fbpx
corona information

गृहपृष्ठ ‘अनलाइन शिक्षाका लागि डिजिटल इन्फ्रास्ट्रक्चर आवश्यक’

‘अनलाइन शिक्षाका लागि डिजिटल इन्फ्रास्ट्रक्चर आवश्यक’

सूचना प्रविधि दिवसको अवसरमा शनिवार आयोजित अनलाइन अन्तर्क्रियाका सहभागीले डिजिटल एजुकेसन तथा अनलाइन लर्निङ प्रवर्धन गर्ने सुनौलो अवसर आएको बताएका छन् । नेपालमा केही विश्वविद्यालय, कलेज तथा विद्यालयले अनलाइन शिक्षा सुरु गरिसकेको भए पनि यसलाई दूरदराजसम्म पुर्‍याउन र निम्न आयस्तरका विद्यार्थीले पनि लाभ लिनसक्ने वातावरण बनाउन डिजिटल इन्फ्रास्ट्रक्चर र लोकल कन्टेन्टको विकासमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

काठमाडौँ विश्वविद्यालका प्रा. डा. मनिष पोखरेलले नेपालमा तीन हजारको हाराहारीमा सामुदायिक तथा सरकारी विद्यालय भए पनि केहीमा मात्र इन्टरनेट र ल्याबको व्यवस्था रहेको बताए । त्यस्तै प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सरकारले कनेक्टिभिटी तथा डिजिटल इन्फ्रास्ट्रक्चरमा ध्यान दिए प्याब्सन डिजिटल एजुकेसनलाई अघि बढाउन तयार रहेको जनाए ।

त्रिभुवन विश्वविद्यालयका एमसिएसआइटीका विभागीय प्रमुख नवराज पौडेलले कनेक्टिभिटी, लोकल कन्टेन्ट र शैक्षित लागत प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी पोखरा विश्वविद्यालयका टेक क्षेत्रीले अहिलेको अवस्थामा नै पूर्णरुपमा अनलाइन शिक्षा दिन नसकिने धारणा राखे ।

टिच फर नेपालका शिशिर खनालले डिजिटल शिक्षामा कम आय भएका तथा कम्युनिटी विद्यालयलाई जोड्नुपर्ने बताए । बालबालिका तथा परिवारमा इन्टरनेट र स्मार्ट डिभाइसहरु नै नहुने र शिक्षकसँग अनुभवको कमी भएकाले अहिले नै अनलाइन शिक्षा प्रभावकारी नहुने तर निरन्तर काम गर्दै गए आगामी दिनमा व्यवस्थित गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा समृद्धि एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत नरेशप्रसाद श्रेष्ठ, टेक्नोरियोका निदेश मास्के, पूर्वमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित विशेष समितिका संयोजक गणेश शाहलगायतले धारणा राखेका थिए । पूर्वमन्त्री शाहको संयोजकत्वमा सञ्चालन भएको डिजिटल संवादमा स्वदेशी तथा विदेशी गरी १६० जनाको सहभागिता थियो ।

यसैबीच, साक्षर नेपाल घोषणा कार्यक्रम प्रभावित हुने भएको छ । लकडाउनका कारणा सरकारले २०७६/७७ को बजेट वक्तव्यमा घोषणा गरेअनुसार दुई वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य प्रभावति हुने भएको हो ।

हालसम्म राष्ट्रिय युवा साक्षरता (१५‑२४ वर्ष) दर ९५ प्रतिशत र राष्ट्रिय प्रौढ साक्षरता (१५‑६० वर्ष) दर ८२ प्रतिशत छ । २०७५ असारसम्ममा ४७ जिल्ला साक्षर घोषित भइसकेका छन् ।

प्रकाशित समय १५:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु