fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश २ मा डेंगुले एकको मृत्यु, ७३ संक्रमित

प्रदेश २ मा डेंगुले एकको मृत्यु, ७३ संक्रमित

dengu-newskarobar

प्रदेश नं २ मा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ७३ जना संक्रमित (प्रभावित) भएका छन् ।

सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका-११ का ३१ वर्षीय रामनारायण मण्डलको डेंगुको संक्रमणबाट मृत्यु भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेंगु संक्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेंगु संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात-सात, महोत्तरीमा तीन र धनुषामा एकजनामा डेंगु संक्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।

बुधबार बिहानसम्म १६ जनामा डेंगुको संक्रमण देखिएको थियो भने दिउँसो संख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो । प्रदेशका सबै जिल्लामा डेंगुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् ।  संक्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका प्रशासक झाले जानकारी दिए ।

महोत्तरीको सुदूरउत्तरी क्षेत्रमा डेंगु भेटिएको छ । अहिलेसम्म बर्दिबास र यसैसँग सीमा जोडिएको औरही नगरपालिकामा डेंगुको संक्रमण तीनजनामा भेटिएको हो । दुई वर्ष पहिले २०७४ को हिउँदमा महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु आतंक नै छाएको थियो । त्यतिखेर बर्दिबास र आसपासका क्षेत्रमा गरी ७ सयभन्दा बढी डेंगु प्रभावित भएका थिए ।

यसैबीच बर्दिबास नगरपालिकाले डेंगुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै सुरु गरेको छ । नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक संघसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । बर्दिबास नगरपालिकाले वडा नं १ का अध्यक्ष चूडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ ।

डेंगु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि फुल पार्ने र वरपरका झाडीमा फैलन सक्ने भएकाले घर प्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिबास अस्पतालका चिकित्सकले अपिल गरेका छन् । घर वरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी टायर, ट्युबका भित्री कापमा यो लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने भएकाले यत्रतत्र फालिएका टायर, ट्युब निश्चित ठाउँमा नष्ट गर्नुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विधानचन्द्र झाले बताए । (रासस)

प्रकाशित समय ११:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु