fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ साकार बन्दै ‘डिजिटल ड्रिम’, सूचना प्रविधिमा उत्साहजनक उपलब्धि

साकार बन्दै ‘डिजिटल ड्रिम’, सूचना प्रविधिमा उत्साहजनक उपलब्धि

'एप'मार्फत कलको गुणस्तर मापन

Nepal Telecom_4G_NewsKarobar

सञ्चार क्षेत्रलाई हेर्ने हो भने भन्न सकिन्छ, नेपाल सूचना र प्रविधिमा फड्को मार्दैछ । अन्य कतिपय क्षेत्रमा अपेक्षाअनुसार प्रगति हुन नसकिरहे पनि सूचना र प्रविधिमा भने नेपालले उत्साहजनक उपलब्धि हासिल गरेको छ । दुर्गमका गाउँ-गाउँसम्म पुगेको टेलिफोन र इन्टरनेट सुविधा यसका उदाहरण हुन् ।

देशको सम्पूर्ण स्थानीय निकाय, सामुदायिक स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालयहरुबाट प्रदान गरिने सेवासुविधालाई प्रविधिमार्फत सहजीकरण गर्न प्राधिकरण लागि परेको छ । सबैतिर ब्रोडब्यान्ड इन्टरनेट सेवाको सुविधा पुर्‍याउन १८ वटा प्याकेजमा बनाई सेवा प्रदायकका कार्यहरु निरन्तर अघि बढिरहेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म ८५ प्रतिशत काम सम्पन्न गरिसक्ने प्राधिकरणले लक्ष्य लिएको छ ।

हालसम्म उपत्यका बाहेकका ४ सय २१ स्थानीय निकाय, ३ हजार ५ सय ३० वडा कार्यालय, २ हजार ४ सय ८१ स्वास्थ्य केन्द्र र २ हजार ८ सय ३९ सामुदायिक विद्यालयमा इन्टरनेट सेवाको पहुँच पुगेको छ । भूकम्पबाट प्रभावित १४ जिल्लामध्ये काठमाडौँ उपत्यका बाहेकका ११ जिल्लाहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगिसकेको छ । ‘सूचना महामार्ग’ निर्माण गर्न देशभर सडक सञ्जाल पुगेका स्थानहरुमा ९६ कोरको अप्टिकल फाइबर नेटवर्क निर्माण गर्ने कार्य अघि बढिरहेको प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म १५ प्रतिशत काम सम्पन्न हुनेछ ।

बढ्दै उपभोक्ता

ब्रोडब्याण्ड इन्टरनेट सेवा देशभर विस्तार हुने क्रममा छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार इन्टरनेट ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ११ लाख ७ हजार ५ सय ९० जना पुगेको छ । जसमध्ये २ करोड ६३ लाख ४६ हजार ३ सय ५९ जना मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता रहेका छन् ।

हालसम्म ७७ जिल्लाका प्रमुख शहरहरुमा फोरजी सेवासमेत विस्तार भइसकेको छ । ५० लाखभन्दा बढी सर्वसाधारण यस सेवाबाट लाभान्वित भएका छन् । आगामी ६ महिनाभित्र देशको सम्पूर्ण भागमा फोरजी सेवा विस्तार भइसक्ने प्राधिकरणको २२औँ वार्षिकोत्सवको अवसरका आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।

पछिल्लो तथ्यांकअनुसार मोबाइल सेवा लिने ग्राहक संख्या ४ करोड २० लाख ७९ हजार ६ सय ५३ पुगिसकेको छ । टेलिफोन ग्राहक संख्या ४ करोड २८ लाख ७८ हजार ३ सय ५१, मोबाइल ब्रोडब्याण्ड ग्राहक संख्या १ करोड ६६ लाख ३८ हजार १ सय ५७ पुगेको तथ्यांक छ । त्यस्तै इन्टरनेट ग्राहक २ करोड १४ लाख ५० हजार ३ सय ९७ जना रहेका छन् ।

गुणस्तर मापन गर्न ‘एप’

भर्खरै मोबाइल सेवामा कलको गुणस्तर मापन गर्न तथा सेवाग्राहीहरुको कलको गुणस्तर सम्बन्धमा गुनासो प्राप्त गर्ने प्रयोजनका लागि ‘एनटीए’ नामक एप प्राधिकरणले ल्याएको छ । उक्त एपले कल गरेको स्थानमा सेवा प्रदायकले कस्तो गुणस्तरको सेवा दिइरहेको छ भन्ने जानकारी प्राप्त गर्न सकिन्छ । साथै सेवाको गुणस्तर कायम गर्न प्राधिकरणलाई निर्देशन पनि दिन सकिनेछ ।

अध्यक्ष खनालले प्राधिकरण दुरसञ्चार नियामक निकायको रुपमा स्थापना भई २२ वर्षदेखि देशको सम्पूर्ण क्षेत्रमा सेवा पुर्‍याउन क्रियाशील रहेको बताएका छन् । सूचना प्रविधिको वर्तमान युगमा आम नेपालीलाई नवीनतम र विकसित प्रविधि प्रयोगको अवसर उपलब्ध गराउन तथा प्रविधिको उच्चतम प्रयोगबाट देशको आर्थिक एवं सामाजिक उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्राधिकरण निरन्तर प्रयत्नशील रहेको जानकारी दिएका छन् । ‘दुरसञ्चार सेवालाई नियमित, भरपर्दो र सर्वसुलभ बनाउन दत्तचित्त भएर काम गरिरहेका छौँ,’ उनले भनेका छन् ।

प्रकाशित समय १७:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु