fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ त्रिभुवन विमानस्थलमा ‘पर्यटन परी’, बटन थिचेपछि ३ भाषामा सूचना

त्रिभुवन विमानस्थलमा ‘पर्यटन परी’, बटन थिचेपछि ३ भाषामा सूचना

यस्तो प्रविधि नेपालमै पहिलो भएको दावी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने आगन्तुकहरुलाई अब विभिन्न सूचना र नेपालसम्बन्धी जानकारी रोबोटले दिनेछ । ‘भ्रमण वर्ष २०२०’लाई लक्षित गरी नेपालमै बनाइएको दुईवटा रोबोटको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार उद्घाटन गरे ।

पाइला टेक्नोलोजीका कार्यकारी निर्देशक आयुश कसजुका अनुसार नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल भ्रमण वर्षको सचिवालय, क्यान र नेपाल सरकारको संयुक्त प्रयासमा रोबोट सञ्चालनमा ल्याइएको हो । उनका अनुसार रोबोटको नाम ‘पर्यटन परी’ राखिएको छ ।

पर्यटन परीहरुले विमानस्थलमा आउने आगन्तुकहरुलाई नेपाली संस्कृति, इतिहासलगायत अन्य सूचना दिने, आफैँ गएर देखाउने र फर्किनेजस्ता कामहरु गर्न सक्छ । ‘आफूलाई चाहिएको सूचना लिन कसैलाई सोध्नु पर्दैन । रोबोटमा जडान भएको बटन थिचेपछि जे सोध्यो त्यसको जवाफ दिन्छ,’ कसजुले भने । यस्तो प्रविधि नेपालमै पहिलो भएको उनले बताए ।

उनका अनुसार रोबोटले अंग्रेजी, चिनियाँ र नेपाली भाषामा सूचना दिन्छ । ‘रोबोटसँग दोहोरो कुराकानी पनि गर्न सकिन्छ,’ उनले भने, ‘नेपालमा सबैभन्दा बढी भित्रिने पर्यटकमध्ये भारतीयले अंग्रेजी सजिलै बोल्न सक्छन् । तर चिनियाँहरुलाई अंग्रेजी गाह्रो हुने भएकाले चिनियाँ भाषा पनि राखेका हौँ ।’ एउटा रोबोट करिब २२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

मन्त्री भट्टराईले रोबोट सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गरे । नेपाल प्रविधि विकासको बाटोमा बिस्तारै अगाडि बढिरहेको उनले बताए । ‘अहिले परीक्षणको रुपमा विमानस्थलमा राखिएको हो । प्रभावकारी भएमा अन्यत्र पनि विस्तार गर्दै लगिनेछ,’ उनले भने । नेपाल सरकारले नयाँ प्रविधि विकासका लागि सधैँ सहयोग गर्ने मन्त्री भट्टराईले प्रतिवद्धता जनाए ।

विमानस्थलमा थप पार्किङस्थल छिट्टै बिस्तार हुने मन्त्री भट्टराईले बताए । गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलको काम तीव्र गतिमा भइरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित समय १२:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु