fbpx
Nepal Mediciti

गृहपृष्ठ टेलिकमद्वारा फेरि दृष्टिविहीनलाई स्मार्ट फोन वितरण

टेलिकमद्वारा फेरि दृष्टिविहीनलाई स्मार्ट फोन वितरण

nepal-telecom-newskarobar

समाजका हरेक वर्ग र समुदायलाई आफ्ना सेवाहरुबाट लाभान्वित गराउँदै आएको नेपाल टेलिकमले विपन्न र दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई फेरि स्मार्ट फोन उपलब्ध गराएको छ । सुर्खेतको छिन्चुमा आयोजित कार्यक्रममा मंगलबार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गरेका हुन् ।

कार्यक्रममा अधिकारीले टेलिकमले देशका विकट क्षेत्रमा समेत अत्याधुनिक सञ्चार सेवा उपलब्ध गराउनुका साथै फरक क्षमता भएका नागरिकलाई उपलब्ध गराइएको सेवाले प्रविधिको माध्यमबाट आर्थिक गतिविधिका साथै सहज जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले व्यवसायमात्र विस्तार नगरी सेवाको भावनाले समेत काम गरिरहेको बताए ।

भेरीगंगा नगरपालिका १० का अध्यक्ष मानबहादुर बुढाले नेपाल टेलिकमले विभिन्न सेवामूलक कार्य पनि गरिरहेकोमा प्रशंसा गर्दै यस्तो सेवा आगामी दिनमा अन्य क्षेत्रमा समेत उपलब्ध हुने विश्वास व्यक्त गरे । मैत्री समाज नेपालका प्रतिनिधि चन्द्रमणि पोखरेलले कम्पनीले प्रदान गरेको मोबाइल सेटमार्फत दृष्टिविहीन विद्यार्थीलाई स्तरीय आवाजसहितको प्रविधिबाट अध्ययन गर्न सहयोग पुग्ने बताए ।

नेपाल टेलिकमले मैत्री समाज नेपालको सहकार्यमा कर्णाली प्रदेशका दृष्टिसम्बन्धी अपांगता भएका उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई मोबाइल सेट हस्तान्तरण गरेको हो । स्मार्ट फोनमार्फत आवश्यक एप्लिकेसन प्रयोग गरी उनीहरुले अध्ययन कार्यलार्ई सहज रुपले अघि बढाउन सक्नेछन् ।

कम्पनीले असार १३ गते सुनसरीको इटहरीमा पनि दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई मोबाइल सेट वितरण गरेको थियो । विद्यार्थीले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफरअन्तर्गत ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिका लागि कम्पनीले मोबाइलबाट गरिने कुराकानीमा समेत विशेष सहुलियत उपलब्ध गराइरहेको जनाएको छ ।

प्रकाशित समय १६:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु