fbpx

गृहपृष्ठ कुपोषण अन्त्य गर्न सरकारको विशेष कार्यक्रम

कुपोषण अन्त्य गर्न सरकारको विशेष कार्यक्रम

Nutrition programme_NewsKarobar

देशमा बढ्दो कुपोषणको समस्या अन्त्य गर्न सरकारले ४६ जिल्लामा विशेष लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । केही स्थानीय तहहरूले पोषण कार्यक्रम सञ्चालनमा लापरवाही गरेपछि स्वास्थ्य मन्त्रालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिन परिपत्र गरेको हो ।

यो कार्यक्रम प्रदेश नं १ का मोरङ, सुनसरी, संखुवासभा, पाँचथर, खोटाङ, प्रदेश नं २ का सप्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, महोत्तरी र धनुषा, प्रदेश नं ३ का रसुवा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुरसहितका जिल्लाहरूमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कार्यक्रम सञ्चालन हुने ४६ वटै जिल्लाका सबै स्थानीय तहका पालिकाहरूमा ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व– बालभिटा वितरण गरिने मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

यो कार्यक्रम एकीकृत रुपमा सञ्चालन गर्न आगामी कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रमसँगै बालभिटा खुवाउने कार्यक्रम तय गरिएको छ । मन्त्रालयका अनुसार ती जिल्लामा पाँच वर्षमुनिका बालबालिकाको पोषण स्थिति लेखाजोखा गरिने छ ।

यसबाहेक स्वास्थ्य मन्त्रालयले थप ५६ जिल्लामा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन (आईएमएएम) कार्यक्रमलाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपाल बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत विगत केही वर्षदेखि यो कार्यक्रम सञ्चालन हुँदै आए पनि संघीयताअन्तर्गत जिल्लास्तरका कार्यालयहरू स्थानीय तहमातहतमा सरेपछि अलपत्रजस्तै बनेको थियो ।

यस्तै, ४१ जिल्लामा विद्यालय जाने र नजाने दुवै समूहका किशोरीहरूलाई फोलिक एसिड खुवाउने कार्यक्रम पनि निरन्तर सञ्चालन गर्ने निर्देशन दिइएको छ ।

प्रकाशित समय १४:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु