fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ टेलिकमको एफटिटिएच सेवा कर्णालीमा पनि

टेलिकमको एफटिटिएच सेवा कर्णालीमा पनि

FTTH-Surkhet-newskarobar

नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि सुरु भएको छ । दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा सोमबार कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले विधिवत् रूपमा एफटिटिएच प्रविधिमार्फत समारोह स्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवा शुभारम्भ गरे ।

सोही फोनमा सञ्चालित इन्टरनेट सेवामार्फत कार्यक्रमको भिडियो स्थानीय टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो । कार्यक्रममा मन्त्री भण्डारीले विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा गाउँमा परिणत गरेको र मानव जीवनलाई सहज बनाएको बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीका सेवा देशका कुनाकाप्चासम्म पु–याई सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनी प्रयासरत रहेको जानकारी गराए । उनले कम्पनी कर्णाली प्रदेशमा अत्याधुनिक र गुणस्तरीय सञ्चार सेवाको विस्तारमा लागिरहेको र यसका लागि महत्वपूर्ण योजना सञ्चालनमा रहेको जानकारी दिए ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले निजी सेवा प्रदायकभन्दा टेलिकम पछाडि परेको हो कि भन्दै आफ्नो अग्रणी स्थान कायम राख्न अझै तदारुकताका साथ लाग्नुपर्ने आवश्यकता औंल्याए । सोही अवसरमा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले समाजमा नयाँ प्रविधिको सूत्राधारको रूपमा कार्य गरेकोमा कम्पनीलाई धन्यवाद दिए ।

त्यस्तै, नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोदकुमार परमार, नेपाल टेलिकम नेपालगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक प्रकाशमानसिंह प्रधान, विरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी र स्थानीय सरकार तथा स्थानीय निकायका कार्यालयका प्रतिनिधिको उपस्थिति थियो । ५१२ लाइन क्षमताका दुई थान फाइबर डिस्ट्रिब्युसन क्याबिनेट (एफडिसी) जडान गरी कुल १ हजार २४ लाइन नेटवर्क क्षमताका साथ सुरु भएको सो सेवाको वितरण सुरु भइसकेको छ ।

प्रकाशित समय १७:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु