गृहपृष्ठ विश्वकप क्रिकेट लिग- २ : नेपालद्वारा अमेरिका पराजित

विश्वकप क्रिकेट लिग- २ : नेपालद्वारा अमेरिका पराजित

आइसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ । १९१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले ४४.१ ओभरमा सबै विकेट गुमाएर १५५ रन मात्रै बनाएपछि नेपाल ३५ रनले विजयी भएको हो।

सुरुआतमै दबाबमा आएको अमेरिकाले १०.१ ओभरमा २७ रन बनाउँदा सुरुवाती पाँच विकेट गुमाएको थियो । अमेरिकाको अग्रपंक्तिका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सुशन भारी, सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गरे ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १९१ रनको लक्ष्य पाएको अमेरिकाले ४४ ओभर एक बलमा १५५ रनमात्र बनाउन सक्यो । अमेरिकाको सुरुवाती ब्याटिङ लाइनलाई नेपाली बलरले क्रिजमा टिक्न दिएनन् । १३ रन बनाएको अवस्थामै अमेरिकाका चार ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए ।

६५ रनको स्कोरमा ७ विकेट गुमाइसकेको अवस्थामा इयान होलान्ड र क्यामरुन स्टेभसनले अमेरिकाका लागि गतिलो साझेदारी गरेका थिए । उनीहरुले आठौँ विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए ।

होलान्डले अमेरिकाका लागि सर्वाधिक ७५ रन बनाए । त्यस अतिक्ति क्यामरुन स्टेभेन्सनले १९ र करिमा गोरले १० रन बनाए । नेपालका लागि करण केसीले चार, सुशान भारीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा चार बल बाँकी छँदै सवै विकेट गुमाएर १९० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । भण्डारीले ५९ र मल्लले ५० रन बनाएका थिए ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु