fbpx
corona information

गृहपृष्ठ ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ’

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ’

विमानस्थलकाे स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईलगायत ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर्दै उनले कोरोना संक्रमणका बाबजुद विमानस्थलको निर्माण निरन्तर भइरहेको बताए ।

विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन गराउने कुरामा सरकार लागिरहेको उल्लेख गर्दै उनले कोरोना संक्रमणका कारण साधन श्रोत एवम् जनशक्ति अभाव हुन नदिन सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्नेमा विश्वस्त तुल्याए ।

उनले निर्धारित लक्ष्यअनुसार नै सन् २०२१ भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आई अन्तर्राष्ट्रिय उडान सुरु हुने विश्वास व्यक्त गरे । कोरोनाका कारण झण्डै छ महिनायता रोकिएका आन्तरिक एवं अन्तर्राष्ट्रिय उडान सञ्चालको तयारी भइरहेको उनको भनाइ थियो ।

सो अवसरमा सांसद विद्या भट्टराईले पोखरालगायत मुलुककै समृद्धिमा महत्वपूर्ण बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन काम समयमा सम्पन्न गर्न आफ्ना तर्फबाट सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिए । भौतिक पूर्वाधार निर्माणको काम अधिकांश सम्पन्न भइकेको उल्लेख गर्दै उनले उपकरण जडानलगायत काम बाँकी रहेको बताए ।

विमानस्थलभित्र टर्मिनल भवन, ह्याङगर, धावनमार्ग, पार्किङ, पौंचमार्गसहित १४ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार विमानस्थलको निर्माणमा हाल १८० चिनियाँ र ९० नेपाली कामदार निरन्तर संलग्न छन् । आवश्यक उपकरण जडानका लागि उपकरणसहित थप २०० दक्ष जनशक्ति चीनबाट आउने तयारीमा रहेको मुनाकर्मीको भनाइ छ ।

कोरोना संक्रमणका कारण निर्माणकाे गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिनाअगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उनको भनाइ छ ।

प्रकाशित समय १९:४१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु