fbpx
Nepal Mediciti

गृहपृष्ठ देशभरका ५९ सहरमा टेलिकमको फोर जी, सेवा विस्तारमा १८ अर्ब खर्च

देशभरका ५९ सहरमा टेलिकमको फोर जी, सेवा विस्तारमा १८ अर्ब खर्च

telecom-4g-pm-newskarobar

नेपाल टेलिकमले बुधबारदेखि थप ३६ जिल्लाका ५९ सहरमा फोरजी सेवा सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो फोरजीमार्फत कुरा गर्दै सेवाको अौपचारिक शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्रीले देशभर भएको फोरजी सेवाको सुरुवातले सरकार हरेक दिन एक पाइला अघि बढिरहेको स्पष्ट पार्ने बताए । ‘हामीले भर्खरै देशलाई खुला दिशामुक्त घोषणा गरेर हाम्रो सभ्यता देखायौं, आज फोर जी सेवा सुरुवात गरेर प्रविधिमा गरिएको विकासलाई दर्शायौं,’ उनले भने, ‘सरकार हरेक दिन एक कदम अघि बढेर काम गर्दैछ भन्ने उदाहरण हो यो ।’

त्यस्तै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी कम्पनी नेपाल टेलिकमलाई नागरिलाई सस्तो र भरपर्दो सेवा दिनुपर्ने दबाब रहेको बताए ।

कार्यक्रममा टेलिकमका सञ्चालक समिति अध्यक्ष महेन्द्रमान गुरुङले यो सेवाको विस्तार फोर जीमात्रै नभएर फाइभ जी सेवाको जगसमेत भएको उल्लेख गरे । फोरजी सेवाको विस्तारले समग्र देशको अर्थतन्त्र र नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने उनको भनाइ छ ।

काठमाडौं उपत्यका र पोखरामा विगतदेखि नै फोर जी सेवा रहेकोमा बढी जनघनत्व भएका ५९ सहरमा सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ । कम्पनीले फोर जीसँगै भ्वाइसओभर एलटीई सेवा पनि सुरू गरेको टेकिलमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । फोरजी सेवाले ग्राहकलाई थप स्तरीय सेवा दिने उनले बताए ।

टेलिकमले फोरजी/एलटीई सेवा माघसम्म देशका सबै भागमा विस्तार गर्ने लक्ष्य लिएको छ । यो सेवा विस्तारका लागि १८ अर्ब खर्च भएको टेलिकमले जनाएको छ । टेलिकमले २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो ।

नयाँ विस्तार भएका स्थानमा ग्राहकले फोर जी सेवा लिन ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुनुपर्नेछ । ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेस्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।

त्यसपछि ग्राहकले नजिकैको टेलिकमको ग्राहक सेवा केन्द्रमा गएर सिम परिवर्तन गर्नुपर्नेछ । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्नु पर्दैन । पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा दर्ता हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डेटा बोनस स्वरूप उपलब्ध हुने टेलिकमले जनाएको छ ।

प्रकाशित समय ०८:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु