fbpx
corona information

गृहपृष्ठ नेपाल टेलिकमको आम्दानी घट्यो

नेपाल टेलिकमको आम्दानी घट्यो

नेपाल टेलिकमको आम्दानी घटेको छ । आर्थिक वर्ष २०७५/०७६ को तेस्रो त्रैमासको अवधिमा भन्दा चालू आवको सोही अवधिमा सेवा आम्दानी करिब ६७ करोड रुपैयाँले घटेको हो ।

गत आवको तेस्रो त्रैमासिकसम्मको कुल सेवाबापतको आय २७ अर्ब ५० करोड ६० लाख रहेकोमा चालू आवको सोही अवधिसम्मको कुल सेवाबापतको आय २६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा झरेको हो । सेवा आय घट्नुको मुख्य कारणमा कम्पनीले डिस्काउन्टलाई लिएको छ ।

२०७५ चैत १ गतेदेखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेको थियो । चालू आवको तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कुल ८५ करोड ३३ लाख रहेको कम्पनीले जनाएको छ । कुल आयमा उल्लिखित डिस्काउन्ट पनि जोड्दा कुल आय १८ करोडले बढी हुने टेलिकमले जनाएको छ ।

त्यसबाहेक कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि चैत ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत महिनाको राजस्वमा पनि नकारात्मक असर परेकोछ । यो अवधिमा चैत २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस रकम कुल ५३.४ करोड बराबरको हुने र सोही अवधिमा शून्य ब्यालेन्स भएका मोबाइल प्रयोगकर्तालाई ५.३ करोडबराबरको जिरो ब्यालेन्स प्याकेज प्रदान गरिएको हो ।

त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको, जुन ८.२ करोड बराबर हुन्छ । यसरी लकडाउनको कारण कम्पनीको आयमा कुल ६६.९ करोडबराबरको नकारात्मक असर परेको र यसबाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड योगदान गरेको जनाएको छ ।

यसबाहेक उल्लिखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमय दर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोर जी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनका लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई नाफामा असर परेको टेलिकमले जनाएको छ ।

प्रकाशित समय १३:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु