fbpx
Nepal Mediciti

गृहपृष्ठ वीरेन्द्रनगरमा छाडा गाईगोरुको बिगबिगी रोक्न जन्मदर्ता

वीरेन्द्रनगरमा छाडा गाईगोरुको बिगबिगी रोक्न जन्मदर्ता

birendranagar-newskarobar

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा यतिबेला छाडा चौपायाको भीड लागेको छ । सडकमा छाडा चौपाया यत्रतत्र भेटिन्छन् । वीरेन्द्रनगरका चोकबजार क्षेत्र यतिखेर पशुहाट जस्तो देखिन्छन् ।

वीरेन्द्रनगरमा अहिले मात्र होइन, केही वर्षदेखि नै विकराल समस्याको रुपमा छ । छाडा पशु चौपायकै कारण सडक दुर्घटनासमेत हुने गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले केही वर्षदेखि बेहोर्दै आएको छाडा चौपायाको समस्या नेपालगन्ज उपमहानगरपालिकाले थपिदिएको छ । भदौ १२ गते राति नेपालगन्जबाट ल्याइएका सयौं चौपाया केही फिर्ता पठाइए पनि केही वीरेन्द्रनगरमै छाडियो । तर, छाडा चौपाया व्यवस्थापनका लागि भने वीरेन्द्रनगर नगरपालिकाले उल्लेख्य काम गर्न सकेको छैन । केही चौपाया बाहिरी जिल्लाका स्थानीय तहमा व्यवस्थापन गरेको भए पनि सडकमा चौपायाको बिगबिगी उत्तिकै छ ।

वीरेन्द्रनगरको यो समस्या समाधान गर्न नगरपालिकाले नयाँ जन्मने बाच्छाबाच्छीको जन्मदर्ता गर्ने योजना बनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका पशु शाखा अधिकृत नारायण पौडेलले वीरेन्द्रनगर र वरिपरिका किसानले घरमा पालेका गाईगोरु काममा नआउने भएपछि सडकमा छोड्ने गरेकाले यस्तो समस्या आएको बताए । ‘हामीले गौशाला निर्माण तथा कान्जी हाउसका साथै गाईगोरुको जन्मदर्तासमेत गर्न जरुरी देखेका छौं,’ उनले भने, ‘अब वीरेन्द्रनगर नगरपालिकाभित्र वडा स्तरमा गाईगोरुको तथ्यांक संकलन गरी ट्याग लगाउने योजना बनाएका छौं ।’

नयाँ जन्मिने गाईगोरुको जन्मदर्ता र भएकाको तथ्याँक संकलन गरी कानमा ट्याग लगाएपछि कसको गाईगोरु हो भन्ने पत्ता लाग्ने र मालिकलाई कारबाही गर्न सहज हुने पौडेलको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाले जुम्ला, मुगु, हुम्लालगायतका जिल्लाका व्यवसायी र कृषकलाई सुरक्षित तरिकाले स्थानीय तहको समन्वयमा गाई पठाउने गरेको पनि पौडेलले बताएका छन् । उनले हालसम्म स्थानीय व्यवस्थापन तथा बाहिरी जिल्लामा पठाएका गरी ४१९ छाडा चौपाया सडकबाट उठाइएको बताए । सुर्खेतकै स्थानीय तहमा १५८ र बाहिरी जिल्लामा २६१ वटा गाईगोरु पठाइएको उनले जानकारी दिए । ‘अहिलेसम्म वीरेन्द्रनगर नगरपालिकाले बाहिर पठाएका चौपायाका बारेमा कुनै विवाद आएको छैन,’ उनले भने ।

वीरेन्द्रनगर नगरपालिकाले सडकका छाडा चौपायाको व्यवस्थापन गरेको बताए पनि सडकका छाडा चौपायाका कारण वीरेन्द्रनगरमा पैदल यात्रुदेखि सवारी चालकले समेत सास्ती बेहोरिरहेका छन् । सडकका छाडा चौपायाका कारण टा«फिक व्यवस्थापनमा समेत चुनौती थपिएको जिल्ला टा«फिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापति बताउँछन् । ‘सडक बीचमा यत्रतत्र रहेका चौपायाको कारण दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ,’ उनले भने ।

नगर उपप्रमुख मोहनमाया ढकालले भने छाडा चौपायाको दिगो व्यवस्थापनका लागि योजना निर्माणमा लागेको बताएकी छन् । ‘वीरेन्द्रनगर नगरपालिका ११ मा गौशाला निर्माण भइरहेको छ,’ उनले भनिन्, ‘निजी व्यवसायीले बायोग्याँस निर्माणका लागि साठी प्रतिशत लगानी गरेका छन् र केही संघ संस्थाको ४० प्रतिशत लगानी गरी गौशाला निर्माण हुँदैछ ।’ वीेरेन्द्रनगर २ मा रहेको गौशालामा समेत केही चौपाया व्यवस्थापन गरिएको छ । नगरपालिकाले केही समयमै चौपाया सडकमै नआउने वातावरण बनाउने उनले बताइन् ।

नेपालगन्ज उपमहानगरपालिकाले सयौं गाईगोरु थपिदिएपछि समस्या बढेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग नेपालगन्जबाट कति गाईगोरु ल्याइएको हो भन्ने यकिन तथ्यांक नभए पनि छैन तर रुट परमिटसमेत नलिई आठ वटा ट्रकमा गाईगोरु ल्याइएको बताइएको छ ।

हालसम्म २२१ गाईगोरु नेपालगन्ज नै फिर्ता पठाइएको रर ३६ वटा गाईगोरुको मृत्यु भएको कार्यालयले जानकारी दिएको छ । अझै केही वीरेन्द्रनगरमै छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ट्रक चालक ७ जना माथि घटनाको विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित समय ०६:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु