fbpx
corona information

गृहपृष्ठ कविता – कथित मार्क्सवाद !

कविता – कथित मार्क्सवाद !

वर्ग संघर्षलाई साङ्लोले बाँधेर
अध्यारो कोठामा पढाइने ओठे मार्क्सवाद
आज भोलि चोक चोकमा वर्षीएको देख्दा
साम्यवादका झोक्काहरुले
विश्व बजारलाई रंगीन बनाएको छ ।

किताबमा कोरेका समाजवादी हरफहरु
क्षतविच्छेद भएका थोत्रा दिमागले
पुँजीवादलाई बाटोमा कुल्चिएको छ
बोलेरो, पँजेरो र बीएमडब्लुको सपनामा
कुण्ठित उत्तर आधुनिक चेतनाले
हैसियत अनुसारको माक्र्सवादी बहार छाएको छ
कथित मार्क्सवादको स्वप्नदोष भएको छ ।

ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको आलोकमा
मन्दिर, मस्जिद, चर्च र स्तुपामा कुँदिएको भौतिकवाद
शास्त्रीय धुनमा भूतप्रेत (दैत्य) निकालेर पुँजिएको छ
ओठमा बर्बराइरहेको नास्तिक भौतिकवाद
कोटी होमको आगोमा जलाइएको छ ।

विश्व शान्तिको शास्त्रीय संगीतमा द्वन्द्ववाद
भाइ भारादारबीच अंशबण्डाको तरबार बनेको छ
बडे–बडे ओठे र कोठे भौतिकवादी दार्शनिक विद्यार्थी
मन र आत्मको व्यापार गर्छन्, स्थान छोड्दैन
वस्तुको गतिमा बल प्रयोगको भूमिका स्वीकार्दैन
बरु महलमा बस्न उद्देलित राजर्षी सपनाहरु
वर्गबिहिन आदर्शको सैद्धान्तिक दर्शन बनेका छन् ।

हैसियतअनुसार मार्क्सवादको बहार छाएको छ
कथित मार्क्सवादको स्वप्नदोष भएको छ
बेडमा मार्क्स स्तुति तरंगीत हुँदा मार्क्सवाद
दिवा स्वप्नको थोत्रो यात्रा बनेको छ
बिहान उठ्ने बित्तिकै घुम्ने कुर्सिमा वाचन गर्ने
पण्डित्य कर्मकाण्ड बनेको छ ।

सपनाका साम्यवादी यात्रीहरु
अध्यायन केन्द्रमा तोते बोलीसँगै लर्बराएका छन्
अँध्यारो कोठाहरु २१ औं सदिका समाजवादी केन्द्र बनेको छन्।
गाउँ सहर जोड्ने पुल बनेका छन्
वर्ग संघर्षलाई युद्धको हवाला दिँदै
समरमा हिडेका यात्रीहरुको खिसिट्युरी गर्ने पण्डितहरु
मार्क्सवादभित्र सही र गलत छुट्याउने
… प्रतिशत नम्बर दिने अदृश्य आत्मा बनेका छन् ।

पेट धान्न चलाइएका मार्क्सवाद केन्द्रहरु
दुनियाँ बदल्ने क्रान्तिका अलौकिक फिरंगी बनेका छन्
त्यसैले त सहरका गल्ली अनि चोक चोकमा
हैसियतअनुसार मार्क्सवादको बाढी आएको छ ।
कथित मार्क्सवादको स्वप्नदोष भएको छ ।

प्रकाशित समय ११:४८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु