनाउन वर्ल्डलिंकको सहयोग महत्वपूर्ण छ : महाबीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष वैज्ञानिक डा. महाबीर पुनले आफ्नो सफलताको सारथी बनेकोमा वर्ल्डलिंकप्रति विशेष आभार व्यक्त गरेका छन् । कम्पनीको २५औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उनले वायरलेस इन्टरनेट नेटवर्किङका लागि निःशुल्क रुपमा ब्याण्डविथका साथै आवश्यक उपकरण सहयोग गरेर लगाएको गुन सम्झिएका हुन् ।

‘वर्ल्डलिङ्कसँगको मेरो सम्बन्ध सुरु भएको १६ वर्ष पुगेछ । म्याग्दीबाट सुरु गरेर वायरलेस इन्टरनेट मैले विभिन्न १६ जिल्लामा पुर्‍याएँ । त्यही इन्टरनेटले नै मलाई विश्वभर चिनायो,’ उनले भनेका छन्, ‘त्यसका लागि मैले वर्ल्डलिंकबाट निकै धेरै सहयोग पाएको छु । निःशुल्क रुपमा ब्याण्डविथ दिएर मलाई सबै माझ चिनाउन सघाएकोमा वर्ल्डलिंकप्रति विशेष आभारी छु ।’

आफूले वायरलेस इन्टरनेटलाई कहिल्यै पनि व्यवसायिक उद्देश्यका लागि विस्तार नगरेको भन्दै पुनले वर्ल्डलिंकबाट निःशुल्क रुपमा प्राप्त ब्याण्डविथकै कारण आफूले देशका ग्रामीण क्षेत्रमा इन्टरनेट दिन सकेको बताए । ‘व्यवसायिक इन्टरनेट नपुगेका स्थानमा अहिले पनि मैले सुरु गरेको वायरलेस इन्टरनेट चलिरहेको छ । अहिले जति पनि गाउँहरुमा वायरलेस इन्टरनेट चलिरहेको छ, उनीहरु सबैको तर्फबाट म वर्ल्डलिंकप्रति आभार व्यक्त गर्न चाहन्छु,’ पुनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

१० हजार स्थानमा फ्रि वाईफाई

यसैबीच वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्वको रुपमा देशका विभिन्न दश हजार स्थानमा फ्रि वाईफाई सेवा उपलब्ध गराइरहेको जनाएको छ । यसबाहेक मानव सेवा आश्रमका २० वटा कार्यालयमा समेत कम्पनीले निःशुल्क इन्टरनेट दिँदै आएको वर्ल्डलिंकका निर्देशक विजय जलानले जानकारी दिए । ‘यसबाहेक हामीले महाबीर पुनको ग्रामीण वायरलेस परियोजनामा समेत सहयोग पुर्‍याउँदै आएका छौं,’ उनले भने, ‘सँगसँगै विभिन्न विद्यालयहरुमा इन्टरनेटसम्बन्धी सचेतनामुलक कार्यक्रमलाई समेत निरन्तरता दिएका छौं ।’

ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने घोषणा

वर्ल्डलिंकले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । २५ वर्ष पुरा गरेको अवसरमा भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सीईओ केशव नेपालले नेटवर्कमा बढ्दै गएको चापअनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको सुनाए । त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष दिलिप अग्रवालको भनाइ थियो । ‘हामीलाई सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने । कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ पहल भइरहेको जनाएको छ ।

प्रकाशित समय १४:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु