fbpx
corona information

गृहपृष्ठ एउटाले गर्दा ‘कू’, अर्कोले गर्दा क्रान्ति ?

एउटाले गर्दा ‘कू’, अर्कोले गर्दा क्रान्ति ?

कमरेड !
अस्ति भरखरै
विप्लव क्रान्ति बोल्दा
मसाल
प्रदुषणको कारण बन्थ्यो !
विप्लव बिद्रोह बोल्दा
आवाज
आतंककारी ध्वनि बन्थ्यो
र भन्थ्यौ
राजनीतिक क्रान्ति पूरा भयो
हात्ती लम्किदै गर्छ ।
तर आज ?
तिमीले राजनीति ‘कू’ गरेका छौ
पद प्रतिष्ठाको लागि देशलाई भुमरीमा धकलेका छौ
तिम्रो मसालले सहर जलेको छ
तिम्रो जुलुसले कोलाहल मच्चिएको छ
हेर तिम्रो प्रदुषण
शहरमा कालो बादल मडारिएको छ ।
के तिमी क्रान्ति हौ ?
अहँ
तिमी क्रान्ति होइनौं ।
उहिले थियौ
अहिले
क्रान्तिमाथि घात गर्ने धोकेवाज हौ ।
सडक संघर्ष
पद बार्गेनिङको चिच्याहट हो ।
कालो धन कमाउने कुटिल चाल हो
कमरेड
निर्मलाहरु बलात्कृत हुँदा तिमी बोलेनौ
वाइडबडी भ्रष्टाचारमा तिमी फुट्टि चलेनौ
गोकर्ण, गोकुल कान्डमा जवाफ निस्केन
ओम्नी यति त तिम्रा सहयात्री बने
काण्डै काण्डहरु को तिम्रो व्यवस्था
अस्तीसम्म अग्रगामी थियो
देश समृद्धिको पथमा थियो
संसदीय व्यवस्था न्यायमूर्ति थियो
संघीयता समाबेसी संविधान थियो
तिम्रै भाषामा वैज्ञानिक व्यवस्था थियो !
आज
तिम्रो पद खोसिएको छ
तिम्रै पुज्य व्यवस्थाले नयाँ कदम चालेको छ
तिम्रै सहयात्रीले तिमीलाई बर्खास्त गरेको छ
र त तिमी बिद्रोहमा ल्याप्चे ठोक्दैछौ
विप्लव बिद्रोहलाई वैधानिक भन्दैछौ !
थाहा छ
तिमीले बिद्रोह रोजेको हैनौ !
बहनामा उहीँ सत्ता खोजेका हौ
तिमीले क्रान्ति रोजेका होइनौं
बहनामा उही व्यवस्था खोजेका हौ
एउटा ‘कू’ का विरुद्ध
अर्कै ‘कू’ गर्न खोजेका हौ !
कमरेड
एउटाले गर्दा ‘कू’
अर्कोले गर्दा क्रान्ति कसरी ?
विचार एउटै होइन र ?
दृष्टिकोण उहीँ होइन र ?
एउटै मन्दिरको पुजा गर्ने
धर्म फरक कसरी ?
त्यसैले कमरेड
तिमीहरु धोकेवाज हौ !
जनतामाथि श्वेत आतंक मच्चाउने देशद्रोही हौ !
कम्युनिस्टको नाममा लालगद्दार हौ ।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु