fbpx
corona information

गृहपृष्ठ म बाँझी आइमाई

म बाँझी आइमाई

सधैँजसो मेरो कानमा गुञ्जिरहने शब्द हो ‘बाँझी आइमाई’ । लाग्छ यो शब्दसँग मेरो घनिष्ट सम्बन्ध नै जोडिएको छ । आजकाल मेरोे आफन्तहरुले मलाई वास्तविक नामले भन्दा पनि यही नामले चिन्न थालेका छन् । मेरा छिमेकीहरुले पनि यही नामले मलाई नै चिनेको थाहा पाउँदा कता–कता भित्रैदेखि मन भक्कानिएर आउँछ । रुन मन लाग्छ । समाजको नजरमा म एक बच्चा जन्माउन नसक्ने ‘श्रापित’ स्त्री भएको छु । समाजको नजरमा मात्र हैन मेरो लोग्ने र अन्य परिवारको बोझ मात्र बन्न पुगेको छु ।

पानी लिन जाँदा मलाई कसैले देखे भने बाँझी आइमाईलाई देखे भने साईत बिग्रिन्छ भन्दै मदेखि तर्केर जान्छन् । मन्दिर जाने दिदीबहिनीहरु मलाई देखेपछि अन्त्यै अनुहार मोड्छन् । घरमा सासुुको सधैँको किचकिच । यतिका वर्षसम्म पनि एउटा बच्चा पाउन नसक्ने बाँझी भन्दै भुतभुताइरहनु हुन्छ । म बस् हरेकपटक चुपचाप सहेर बस्छु । बिहान घरको चुलोचौकादेखि अफिसको काम गर्दागर्दै बेलुकासम्म लखतरान भइसकेको हुनछ मेरो शरीर । बिचरी भन्ने मलाई म आफैँबाहेक कोही छैन, ‘बिचरी निरीह म’ । मन र शरीरको थकाईमा सहानुभूतिको एक शब्दको लागि जब म मेरो लोग्नेको सामु पुग्छु, त्यतिबेला सहानुभूतिको बदलामा थप यातना पाउँछु । मेरो अनुहारमा भरिएको पीडाको भाव कहिल्यै पढ्न नसक्ने मेरो लोग्नेसँग म गुनासो पनि गर्न सक्दिनँ । बस् चिच्चाउन मन लाग्छ आफैँसँग । बेहोशीमै चिच्याउँछु, गुनासो गर्छु आफ्नै जीन्दगीप्रति, मलाई जन्माउने धर्ती, भगवानप्रति ।

सधैँको दैनिकी सकेर जब म बिस्तारमा पल्टन्छु, बैचैनीमा नै मेरो रात बित्ने गर्दछ । एक साँझ म बिस्तारमा छट्पटिइरहेको थिएँ । मेरो लोग्नेले मलाई भन्नुभयो, ‘अब म अर्को बिहे गर्छु । आमाले केटी पनि हेरिसक्नु भएको छ रे । तिमी मन नदुखाउ, मैले परिवारको खुसीको लागि भए पनि अर्को बिहे गर्नुपर्छ, शान्ति ।’ म यो के सुन्दैछु छु । म झसंग भए । मैले जे सुन्दैछु के यो सही सुन्दैछु ? म केही बोल्न सकिनँ । बस् मुटु बेस्सरी जोडजोडले धड्किन थाल्यो । आँखाबाट बगेका आँसुले सिरानी भिज्यो । चुपचाप म एकातिर फर्केर रोइरहेँ । मलाई त्यो बेला लोग्नेको साथ आवश्यक थियो तर साथ त के सान्वनासमेत पाइनँ ।

कति कठोर हुँदो रहेछ लोग्नेमान्छेको मन । त्यतिबेला मैले महसुस गरेँ, मेरो लागि लोग्ने पनि अब पराई भइसक्नुभएछ । जसले एकपटक पनि मेरो मनोभावलाई नबुझी, मसँग सल्लाह नै नगरी बिहेको लागि राजी हुनुभयो । सोचे मैले ५ वर्षसम्म उहाँसँग बिताएको जीन्दगी यत्तिको लागि हो त ? म आमा बन्न नसक्नुमा मेरो के दोष ? के दोष मेरो लोग्नेमा छैन ? सन्तान नहुनुमा दोषी सधैँ किन महिला मात्रै ? अनि सजाय पनि महिलाले मात्रै पाउने ?

मेरो रमेशसँग बिहे भएको पनि ५ वर्ष बितिसकेको थियो । यतिका वर्षसम्म पनि हाम्रो सन्तान भएन । बिहेको त्यो दिन मेरा बाबा आमाले मलाई बिदाई गरेर घर पठाउँदा भन्नु भएको याद छ, ‘राम्रोसँग घर गरेर खानु, सधै खुसी रहनु ।’ बिहे भएको केही महिना बित्न नपाउँदै मेरो सासुआमालाई नातिकोे रहर भइसकेको थियो । नातिको मुख हेरेर मर्न पाए आनन्दले मर्न पाइन्थ्यो भन्ने कुरा बाराम्बार गर्नुहुन्थ्यो । तर न मैले सासुको रहर पूरा गर्न सकेँ, न मेरो बाबा आमाले भन्नुभएजस्तो जीन्दगी जिउन सकेँ । तर अहिलेसम्म यस घरलाई आफ्नै घर सम्झेर मरिमेटेको छु । परिवारले जति पीडा दिए पनि कहिल्यै घर छोडेर हिँडिनँ । नारीमा सहनशीलता ज्यादा हुन्छ भनिन्छ । हो, त्यही सहनशीलताको कारण सहेर बसेँ । आज एक्लो भएको छु । त्यो पनि आमा बन्न नसकेका कारणले ।

मलाई रहर नहोला सन्तानकोे ? रहर कति छ कति । जब म कोठाका भित्ताहरुमा टाँसिएका रहरलाग्दा बच्चाका पोष्टरहरु देख्छुु, मेरो मातृत्व जागेर आउँछ । ती पोस्टरका बच्चाहरुलाई हातले स्पर्श गर्दे म आफ्नो आमाको ममता पोखाउने गर्छुु । म मेरो सन्तानको लागि तड्पिन्छु । घरको आँगनमा मेरो देवरका बच्चाहरु लड्दै उठ्दै खेलिरहँदा म त्यसलाई हेर्दै मनमनै तृप्त हुन्छु । तर केही क्षणको लागि मात्र । वास्तविक सन्तुष्टि त आफ्नो सन्तान भएको जस्तो कहाँ हुदोरहेछ र ? मलाई पनि आफ्ना बच्चा काखमा भइदिए हुन्थ्यो जस्तो लाग्छ । जीन्दगी पनि एक कल्पना त रैछ । कल्पना गर्छु, मेरा सन्तानले मलाई आमा, मेरो लोग्नेलाई बाबा अनि सासु ससुरालाई ‘हजुर बा’ ‘हजुरआमा’ भनेर बोलाएको । त्यो क्षण कति खुसी हुन्थ्यो होला मेरो मन । बिहान स्कुल जाँदा बाईबाई भन्दै बिदाईका हात हल्लाउन पाउँदा, फर्किदा आफ्नै हातले खाना खुवाउँदा कति भाग्यमानी महसुस गर्थें होला मैले । सायद जीन्दगीमा कहिल्यै नपाएको सन्तुष्टि र खुसी त्यतिबेला पूरा हुन्थ्योे होला मेरो ।

तर म त समाजले भनेजस्तै बाँझी आइमाई । म कसरी आमा बन्न सक्छु र ? कसरी सन्तान प्राप्ति हुँदाको सन्तुष्टि महसुस गर्न सक्छु र । अरुकै बच्चा नै सही, बच्चाको तृष्णा मेटाउन अरुको बच्चा काखमा लिन खोज्दा बच्चा लिनसमेत मनाही छ मलाई । लिन लागेको हातैबाट बाँझी आइमाईले बच्चा लिन हुन्न भन्दै खोसिदिन्छन् । मलाई थाहा छैन, ममाथि यति धेरै अन्याय हुन्छ किन ? प्रकृतिले मलाई यस्तै बनायो यसमा मेरो के गल्ती ।

सन्तानको लागि अर्को बिहे गर्ने निर्णय नै गरेपछि मैले लोग्नेसँग बस्न उचित ठानिनँ र त्यसपछि छुट्टिएँ । अर्को बिहे गरेपछि मलाई त्यस घरमा बस्न मन पनि लागेन । लोग्नेको घर छोडेको पनि ७ वर्ष बितिसकेछ । अहिले काठमाडौँको दरबारमार्गमा बस्दै आइरहेको छु ।

आजकाल रक्सी पिउन थालेको छु । कहिल्यै मदिरा सेवन नगर्ने मलाई अहिले यसकै लत बसिसकेको छ । जीन्दगीमा जे कुरा पनि बानी नबस्दा मात्रै हो रहेछ मन नपर्ने । बानी लागिसकेपछि मन नपर्ने चीज मन पर्न थाल्दो रहेछ । अनि मन पर्ने चिजसँग घृणा । आजकाल रक्सीसँग प्रेम गर्न थालेको छु, अनि जीन्दगीलाई घृणा । मदिराका बोत्तल रित्तेजस्तै आफूलाई रित्तो पाउन थालेको छु । जीन्दगी सुन्य, मरुभूमिजस्तो उराठलाग्दो । म त्यही उराठ र रित्तो जिन्दगीसँग बाँचिरहेछु ।
तर थाहा छैन यो ७ वर्ष मैले कसरी कटाए । नशामै पीडा भुलाउन खोज्छु, त्यसैले बढीजसो होसमा भन्दा म बेहोसीमा हुन्छु । त्यो साँझ सधैझैँ रेष्टुरेन्टमा मदिरा पिउँदै थिएँ । म बसेको नजिक टेबलमा एक चिरपरिचित मान्छे देखेँ । त्यस मान्छेतर्फ एकाएक हेर्न थालँे । उसले पनि मलाई हे¥यो । मलाई अप्ठ्यारो महसुस भयो । मलाई पत्ता लगाउन समय लागेन त्यो त्यही व्यक्ति थियो जो सधैँ त्यही बारमा रक्सी पिउन आउने गथ्र्यो । धैरैपटक देखे पनि उसँग कुरा भने गरेको थिइनँ ।

आज आफैँ आएर मसँग कुरा गर्न थाल्यो उसले । उक्त व्यक्ति मेरो नजिक आएर परिचय दिँदै भन्यो, म राहुल । अनि तपाईं ? मैले शान्ति मात्र भनेर चुपचाप बसेँ । उमेर ३० कटेको जस्तो देखिन्थ्यो । गोलो र गहुँगोरो अनुहार झट्ट हेर्दा मेरो ‘भूतपूर्व’ लोग्नेजस्तो जीउडाल । सुहाउँदो नै थियो । उसले मसँग रक्सीका गिलास तेर्सायोे । मैले लिएँ । हामी केही बेर भरिएका रक्सीका गिलास रित्याउन तल्लीन भयौँ । म बिस्तारै त्यो पुरुषबाट अलि पर सरेँ । बारमा गीतहरु बजिरहेका थिए । गीतसँगै सबै त्यसैमा रमाइरहेका थिए ।

त्यसपछिको अर्को हप्ता फेरि मैले राहुललाई त्यही बारमा भेटेँ । शनिबार थियो । म पेशाले एक सरकारी कर्मचारी । जागिरबाट आएको तलबले म एक्लो ज्यानलाई मज्जाले खान पुग्थ्यो । शनिबार छुट्टी पनि भएकाले आधा रातसम्म म बारमा नै बिताउँथे । आज पनि उ मेरो नजिक आएर कुरा गर्न थाल्योे । उसले आफू पनि एक्लै बस्दै आएको बतायो । उसको बिहे भएर पनि सम्बन्ध विच्छेद भइसकेको रहेछ । किन सम्बन्ध विच्छेद भयो ? त्योबारे भने उसले बताउन चाहेन र मैले बुझ्ने कोसिस पनि गरिनँ । तर उ निकै निराश देखिन्थ्यो । उसले विस्तारै आफ्ना कुराहरु बताउन थाल्यो । मैले पनि कति कुराहरु बिसाउने ठाउँ पाएँजस्तै लाग्न थालेको थियो ।

यसरी नै हामी नजिक हुँदै थियौँ । एकदिन उसले मलाई भन्यो, ‘म तिमीलाई प्रेम गर्छु ।’ म फेरि एकपटक झसंग भएँ । उसले ‘प्रेम गर्छु’ भन्दा मैले बिर्सिसकेको मेरो लोग्नेलाई आँखाअगाडि देखेँ । जसले आजभन्दा ११/१२ वर्ष अगाडि यस्तै भनेको थियो । अग्निलाई साक्षी राखी सात फेरो लगाएका थियौँ हामीले । उसँग मैले कति वर्षहरु सँगै बिताए पनि । उनले पनि बाचा गरेको थियो, कहिल्यै छोड्दिनँ भनेर । आखिरमा हामी नदीका दुई किनारा भयौँ । म निकै बेर मौन रहेँ । केही जवाफ दिइनँ । यतिका वर्षसम्म एक्लै बाँचेको मलाई आज एक्कासि कसैले प्रेम गर्छु भन्दा स्वीकार गरुँ या नगरुँ भन्नेमा नै मन दोधार हुन थाल्यो । म लोग्ने र उसको माया बिना बाँचेकै छु । बाँच्न कठिन छ तर बाँँच्ने कोसिस गर्दै जीन्दगी चलाउँदैछु ।

मैले आफ्नो विगतका सबै कुरा राहुललाई बताए । मैले भनेँ, ‘संसार हेर्दा रमाइलो र रंगीन पनि छ, यी बोतलका रक्सीहरु र बारजस्तै । तर जीन्दगी उजाड मरुभूमिजस्तै छ । म बस्ने बस्तीहरु पनि सुनसान छन् । म अब यही उजाड संसारमा नै ठीक छु । जीन्दगी यात्रा रहेछ अनि हामी यात्री । म पनि एक्लै यात्रा गरिरहेछु । बस् एक्लै ठिक छु । जीवनका हरेक मोडहरुबाट निकै टाढा जान मन छ । यात्रा धेरै गरेँ । अब म थाकिसकेँ । जीन्दगीको यात्रालाई जीन्दगीभरिको लागि विश्राम लिने सुरसारमा छु ।’

उसले भन्यो, ‘जीन्दगीमा कसैको साथ र सहयोग भयो भने मरुभूमिमा यात्रा गर्नु परे पनि सहज हुन्छ । पहाडहरु चढ्न सकिन्छ । जँघार तर्न सकिन्छ । तिमीलाई मैले सक्ने साथ दिन्छु ।’ तिमी हुन्छ मात्रै भन । तर म उसका कुराहरु मान्न तयार थिइनँ । मत जीन्दगीसँग हारेको मान्छे । भाग्यले ठगेको मान्छे । अब विश्वास आफैँसँग त छैन अरुको कसरी गर्न सक्छु र ? मैले मेरो लोग्ने र परिवारलाई सन्तानको सुख दिन नसक्दा आज एक्लै हुनुप¥यो भने अब फेरि यही कुरा दोहिरिँदैन भनेर कसरी विश्वास गर्नु । मलाई दुनियाँले फल दिन नसक्ने सुख्खा बाँझो भूमिको संज्ञा दिन्छन् ।

समाज यही हो, मान्छेहरुको सोचाई त्यही हो, त्यसैले मैले विस्तारै आफैँलाई सम्हाल्न कोसिस गरिरहेको छु । फेरि पीडा पाउन चाहन्नँ, जुन समाजले मलाई पहिल्यै दिइसकेको छ । एउटी नारी तब पूर्ण हुने रहेछ, जब उ आमा बन्छे । तर म कहिल्यै पूर्ण नारी बन्न सकिनँ । किनकि म आमा बन्न सक्दिनँ । हामी जस्ता नारीको समाजमा केही मूल्य हुन्न रैछ क्यारे । त्यसैले आज म पनि यो समाजको लागि मूल्यहीन भएकी छु । दिन, हप्ता र महिना गर्दै फेरि अर्को एक साल बितेछ । राहुलसँग त्यही दिनबाटै मैले भेट्न छोडिसकेको थिएँ । सुनेको छु, अर्कै केटीसँग बिहे गरेको छ अरे । यी दिनहरुमा अझ एक्लो भएको छु म । आजको रात भने रेष्टुरेन्टको बारमा भन्दा आफ्नै घरको विस्तारमा छट्पटाइरहेको छु ।

आज अचानक मैले मेरो लोग्नेलाई बाटोमा देखेँ । उ मसँग कुरा गर्न खोज्यो तर म नै बाटो मोडेर आफ्नै गन्तव्यतिर मोडिएँ । मेरो जीन्दगीले पनि किन घरिघरि सताइरहन्छ । जुन कुरा म बिर्सेर अगाडि बढिसकेको हुन्छु, त्यही कुरालाई सम्झाउन फेरि किन अतीत मेरो सामु खडा भइदिन्छ । विस्तारामा तिमी बिनाको यी पलहरु कल्पना गर्दै अतीतका पानाहरु पल्टाउँदै छु । केहीबेर ती अतीतका छायाँहरुसँग छट्पटाउन थाल्छु । आज अचानक तिम्रो याद मज्जाले आइरहेछ । जसलाई म वर्षौ पहिले भुल्न कोसिस गरिरहेकी थिएँ ।

तिमीसँग भेट नभएको पनि वर्षौं भइसकेको थियो । जब तिमी नयाँ जीन्दगीको सुरुवात गर्दै थियौँ, तबदेखि म तिम्रो जीन्दगीबाट टाढा भएकी थिएँ । सायद तिमीलाई थाहा नहोला तिमीसँग छुट्टिनु पर्दाको त्यो पल जीन्दगीकोे सम्पूर्ण आँसुहरु एकैचोटि बगाएकी थिएँ । मबाट त तिमीले सन्तानको सुख प्राप्त गर्न सकेनौँ । भर्खर आएको नयाँ जीवन साथीबाट त्यो सुख तिमीलाई प्राप्त होस् भन्ने मैले कामना गरेकी थिएँ । थाहा छैन, तिमीलाई त्यो सुख प्राप्त भयो या भएन ।

म जान्दिनँ तिमीसँग फेरि भेट किन भयो । तर अब तिमीबाट म निकै पर पुगिसकेको छु । तिम्रो आफ्नै जीन्दगी छ, मेरो आफ्नै । थाहा छ तिम्रो र मेरो सम्बन्ध टुट्नुमा एउटै कारण म तिम्रो सन्तानको आमा बन्न सकिनँ । म बाँझी स्त्री नै त थिएँ । अब मलाई पनि समाजले दिएको त्यही नाम स्वीकार्य छ, ‘बाँझी आइमाई’ म ।

प्रकाशित समय १३:१९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु