fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सिन्धुपाल्चोकका बिरामीमा देखिएको लक्षण कोरोना भाइरसको होइन : स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोकका बिरामीमा देखिएको लक्षण कोरोना भाइरसको होइन : स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जुगल गाउँपालिकाको गुम्बामा देखिएको समस्या कोरोना नभई मौसमी रुघाखोकी मात्र हो ।

बिरामीको उपचार र रोगबारे अध्ययनका लागि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चाकको टोलीलाई खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पनि सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमण नदेखिएको बताएका छन्।  उनले गुम्बामा देखिएको भाइरल रुघाखोकी र ज्वरोको बारेमा अनुसन्धान र नमुना संकलन गर्न स्वास्थ्यकर्मीको टोली पुगिसकेको भन्दै संयमता अपनाउन आग्रह गरेका छन् ।

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोलीले बुधबार नै त्यहाँबाट थप परीक्षणको लागि नमुना संकलन गरी ल्याउने उनले जानकारी दिए ।

बिरामीमा कुनै पनि गम्भीर खालको समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए । ‘चीनबाट फर्किएको या फर्किएका कोही व्यक्तिसँग कसैको सम्पर्क भएको छ कि भनेर सोधखोज गर्‍यौं तर त्यस्तो केही पनि भेटिएन। त्यसैले यो कोरोना होइन, मौसमी रुघाखोकी हो,’ उनले भने ।

बिरामीको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकबाट स्वास्थ्यकर्मीको टोली खटिएको उनले बताए । कोरोना भाइरस नभए पनि यकिनका लागि अध्ययन गर्न थप टोली त्यहाँ पठाउने तयारी भएको उनले जानकारी दिए ।

जुगल गाउँपालिकाले कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्रचार गरेको थियो । गाउँपालिकाको उक्त पत्राचारपछि कोरोना भाइरसको त्रास बढेको हो ।

प्रकाशित समय १३:४२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु