fbpx

गृहपृष्ठ पैसा बग्ने कुलो

पैसा बग्ने कुलो

कुलबहादुर कामबाट आएर खुइया गर्दै ओछ्यानमा बर्लंग लड्छ । अनि भन्छ- जिन्दगी यसरी कति दिन चल्छ ? पैसा । पैसा । पैसा । जे गर्न पनि पैसा चाहिन्छ । यता गर पैसा । उता गर पैसा । खान पैसा । लाउन पैसा । घुम्न पैसा । मनोरञ्जन गर्न पैसा । तर, काम नगरी पैसा आउँदैन । पैसाका लागि दौड्या छ, दौड्या छ । न काम गरेको पैसाले पुग्छ । काम नगरी पैसा आउने कुनै उपाय भए पनि हुन्थ्यो ।

ऊ जुरुक्क उठ्छ । रिमोट खोज्छ र टिभी खोल्छ । पुनः ओछ्यानमा तेर्सिछ र सोच्न थाल्छ- पैसा नै छाप्न पाए त चाहिए जति छापेर चलाउन पाइन्थ्यो । न काम गर्नुपर्ने न त तिरोभरो, उधारोको तनाव लिनुपर्ने । चाहेको लाऊ, चाहेको खाऊ, चाहेको ठाउँमा जाऊ । स्वदेश, विदेश । सबै तनावबाट मुक्त भइन्थ्यो ।

तर के आफैं पैसा छाप्न पाइन्छ त ? ऊ आफैंलाई प्रश्न गर्छ- सबैले आफैं पैसा छाप्न पाउने भए छापिहाल्थे नि !

ऊ सामान्य लेखापढी गरेको मान्छे । धेरै कुरा बुझ्दैन । चासो भने निकै राख्छ । यो पैसा छाप्ने कारखाना कहाँ छ होला ! कति छापिन्छ होला ? उसलाई जान्न मन लाग्छ ।

पैसाको अभाव । काम गर्दा आएको पैसा र त्यसले न्यूनतम् आवश्यकता पनि पूरा हुन नसक्दा ऊ यतिका कुरा सोच्न बाध्य छ ।

पैसा छाप्ने कारखानाबारे सोचिरहेको कुलबहादुर टिभीमा समाचार आएपछि झल्याँस्स हुन्छ । टिभीमा आर्थिक समाचार बजिरहेको हुन्छ । हुन त उसलाई आर्थिक समाचार त्यति चासो लाग्दैन । नबुझेर हो वा रोचक नभएर हो, धेरै मानिसलाई आर्थिक समाचारमा ध्यान हुन्न । आर्थिक समाचार आयो कि च्यानल चेन्ज भइहाल्छ । मानिसको स्वभाव अचम्मको हुन्छ । पैसा चाहिएको छ । पैसाको कार्यक्रम, समाचार हेर्दैनन् । सम्पत्ति बनाउनु छ । आम्दानी चाहिएको छ । रोजगारी चाहिएको छ तर आर्थिक समाचार मन पर्दैन । पत्रिकाको आर्थिक पेज पल्टिँदैन ।

यसपटक कुलबहादुरले च्यानल परिवर्तन गर्दैन । उसलाई परिवर्तन गर्नु पनि छैन । एक्लोपन हटाउनका लागि मात्र उसले टिभी खोलेको हुन्छ । टिभीमा सुन्छ- केन्द्रीय बैंकले यो वर्ष सय र हजारका नयाँ नोट छाप्ने ।

केन्द्रीय बैंक ? ऊ छक्क पर्छ ।

केन्द्रीय बैंकले पैसा छाप्ने ! हजार र सयका नोट !

उसले नयाँ कुरा थाहा पाउँछ- केन्द्रीय बैंकले पैसा छाप्ने कुरा ।

बैंकका बारेमा उसलाई केही जानकारी छ । बैंकमा खाता पनि खोलेको छ । बैंकको एटिएम कार्ड पनि लिएको छ । खातामा कहिलेकाहीँ पैसा राख्ने गरेको पनि छ । सधैं खातामा राख्ने पैसा हुन्न । राख्ने पैसा भए पनि उसको खातामा धेरै समय अडिँदैन । प्वाल परेको गाग्रीको पानी जस्तै हो बैंक खाता । भरेको केही समयपछि रित्तिहाल्छ । तर, केन्द्रीय बैंक भनेको धेरै बुझ्दैन ।

कहाँ छ केन्द्रीय बैंक ? समाचारसँगै यी यावत् जिज्ञासा उसको दिमागमा खेल्न थाल्छन् । अब उसलाई यसबारे जान्न मन लाग्छ । काम नगरी पैसा आउने उपायको खोजीमा ऊ केन्द्रीय बैंकबारे बुझ्न खोज्छ । कम काम गरेर धेरै पैसा कसरी आउँछ ? कम काम, नियमित पैसा कसरी आउँछ ? नियमित आम्दानी उसको चाहना हो ।

पैसा छाप्न एकाधिकार प्राप्त बैंक राष्ट्र बैंक भन्ने थाहा पाएपछि ऊ स्पष्ट हुन्छ- आफैंले पैसा छाप्न सम्भव छैन ।

नियमित पैसा आउनुलाई नगद प्रवाह (क्यास फ्लो) भनिन्छ । यो निकै महत्वपूर्ण छ । नगद प्रवाह हाम्रो दैनिक जीवनमा रक्तसञ्चार जस्तै हो । नगद प्रवाह दुई किसिमबाट हुन्छ । एउटा काम गरेर आउने तलब । जो हरेक हप्ता वा दुई हप्तामा वा महिनामा आउँछ । अर्को काम नगरी पैसालाई काम लगाएर आउने पैसाको तलब । नगद प्रवाह, जसले हामीलाई जीवित राख्न सहयोग गर्छ । कुरा यति हो, नगद प्रवाह काम गरेर आएको छ या काम नगरी ।

उसलाई खुल्दुली लाग्छ । कहाँबाट थाहा पाउने केन्द्रीय बैंकका बारेमा ?

ऊ सम्झन्छ । फेसबुक, ट्विटरमा गएर खोज्छ । ऊ सामाजिक सञ्जालमा अलिक बढी नै दौडिने गर्छ । ऊ यसमा निकै रमाउने गरेको छ । तर, त्यहाँबाट केन्द्रीय बैंक पत्ता लाग्दैन । उसले चाहेअनुसारको सूचना त्यहाँ पाउँदैन ।

ए, अँ, गुगल छ नि ! दिमाग पनि कस्तो ! ऊ गुगल गर्छ । केन्द्रीय बैंक खोजी गर्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक भेट्टाउँछ । राष्ट्र बैंक नेपाल सरकारको बैंक । बैंकको पनि बैंक । पैसा वा नोट छाप्नका लागि एकाधिकार पाएको एकमात्र बैंक ।

पैसा छाप्न एकाधिकार प्राप्त बैंक राष्ट्र बैंक भन्ने थाहा पाएपछि ऊ स्पष्ट हुन्छ- आफैंले पैसा छाप्न सम्भव छैन ।

ऊ अझै सोचिरहेको छ । पैसाको अभावबाट कसरी मुक्ति पाउने ? कसरी नियमित पैसा आउने वातावरण बनाउने ? ऊ सोचमा मग्न हुन्छ । किनकि उसलाई पैसा चाहिएको छ । अरुको काम गरेर मात्र दैनिकी चलाउन गाह्रो परेको छ । सोच्दा-सोच्दै ऊ भुसुक्क निदाउँछ ।

अर्को दिन पनि कुलबहादुर यसरी नै थकित भएर कामबाट फर्किन्छ । ओछ्यानमा बर्लंग पल्टिन्छ । ऊ निकै थकित छ । दिनभरको कामको तनाव । मालिकको कचकच ।

ऊ फेरि सोच्न थाल्छ- पाएको तलबले खान र बस्न त पुग्छ तर बचाएर धनी बन्न सक्ने अवस्था हुँदैन । गाडी, घडेरी, घर, कहिले ? कसरी ? ऊ हिजोझैं सोचाइ र कल्पनामा डुब्छ ।

सधैंझैं टिभी खोल्छ । तर, हेर्दैन । हेरे पनि वा नहेरे पनि टिभी खोल्नु उसको आदत हो । टिभी बजिरहेको हुन्छ । टिभीमा प्रस्तोता बेला-बेला देखा पर्छन् । बेला-बेला फेरिन्छन् । बेला-बेला विज्ञापन आउँछ । बेला-बेला समाचार । ऊ खासै मतलब राख्दैन । आफ्नै सोचमा मग्न हुन्छ । यत्तिकैमा टिभीमा आर्थिक समाचार आउँछ । यसपटक उसले बढी चासो दिन्छ । उसलाई पैसा कमाउने अरू उपाय खोज्नु छ-

सानिमा बैंकको नाफा २ अर्ब । ग्लोबल बैंकको नाफा ३ अर्ब । एक वर्षमा सानिमाको कमाइ ३० प्रतिशतले बढ्यो । नेपाल टेलिकमको नाफा ८ अर्ब ।

कमाइ ? नाफा ? अर्ब ? लाख पनि होइन, करोड पनि होइन । यसमा उसले कमाइरहेको हजारको कुरा छैन । न लाखको छ ? न करोडको ? यहाँ त अर्बको कुरा छ । एक अर्ब होइन । दुई अर्ब । तीन अर्ब । आठ अर्ब ।

ओछ्यानमा डङ्ग्रङ्ग पल्टिएको मान्छे जुरुक्क उठेर थपक्क बस्छ । ऊ थप जिज्ञासु बन्छ । हजार, लाख होइन । करोड पनि होइन । अर्ब । उसलाई अचम्म लाग्छ ।

पैसा कमाउने तर पैसाका लागि दिनरात नदौडिने उसको मनसाय छ । घरमा बसे पनि पैसा आओस् । घुमे पनि पैसा आओस् । सुत्दा पनि पैसा आओस् । आफूले काम नगरे पनि पैसा आओस् । दिनमा मात्र होइन, रातमा पनि पैसा आओस् । आठ घण्टा होइन, बाह्र घण्टा होइन, २४सै घण्टा पैसा आओस् । काम अरुले गरुन्, पैसा आफूलाई आइरहोस् ।

ऊ सोच्नमा मग्न हुन्छ । तिनले त्यति धेरै नाफा कमाए । त्यो नाफा कसले पाउँछ ? ती कम्पनीका मालिक को हुन् ? के तिनको मालिक बनेर नाफा लिन सकिँदैन ? यी अनेक प्रश्न उसको मनमा दौडिन थाल्छन् ।

यी अर्बका नाफाका समाचार सुनेपछि उसमा जिज्ञासा बढ्दै जान्छ । नाफा नै यति धेरै हुनेको आम्दानी कति होला । नाफा अर्ब छ भने आम्दानी त खर्बमै होला नि ! उसलाई लाग्छ- पैसा जति सबै यिनीसँगै होला ! यी त केही संख्यामा न हुन् । यस्ता अर्ब कमाउने कति छन् होला ? सबैको नाफा कति होला ? जसको हिसाब क्यालकुलेटरमा पनि नअटाउला ! हिसाब गर्न क्यालकुलेटर निर्माताले निकै ठूलो क्यालकुलेटर बनाउनु पर्ला !

यिनले मिनेटमै कति कमाउलान् ! यिनको आम्दानी सेकेन्डमा कति होला ? घन्टा, दिन, हप्ता अनि महिनामा ? उसको दिमाग घुम्छ । आफूले महिनामा २५ हजार कमाउने गरेको सम्झिन्छ ।

कुलबहादुर फेरि गुगल गर्छ । ऊ नाफाका अंकको जिज्ञासा मेटाउन चाहन्छ । उसले एउटा समाचार भेट्छ- २०७५ मा बैंकहरुले ६५ अर्ब नाफा कमाए ।

६५ अर्ब ! आम्मामा हो । कति कमाएका हुन् भन्या ।

अनि २०७४ सालमा । २०७३ सालमा ? अनि यी त बैंकमात्र भए । उसले बजारमा सहकारी पनि देखेको छ । समाचारमा कुलमान प्रमुख रहेको कम्पनी विद्युत प्राधिकरणको नाफा ७ अर्ब भन्ने पनि उसले सुनेको थियो । यस्तै चुरोट बनाउने, टेलिफोन चलाउनेले कति कमाएका होलान् !

गुगलमै उसले एक अमेरिकी कम्पनीको समाचार भेट्छ । कम्पनीको नाम थियो वालमार्ट । २३ लाख मानिसलाई रोजगार दिन्छ यो कम्पनीले । यसको वार्षिक आम्दानी ५१४ अर्ब डलर । यो देश हुन्थ्यो भने सम्पत्तिका हिसाबले यो संसारको बाह्रौ ठूलो देश बन्न सक्थ्यो रे ! उसको आफ्नो परिचय छ, गरिब तथा न्यून आय वर्गको सहारा बन्नु । यसका संस्थापक वाल्टन परिवार । तिनले मात्र यो कम्पनीबाट १ मिनेटमा २५ हजार डलर आम्दानी गर्छन् ।

अर्को उदेक लाग्दो कुरा पनि छ । यसका कतिपय कामदारले वर्षमा १६ हजार डलरभन्दा कम पनि कमाउँछन् । कामदारले वर्ष दिनमा कमाएभन्दा बढी १ मिनेटमा कमाउँछन् यसका संस्थापक ।

कुलबहादुर अमेजन र एप्पलको कथा पढ्छ । नेपाल टेलिकम र नबिल बैंकको कथा पढ्छ । संसारका ठूला कम्पनीको कथा र तिनको कमाइ हेर्छ । तिनका मालिकको बारेमा पढ्छ । तिनले कम्पनीबाट लिएको पैसा वा आम्दानीको बारेमा बुझ्छ । वाल्टन परिवारले वालमार्टबाट वार्षिक ३ अर्ब डलरभन्दा बढी पैसा बुझ्ने गरेको थाहा पाउँछ । उसलाई यसअघि कहिल्यै आर्थिक समाचारमा चासो नदिएको दुःख लाग्छ । गुगलमा कहिल्यै कमाउनेहरूको कथा नपढेकोमा पश्चाताप हुन्छ ।

सबैका कथा पढेपछि उसलाई पैसाका कारखाना भनेका यिनै रहेछन् भन्ने लाग्छ । वास्तवमा पैसा मानिसले कमाउने वा बनाउने होइन रहेछ, पैसा त कम्पनीले कमाउने रहेछन्, व्यवसायले बनाउने रहेछ भन्ने थाहा पाउँछ ।

रातको १२ बजेको हुन्छ । ऊ चिन्तित हुन्छ । पैसा कमाउने कम्पनी खोल्न त धेरै पैसा चाहिएला ! कसरी कमाउने त पैसा ? गुगलमा अनेक कुरा हेर्छ । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो उसको दिमागमा अनौठो उपाय फुर्छ- पैसा कमाउने कम्पनी त खोल्न सकिँदैन तर कारखाना र आफूबीच कुलो त बनाउन सकिएला नि !

आफ्नो आइडिया उसलाई गज्जब लाग्छ । अब ऊ कारखाना र आफूबीच कुलो बनाउन चाहन्छ, जसबाट कारखानाको पैसा निरन्तर आफूतिर बगिरहोस् ।

तर, कुलो कसरी बनाउने ? कुलबहादुरलाई कुलो बनाउने तरिका सिक्न मन लाग्छ । ऊ फेरि गुगल गर्छ । उसले भेट्छ- कम्पनीका मालिक भनेका सेयरधनी हुन् । कम्पनीबाट यिनै सेयरधनीले नाफा प्राप्त गर्छन् ।

अब ऊ प्रस्ट हुन्छ- कुलो बनाउनु भनेको सेयर किन्नु हो, जहाँबाट सानो-सानो आम्दानी भए पनि आफूतिर बगोस् । किनकि उसले पढेको हुन्छ- विश्वकै धनीमध्येका एक वारेन बफेटले सुरूमा ३ कित्ता सेयर किनेका थिए ।

वाल्टन परिवारले वालमार्टबाट गत वर्ष ३ अर्ब डलर नाफा बुझेको हो । विगतमा त उसको नाफा कम थियो होला नि ! सन् १९६२ मा खुलेको वालमार्टले १९७४ मा पहिलो पटक लाभांश बाँडेको थियो । त्यसयता ४४ वर्ष निरन्तर बाँडिरहेको छ । त्यसबेला नाफाको अंश निकै कम थियो । ऊ सोच्छ- सुरूमा त नाफा थोरै नै हुने रहेछ । अहिलेसम्मको पैसा थुपार्ने हो भने पहाड नै बन्छ होला ! कुलबहादुर छक्क पर्छ ।

निरन्तरको खोज र अध्ययनबाट ऊ निकै आत्मविश्वासी भइसकेको हुन्छ । उसले कुलो बनाउने बाटो पत्ता लगाइसकेको छ । सेयर किनेर पैसा बगाउनुपर्ने रहेछ भन्ने बुझिसकेको छ । सेयर किनेपछि त्यही कुलोबाट नियमित आफूतिर पैसा बग्ने रहेछ भन्ने थाहा पाइसकेको छ । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंसम्म । मरेपछि पनि ।

उसले गुगलमा कोकाकोलाको कथा पढेपछि यो जानकारी हासिल गरेको हुन्छ । सन् १८९२ मा अमेरिकामा खुलेको हो कोकाकोला कम्पनी । त्यसले संसारभर व्यवसाय गर्छ । नेपालमा पनि छ कोक । यसका संस्थापक जीवित छैनन् तर उनका सन्तानले अहिले पनि कम्पनीबाट हरेक वर्ष नाफा बुझिरहन्छन् । जसका लागि काम नै गर्नु पर्दैन ।

बिहानको १ बजिसकेको हुन्छ । कुलबहादुर निष्कर्षमा पुग्छ- कुलो बनाउन सेयर किन्ने । अहिलेको कमाइबाट थोरै भए पनि बचाउने अनि नाफा धेरै दिने र नियमित नाफा बाँड्ने राम्रो कम्पनीको सेयर किन्ने । सुरुमा थोरै किन्ने र थप्दै जाने । हरेक वर्ष त्यही कुलोबाट पैसा आफूतिर बगाइरहने । आफ्नो काम पनि गरिरहने । एउटाबाट काम नगरी र अर्कोबाट काम गरेर पैसा आउँछ ।

कुलबहादुर आनन्दले सुत्छ ।

(सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट गरेका छन् ।)

यो पनि पढ्नुहोस् ।

सेयर बजारमा कम्पनी कसरी छनोट गर्ने ?

प्रकाशित समय १०:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु