fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ ‘अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्’

‘अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्’

वियोगको कथाबाट सुरु भयो ‘भ्यालेन्टाइन्स डे’

हरेक वर्षको फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन हो, अर्थात ‘भ्यालेन्टाइन्स डे’ । प्रेम दिवसका दिनबाट सुरु भएको सम्बन्ध कहिल्यै टुट्दैन भन्ने विश्वास छ ।

‘कतिपयले यो पश्चिमा संस्कृति हो, बाहिरी संस्कृति हो,’ पनि भन्ने गर्छन् । तर, प्रेमका पक्षपातीहरू भन्छन्न्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन ।

त्यस्तै नेपाल पनि यो चलनबाट अछुतो छैन । केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी भएको तर्कमा जोड दिन्छन् । अर्काको संस्कृति अनुसार प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाउन नहुने तर्क राख्छन् । तर पनि भ्यालेन्टाइनले नेपाली समाजमा जरो गाड्दै गएको छ । पहिला ‘भ्यालेन्टाइन डे’ एक दिनमात्र मनाइने गरिन्थ्यो । अहिले यसलाई सप्ताहव्यापी रुपमा मनाइने चलन रहेको छ ।

पहिलो दिन ‘रोज डे’ । यस दिन आफूलाई मन परेको व्यक्तिलाई गुलाफ दिनुपर्छ भन्ने गरिन्छ । ‘प्रपोज डे’ यस सप्ताहको दोस्रो दिन हो । प्रपोज डेमा भने प्रेमको प्रस्ताव राख्ने दिनको रुपमा मानिन्छ । तेस्रो दिन भने मन परेको मायालुलाई चकलेट दिने दिन हो । यसलाई ‘चकलेट डे’ दिन हो । ‘टेडी डे’ भनिने चौँथो दिनमा गुडियाको उपहार दिनुपर्छ भनिन्छ ।

पाचौँ दिनको ‘प्रमिस डे’मा भने आफूहरुको प्रेम नछुटोस् भनी मायालु जोडीहरु प्रतिज्ञा गर्छन् । प्रेमीपे्रमिकाबीच आपसमा अंगालोमा बाँधिएर माया साट्ने दिन ‘हग डे’ हो । भ्यालेन्टाइन डे सप्ताहको सातौँ दिनमा भने एकले अर्कालाई मायालु चुम्बन वर्षाएर पे्रमिल जोडीहरु ‘किस डे’ मनाउँछन् ।

यी सबै दिनलाई मानिसले महत्वपुर्ण नदिए पनि ‘भ्यालेन्टाइन डे’ सबै युवायुवतीका लागि पर्वका रुपमा पर्दछ ।

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’को इतिहासलाई हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरु प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए ।

तर भ्यालेन्टाइन भने सम्राट्को सो निर्णयलाई धर्मविरुद्ध भन्थे । उनले सम्राटको उर्दीको विपरीत जोडीहरूलाई लुकीछिपी विवाह गराइदिन थाले । एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्म पुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी दृष्टिविहीन छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् ।

भ्यालेन्टाइनलाई झुण्ड्याइनु अघि उनले ‘Love from your Valentine’ भनी हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ईसापूर्व २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो । विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।

उनको बुझाइ थियो कि, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् प्रेम जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह गरिदिए । यसरी निषेधाज्ञा तोडेको आरोपमा उनलाई ईपू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । अहिले विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

त्यसै समयदेखि महान प्रेमी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष प्रेमीप्रेमिकाले प्रेम दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने गर्छन् । यसले अहिले आएर विश्वव्यापी मान्यता पाएको छ । प्रेमी प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । प्रेम भावनासँग सम्बन्धित कुरा हो । यसलाई अनेक प्रतीक र विम्बमा अभिव्यक्त गरिन्छ, । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ ।

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै प्रयोग हुने वस्तु हो, गुलाफको फूल । फुल आदानप्रदान गरेर युवायुवतीहरुले आपसमा प्रेम प्रकट गर्दे आफूले मन पराएको केटा वा केटीलाई गुलाफको फूल दिएर प्रेम प्रस्ताव राख्ने गर्दछन् ।

रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतीक

रातो गुलाफ प्रेम र मनोभावनाको प्रतीक हो । यसलाई प्रेम प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो ।

गुलाफी गुलाफ : मित्रता र मुटुको धड्कनको प्रतीक

यो रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । ‘भ्यालेन्टाइन डे’ मा गुलाफी रङको गुलाफ दिनुको अर्थ ‘मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्किरहेको छ’ भन्नु हो । अर्थात मेरो मुटु तिम्रो लागि हो ।

पहेँलो गुलाफ : मित्रताको प्रतिक

पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । ‘फ्रेण्डशीप डे’ अर्थात मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ । तर, पनि हिजोआज मित्रताको प्रतीकका रूपमा ‘भ्यालेन्टाइन डे’ मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।

सेता गुलाफ : साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक

सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफको महत्वपूर्ण भूमिका रहेको छ ।

कालो गुलाफ : बिदाईको प्रतीक

कालो गुलाफलाई बिदाईको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पुरा हुने मान्यता छ ।

हो, ‘भ्यालेन्टाइन डे’ लाई प्रेम दिवस मान्दै उत्सवमा रुपमा मनाइन्छ । क्षणिक सुख र आनन्दलाई लिएर अनेक व्यवहार गर्ने गरिन्छ । अर्काको देखासिकी गरिन्छ । पछिल्लो समयमा नेपाली समाजलाई लिएर हेर्ने हो भने प्रणय दिवस अर्थात प्रेम दिवसले कतिपय युवायुवतीका लागि प्राणसम्म लिएको छ ।

प्रेम दिवसको बहानामा धेरै महँगो उपहार दिने, एक अर्कालाई विभिन्न सरप्राइज दिने, कतिपयले यस दिनलाई मात्र नभई प्रेम सम्बन्धमा रहुन्जेल परिवारसँग निकट सम्बन्ध राख्ने विभिन्न उपायहरु अपनाई आफूलाई स्पेशल महसुस गराउने गरेको पाइन्छ । तर मानिसको सोच र क्षमता सदा एकनास रहँदैन । कुनै दिन त्यस्तो परिस्थिति पनि आउन सक्छ कि, प्रेम दिवसबाट जोडिएको सम्बन्ध कहिल्यै सफल हुँदैन ।

सम्बन्धमा रहुन्जेल भौतिक वा शारीरिक सम्बन्ध सबै कुराबाट पछि नहट्ने जब सम्बन्धमा फाटो आउँछ विगतका कुराहरुबाट पछुतो हुन्छ । सम्बन्धमा नरहेपछि उपहार फिर्ता गर्ने, अघि गरेका संयोग र साथलाई स्वार्थमा बदल्ने, अर्काको गल्तिलाई महसुस गराउने, उसका कमजोरी खोज्ने, अनेक किसिमका घटना घटेको पाइन्छ । यस्तै विषयलाई लिएर समाजले उनीहरुप्रति गर्ने व्यवहार फरक हुन जान्छ । यस कारण पीडा सहन नसकी युवायुवती आत्माहत्या गर्नसमेत पछि पर्देनन् ।

तर सत्य यो हो कि क्षणिक र विलासी जीवनले प्रेम सम्बन्ध बलियो बन्दैन । हरेक सम्बन्धमा रहेपछि साथ निभाउनु जरुरी छ । एकले अर्काको सम्मान गर्दै आपसमा विश्वासको वातावरण सिर्जना गर्नसके प्रेम सम्बन्ध आफैँ अमर हुन्छ । धर्ती, आकाशझैँ अजम्बरी हुन्छ । अनि पो जीवन स्वर्गझैं सुन्दर हुन्छ । सबै सबै प्रेमिल मनहरुलाई प्रेम दिवसको शुभकामना ।

प्रकाशित समय १५:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु