fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कञ्चनपुरकी २२ वर्षीय बेलुलीकुमारीलाई ब्लड क्यान्सर, सहयोगको अपिल

कञ्चनपुरकी २२ वर्षीय बेलुलीकुमारीलाई ब्लड क्यान्सर, सहयोगको अपिल

निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) नयाँ बानेश्वरको २४० नम्बर शय्या ४० दिनदेखि बुकिङ गरेजस्तै छ । त्यसै शय्याको छेउमा रातदिन धर्ना बसेजस्तै कुरूवा कञ्चनपुरका हरिश बोहरा । भीमदत्त नगरपालिका ६ सुकाचालका बोहराको त्यो शय्यामा यसरी धर्नाजस्तै बस्नु रहर नभइ बाध्यता हो ।

शय्यामा ४० दिनदेखि श्रीमती बेलुलीकुमारी धामी बोहरा जीवनमरणको दोसाँधमा छट्पटाइरहेकी छन् । करिब तीन महिनाअघि बेलुलीलाई असार पहिलो हप्ता लगातार टाउको दुखेपछि उनीहरू उपचारमा जुटेका थिए । सुरूमा नजिकै रहेको महाकाली अस्पतालले दुई दिन राखेर सामान्य बिराम भएको भन्दै औषधी दिएर पठायो र ठीक नभए धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि जान सल्लाह दियो । महाकाली अस्पतालकै सल्लाहमा उनीहरू सेती अस्पतालमा उपचारका लागि गए । उपचार गर्दा चिकित्सकले स्वास्थ्यमा कमजोरी भएको देखायो ।

१० दिनसम्म अस्पतालमा बसेकी बेलुलीलाई धनगढीमै ४ युनिट रगत चढाइयो । त्यसपछि सञ्चो हुन लागेको भन्दै अस्पतालले डिस्चार्ज पनि गर्‍यो । केही दिन आराम पनि भयो । हरिश सम्झन्छन्, ‘कमजोरी नै भएको रहेछ भनेर अस्पतालको सल्लाहअनुसार औषधी गर्‍याैं तर, त्यो औषधीले धेरै काम गरेन ।’ सेती अस्पतालले डिस्चार्ज गरेको एक महिनापछि फेरि बिरामले च्याप्दै गयो । ‘उपचारका लागि फेरि सेती अस्पताल गयौं, अस्पतालले नेपालगञ्ज शिक्षण अस्पताल रिफर गर्‍यो,’ हरिश भन्छन् ।

नेपालगञ्ज आउँदासम्म हरिशको करिब सात लाख रूपैयाँ खर्च भइसकेको थियो । आर्थिक अवस्था निम्न भएका बोहरा परिवारलाई कैलालीमा गरिएको उपचारमा पनि चारैतिर हात थाप्नुपरेको थियो । हरिश भन्छन्, ‘कैलालीमा गरिएको उपचारका लागि पनि धेरै ठाउँमा सहयोग, ऋण माग्नुपर्‍यो । त्यो बेलाकै उपचारले ठीक होला सोचेका थियौं तर, भएन ।’

नेपालगञ्ज शिक्षण अस्पतालमा पुग्नसम्म बिरामी बेलुलीको स्वास्थ्य अवस्था चिन्ताजनक भइसकेको रहेछ । अस्पताल पुग्नेबित्तिकै उपचार सुरु भएकोले उनी गम्भीर अवस्थाबाट सामान्य अवस्थामा फर्किइन् । ‘डाक्टरले २४ घण्टा ढिला पुगेको भए बिरामीको ज्यानै जान सक्ने बताएका थिए । अलि चाँडै अस्पताल पुगेको हुँदा गम्भीर अवस्थाबाट सामान्य अवस्थामा फर्किने सजिलो भयो,’ श्रीमान हरिश भन्छन् ।

नेपालगञ्जमा बेलुलीको दुई दिनसम्म उपचार भयो । शरीरमा रगतको मात्रा सकिएको भन्दै डाक्टरले तीन युनिट रगत चढाए । त्यसपछि फेरि काठमाडौंमा रहेको सिभिल अस्पतालमा रिफर गर्‍यो । त्यो बेलामा पनि बिरामी बेलुलीको साथमा एक्लै थिए श्रीमान हरिश । अस्पतालले काठमाडौं रिफर गरेपछि उनलाई झन् समस्या भयो । न उनले काठमाडौं नै देखेका थिए, न काठमाडौंबारे जानकारी थियो न साथमा पैसा नै ।

चार वर्षअघि बिहे गरेका हरिश परिवार पाल्नकै लागि भारतमा मजदूरी गर्थे । घरमा श्रीमती बेलुली गर्भवती थिइन् । सुत्केरी हुने बेलामा अप्ठेरो पर्न सक्छ भन्दै उनी फागुनको महिना नै घरमा आए । त्यसपछि बेलुलीले छोरी जन्माइन् । अहिले बोहरा दम्पतीकी छोरी सात महिनाकी भइन् । उनीहरुले करिब तीन महिनादेखि छोरीलाई राम्रोसँग काखमा राख्न पाएका छैनन् । बाजे, बज्यैले सात महिनाकी छोरीलाई हुर्काइरहेका छन् ।

नेपालगञ्ज शिक्षण अस्पतालले सिभिल हस्पिटल रिफर गरेपछि थाहा भयो बेलुलीलाई ‘ब्लड क्यान्सर’ भएको रहेछ । त्यो सुनेपछि हरिश छाँगाबाट खसैझैं भए । त्यसपछि पनि मुटु बलियो बनाउँदै जसरी भए पनि श्रीमतीको उपचार गरेरै छोड्ने अठोट गरे ।

तर, आर्थिक अवस्था कमजोर भएका उनीहरुका लागि All Acute lymphobhahtic limphoma नामक ब्लड क्यान्सरको उपचार गर्न उनको सबै सम्पति बेचे पनि नपुग्ने अवस्था थियो । फेरि अलिकति ऋण खोजेर उनी उपचारका लागि काठमाडौं आए । भदौ ११ गते राति १० बजे काठमाडौं पुगेका उनी अहिले सिभिल अस्पतालमै छन् । ‘अहिलेसम्म त जसोतसो चलाएको थिएँ, अब त मुस्किल नै भइसक्यो । खातामा पनि एक हजारभन्दा बढी पैसा छैन । डाक्टरहरुले पैसा जम्मा गर भनिरहेका छन्,’ उनले समस्याको बेलिबिस्तार लगाए ।

अहिले हरिशले श्रीमतीको उपचारको लागि सहयोगको अपिल गरिरहेका छन् । सामाजिक सञ्जालदेखि आफन्तहरु सबैलाई सहयोगको याचना गरिरहेका छन् । सहयोग गर्न चाहनेका लागि सम्पर्क गर्न उनले माेबाइल नम्बर ९८६५९१७८८९ दिएका छन् । त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा रहेको एसबीआई बैंकको खाता नं २२११५२४१४१६४०७ मा सक्दो रकम जम्मा गरी सहयाेग गरिदिन अनुराेध गरेका छन् । त्यस्तै भारतका लागि सम्पर्क फोन नं ९६२०७४९७४८ यो नम्बरमा पनि सम्पर्क गरेर सहयोग गर्न सकिने उनले बताए ।

प्रकाशित समय १८:०० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु