fbpx
Rashifal Ad

गृहपृष्ठ दृष्टिविहीन विद्यार्थीलाई टेलिकमको निःशुल्क मोबाइल र सिमकार्ड

दृष्टिविहीन विद्यार्थीलाई टेलिकमको निःशुल्क मोबाइल र सिमकार्ड

nepal-telecom-newskarobar

नेपाल टेलिकमले शुक्रबार सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई अध्ययन कार्यमा सहयोग पु-याउने उद्देश्यले सिमकार्डसहित एन्ड्रोइड स्मार्टफोन वितरण गरेको छ । कम्पनीले सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा दृष्टिसम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराएको हो । कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप-प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरे ।

कार्यक्रममा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीको पढाइमा सहयोग पु-याउनुका साथै सहज जीवनयापनमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । उनले विद्यार्थीले ब्रान्ड एम्बेसडरको रुपमा रहेर कम्पनीको सेवाबारे जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले कम्पनीको तर्फबाट गरिएको सानो सहयोगले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमका लागि सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिलाई टेलिकमले सूचना प्रविधिमार्फत एउटा अवसरको सिर्जना गरिदिएको बताए ।

मोबाइल प्राप्त गर्ने पदम ठटालले अब एमपी थ्री बोक्नुपर्ने बाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्स अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले निकै हौसला मिलेको बताए । उनी पदम महेन्द्र बहुमुखी क्याम्पस धरानमा शिक्षा संकायतर्फ स्नातक चौथो वर्षमा अध्ययनरत छन् ।

‘आइसिटी फर द स्टुडेन्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रममार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ । यसअन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका २० जना दृष्टिविहीन विद्यार्थीलाई कम्पनीको सिमकार्डसहित एन्ड्रोइड स्मार्टफोन उपलब्ध गराइनेछ । विद्यार्थीले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफरअन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

प्रकाशित समय १७:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु