fbpx
corona information

गृहपृष्ठ कविता : उछिन्-पाछिन्

कविता : उछिन्-पाछिन्

कहिले चिनियाँले
छोमोलोङ्ग हाम्रो हो भन्छ र पिचाइको
गुगल नक्सा संशोधन गराउँछ
कहिले सुस्ता, कालापानी, लिम्पियाधुरामाथि
भारतले कब्जा जमाउँछ र भन्छ
अरे वे छोटु !
य हमारा हे वे, तु क्या करहाहे छोटु,
किस्ने तुझको भड्का दिया वे !

यता हामी नेपाली युवा नामका
मान्छेहरु कहिले लैनचौर र वालुवाटार
नजिक गएर,
उधुम नारा लगाउँछौं, हामी वीर गोर्खाली
भन्छौं चिनियाँ हस्तक्षेप मुर्दावाद !
भारतीय विस्तारवाद मुर्दावाद !
ठीक त्यसै बेला हामी बिर्सन्छौं
हामीले पाए खाएको राष्ट्रिय भिख
र नजरानाहरु तिनै चिनियाँ, भारतीय र पश्चिममाहरुको
उदात्त चित्तहरुको दान हो भनेर ।

हैन हो युवा साथीहरु !
दुनियाँमा भिखारीहरुको छनौट सिद्धान्त
पजुरिएको कता छ हँ ?
तसर्थ,
युवा साथी !
उनीहरुले खुट्टामा घुसारिदिएको जुत्ता लगाएर
पेटमा हालिदिएको अन्न पचाएर
मुखमा कोचिदिएको राजनीतिक भाष्या भट्याएर
मलाई भने डर लाग्छ युवा साथी हो
ऊनीहरुका विरुद्ध जाइ लागेर
जाइफल पाइदैन कि भनेर,
चोक्टा खानु त परै जाओस्, झोल मै डुबेर
मरिन्छ कि भनेर ।

भलै हामी त्यसलाई बलिदान भनौंला र पछिल्लो राष्ट्रवादी चलन यही छ
तर, मलाई भने त्यस्तो आफ्नै वलिदानको पनि टिठ लागेर आउँछ
के भन्लान् बाँकावीर र भीमदत्त पन्तहरुले ?
के भन्लान् दशरथ, गंगालाल, शुक्रराज र धर्मभक्तहरुले ?
झसक्क सम्झना आउँछ
स्थायी, केन्द्रीय र पोलिटव्युरोमा बसेका महान् दार्शनिक घैंटे, मनांगे, चरी, गणेश लामाहरु
तमाम तस्कर र दलालहरु
जसले प्राध्यापक डाक्टर चैतन्य मिश्रले औँल्याइदिएको माक्सवादी कमजोरीहरु,
कालक्रमअनुसार विकास गरिरहेका छन् ।

भैगो युवा साथी,
विस्तारवादका झन्डाहरु जलाउनुभन्दा पहिला
खन्याउ बरु उनीहरुले नै दिएको अनुदानको पेट्रोल,
जलाउ आफ्नै अद्मरो चेतनाको गुजुल्टो
र भन हे सखी !
त्यहाँबाट जन्मेको ज्वालाले भन्यो भने
‘अप्पो दिपो भव’ तब
अनि बनाउला खाम्पा विद्रोहको शिरानीमा,
एउटा फुकुसीमा जस्तै आणविक भट्टी
र गरौंला ब्यालिष्टिक मिसाइल
आक्रमण
र जितौंला युद्ध
अनि पो वीर गोर्खाली
र पो वीर गोर्खालीका शन्तान
है नेपाली युवा
सखी…आँसु….धरर…

प्रकाशित समय १२:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु