fbpx
Nepal Mediciti

गृहपृष्ठ भेन्टिलेटर चढाइदिए हुन्थ्यो

भेन्टिलेटर चढाइदिए हुन्थ्यो

dr-suraj-niraula-newskarobar

हर बिहानी, चियाको चुस्की

स्वादविहीन हुनेगरी,

अनियमितता र भ्रष्टाचारको

व्याप्त समाचारले

घृणित भएको मेरो छवि,

अमृत जलले

एक पटक पखालिदिए हुन्थ्यो ।

उभिनै नसक्ने गरी,

टुक्रिएको मेरो मेरुदण्ड जोड्न

एक कुशल

अर्थोपेडिसियन ल्याइदिए हुन्थ्यो ।

मर्न चाहन्न अझै त,

उपचारका लागि मलाई

भेन्टिलेटर चढाइदिए हुन्थ्यो ।

 

सास फेर्न नि गाह्रो भइसक्यो,

बोलेका ध्वनिका तरंग,

कानसम्म पुग्न छाडिसक्यो ।

हिजोको मेरो प्रतिष्ठा

आज जमिनको गर्भभित्र विलय भइसक्यो ।

कास ! बिरामीको विवशतामा यसरी

खेलवाड नगरिदिए हुन्थ्यो ।

रोकिनै लागेको मेरो मुटुको

धड्कन फेरि उठाउन

एक कुशल

कार्डियोलोजिस्ट ल्याइदिए हुन्थ्यो ।

म मर्न चाहन्न अझै त,

उपचारका लागि मलाई

भेन्टिलेटर चढाइदिए हुन्थ्यो ।

 

इतिहासका मेरा स्वर्णीम धरोहरहरु

घुन लागेझैं भित्र-भित्रै ढलिसक्यो ।

प्रगतिले उक्लिनु त कता

डिप्रेसनले नै थला पारिसक्यो ।

खरायोझैं दौडनुपर्ने विकास

कछुवाको चालमा नहिँडाइदिए हुन्थ्यो ।

दुर्गतिले साइकोसिस भएको

मेरो मन ब्युँताउन

एक कुशल,

साइक्याट्रिसियन ल्याइदिए हुन्थ्यो ।

म मर्न चाहन्न अझै त,

उपचारका लागि मलाई

भेन्टिलेटर चढाइदिए हुन्थ्यो ।

 

हानहान र तानातानको रणभूमिबाट

मलाई फुत्त बाहिर निकालिदिए हुन्थ्यो ।

चाहिँदैन राजनीति, चाहिँदैन सेक्युरिटी

कम से कम मलाई नेताको ईशारामा

न नचाइदिए हुन्थ्यो ।

निर्दोष माछाहरु सङ्लो पानीमा

स्वतन्त्र पौडिन पाए पुग्थ्यो ।

निभ्नै लागेको दीप पनि

एक पटक जगाइदिए हुन्थ्यो ।

निस्वार्थ जनसेवामा समर्पित

लोक परोपकारी मनको

एक कुशल,

नेतृत्व ल्याइदिए हुन्थ्यो ।

मर्न चाहन्न अझै त,

उपचारका लागि

मलाई भेन्टिलेटर चढाइदिए हुन्थ्यो ।

प्रकाशित समय ०९:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु