fbpx
corona information

गृहपृष्ठ भरत लोहोरूङ राईका मुक्तकहरू

भरत लोहोरूङ राईका मुक्तकहरू

रूझ्दै ओभानो हुँदै अविच्छिन्न वर्षात भो जिन्दगी
एक दिन यसरी हार्दैमा नसम्झ बर्बाद भो जिन्दगी ।
जिन्दगी त चाकाचूली हो, तलमाथि भई नै रहन्छ
अभिशाप नसम्झ ईश्वरको आशिर्वाद हो जिन्दगी ।।

 

नहटाउ है दिलबाट छोडी अन्तै सरिजाला
परेलीको डिलबाट मोती चिप्ली झरिजाला ।
लिनुदिनु हिसाब-किताब नखोज न पिरतीमा
नजरबाट खसे माया दूर ओझेल परिजाला ।।

 

आँधीबेहरी किन चाहियो आँशुले नै बगाइसक्यो
भोकतिर्खा छैन अब त्यही आँसुले अघाइसक्यो ।
चुँडाई झारे कोपिलामै , फक्रिनुको कुरै छैन
निर्दयी त्यो भमराले संसारबाटै भगाई सक्यो ।। (निर्मला पन्त प्रकरण)

 

फल्दै नफलेको रुखको हाँगो नुहियो भन्छन्
पानी बिनाको रित्तो घैला पनि चुहियो भन्छन् ।
डुङडुङती गन्हाउने थाहा हुँदाहुँदै उसैलाई छानेपछि
सडिसकेको उसलाई बल्ल पो कुहियो भन्छन् ।।

 

हिँड्दा जाँदा बाटोसँग सम्झौता कति गरेँ गरेँ
देऊरालीमा चढाउनलाई पानी कति भरेँ भरेँ ।
जिन्दगीले ठेल्दै-ठेल्दै भीरतिरै लान खोज्छ
जोगिए हिँड्दाहिँड्दै भुमरीमा कति परेँ परेँ ।।

 

बोल्ने देवता कहाँ हुन्छ ? एउटा कुरा सोध्नु छ
दुःख मेरो अन्तिम हो कि अझ धेरै भोग्नु छ ?
भागूँ भन्छु दुःखदेखि जेलिएर साथमै आऊँछ
सुख जोगाई दुःख काट्ने एउटा छुरा खोज्नु छ।।

 

गर्छ रोएझैँ एऊटा, अर्कोले कुटेजस्तो गरेपछि
झुक्किन्छन् हेर्नेहरू, बेलाबेला फुटेजस्तो गरेपछि ।
फुट्ने र जुट्ने यो पुरानै चटक हो चटकीहरूको
सुत्नेहरू ब्यूँझनुपर्छ, उठेकाहरू सुतेजस्तो गरेपछि ।।

 

दायाँ-बायाा बस्ती नै सुनसान बनायो
गाऊँसहरको अमनचैन गुमनाम बनायो ।
साम्राज्य फैलाई विश्वभर यो त्रासदीको
कोरोनाले विजयोत्सव धूमधाम मनायो ।।

 

मलामी नहिँडेको कुनै डगर रहेन
मृत्यु नबोकी कुनै खबर बनेन ।
कस्तो विपत्तिमा पर्‍यो दुनियाँ
लास नगनी बस्ने कुनै सहर भएन ।।

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु