fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ अपरिचित केटीको परिचित म्यासेज

अपरिचित केटीको परिचित म्यासेज

जताततै प्रेमिल जोडीहरुले मनाउने पर्व ‘भ्यालेन्टाइन डे’को रौनक छाउँदै थियो । हग डे, किस डे, रोज डेलगायतका ‘पर्वहरु’को अवसर भन्दै फेसबुक प्रयोगकर्ता साथीहरुले म्यासेज पठाइरहेका थिए । नयाँ जोडी खोज्ने र पुराना जोडीबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयत्न जोकोहीबाट भइरहेको थियो ।

एउटा नाटकीय भद्दा मजाक ममाथि पनि भइरहेको थियो । केही दिनअगाडि मैले पनि नयाँ फेसबुक एकाउन्ट खोलेको थिएँ । नयाँ फेसबुक अकाउन्ट अन्य कुनै प्रयोजनका लागि नभई आफ्नै केही महत्वपूर्ण सन्देशहरु, फोटोहरु, पढ्नैपर्ने समाचारका लिंकहरु एउटा फेसबुक आइडीबाट अर्कोमा सेन्ड गर्ने र आवश्यकताअनुसार उपयोग गर्नका लागि खोलिएको थियो ।

खासै त्यो आइडी नचलाउने हुँदा केही त्यसमा भएका साथीहरुले के गर्छन्, कता जान्छन् भन्ने क्याप्सन केही जानकारी हुँदैन थियो । एक दिन खोलेर हेरेँ । झन्डै एक सय जनाको हाराहारीमा साथी बन्नका लागि रिक्वेस्ट आएका थिए । त्यसमध्ये धेरै जना आफ्नै चिनजानका । कोही कोही भने नाम र फोटो नै नचिनिने थिए । विदेशीका नाम जस्तै भएका केही फेक आइडीलाई स्वीकार नगरेर चिनजानकाहरुलाई मात्र स्वीकार (कन्फर्म) गरेँ ।

लिस्टमा एकजना अपरिचित लेडिजको नाम पनि रहेछ । झट्ट हेर्दा गृह जिल्लातिरकै साधारण नाम र तस्बिर । आफन्तै होलिन् भनेर उनलाई पनि कन्फर्म गरेँ । फेसबुकमा तिनको नाम थियो (नाम परिवर्तन) अन्जना । एकछिन उनको टाइमलाइनमा हेरेँ चिनिन । म्युचुअल सबै आफन्त नै साथी थिए । खैर, केही छैन, जोसुकै होस् भनेर लग आउट गरेँ ।

दोस्रो पटक रोज डेको दिनमा त्यो एकाउन्ट लग इन गरेँ । जताततै रोज डेको शुभकामना थियो । म्यासेज भने एक जना दाइको मात्र रहेछ । ‘कतिवटा आइटी चलाएको भाइ तैंले ?’ दाइले सोध्नुभएको थियो । अरु कसैको पनि म्यासेज थिएन । दाइको म्यासेजको जवाफ दिँदै थिएँ । अघिल्लो दिन ‘को’ रहिछन् ती केटी भनेर सोचेकै मान्छे अन्जनाको म्यासेज आयो । स्टिकर म्यासेज ‘हाइ’ ।

म्यासेज देखेँ । जवाफ फर्काउन पाइन । बत्ती गयो । सायद सुरुमा रिक्वेस्ट आउँदा पनि त्यस्तै भएको हुनसक्छ । उनले रिक्वेस्ट पठाउँदा म अफलाइनमा थिएँ होला ।

म्यासेज देखेँ । जवाफ फर्काउन पाइन । बत्ती गयो । सायद सुरुमा रिक्वेस्ट आउँदा पनि त्यस्तै भएको हुनसक्छ । उनले रिक्वेस्ट पठाउँदा म अफलाइनमा थिएँ होला । म आएको बेलामा उनी अफलाइनमा थिइन् होला । फेसबुकमा पनि प्रत्यक्ष भेट भएको थिएन ।

दोस्रो दिन अनलाइनमा आए । अनि अघिल्लो दिनमा ‘हाइ’को जवाफ दिएँ ‘हजुर’ । उनी पनि अनलाइनमै रहिछन् । कुरा भएको दुई शब्द ‘हाइ’ ‘हजुर’ मात्रै थियो । सिधै म्यासेन्जरमा फोन बज्यो । रिसिभ्ड गरेँ ‘हेलो’

‘काँ छौ तमे, क्या छ खबर, बोल्दा पनि नाइ, साइभौ’ सुदूरपश्चिमको स्थानीय लवजमै (कता छौ तिमी, के छ खबर, बोलचाल पनि छैन त साथी) पुरानो चिनजानको मित्रको जसरी एकोहोरो प्रश्न सोधिन् ।

म पनि त्यसै ठाउँको भएको हुँदा त्यो लवजमा कुनै अप्ठेरो थिएन । भनेँ, निकोइ छु, याउणोइ छु (ठीकै छु, यतै छु) ।

यतै भन्या कता ? उनले प्रश्न गरिन् ।
‘काठमाडौंमै छु ।’
‘म पनि यतै छु त काठमाडौंमै,’ बढो उत्साहित भएझैं गरेर उनले भनिन् ।
मैले, ‘ए ए राम्रो नि’ भनेँ ।
‘कता हो तपाईंको घर ?’ मैले पहिलो प्रश्न गरेँ ।
उनले जिस्केको पारामा भनिन्, ‘कता जस्तो लाग्यो ?’
‘लाग्न त उतैतिरको जस्तो लाग्यो तर ठम्याउन भने सकिनँ ।’
‘नचिने ठिक भयो’ भन्दै उनैले रिसाएर फोन राखिन् ।

म निकै अन्योलमा परेँ । न चिनेको छ । चिने चिने जस्तो पनि लाग्यो । अलमलमै थिएँ । फेरि साँझ म्यासेन्जरमा फोन आयो । त्यो भिडियो कल थियो । ‘अनुहार नदेखे जस्तो, स्वर सुनिरहे जस्तो’ लाग्यो ।

फोन काटेँ ।

फेरि फोन गरेर आफ्नो ठेगाना बताइन् । ठेट स्थानीय लवजमा बोल्न थालिन् । ‘कता हो कोठा, को को बस्छौ’ लगायतका थुप्रै प्रश्न ।
मैले पनि अलि बढाएरै गफ दिएँ ‘हामी नजिकैका रहेछौं ।’

कुरा गर्दै जाँदा घरबाट ल्याएको कुरा बाँडेर खानुपर्छ ‘के के ल्याएको छ’ भनेर सोध्न थालिन् ।
केही छैन, ‘कागती मात्र होला’ मैले भनेँ ।
‘दाल के खाइन्छ ? गहत-भटमास छ कि छैन ?’ उनले भनिन् ।
‘नाइँ छैन ।’
‘त्यसो भए म गहत-भटमास लिएर आउँछु, मलाई अतिकति कागती ल्याइदिनुहोस् ।’
मैले स्वीकारेँ ।
उनले आफ्नो मोबाइल नम्बर दिइन् र मेरो नम्बर मागिन् । मैले टेक्स गरिदिएँ । घरबाट ल्याएको कुरा बाँडेर खाने भन्ने कुरा गर्दै फोन टुंग्यायौं ।

भोलिपल्ट बिहानै अफिस निस्किएँ । उनलाई ‘विद्यार्थी हुँ’ भनेको थिएँ ।
भोलिपल्ट दिउँसो १२ बजे फोन गरिन्, ‘म आउँदैछु, कता हुनुहुन्छ ?’
मैले नयाँ बानेश्वर भएको बताएँ । एक छिनपछि बानेश्वर पुगेको खबर गरिन् । म पनि अफिसबाट निस्किएँ ।

मलाई ‘यो केटी को रहिछे’ भन्ने मात्र जान्न मन थियो । बाहिर भएकाले कागती दिन सम्भव नभएकाले भेट्ने र पठाइदिने भन्ने सोचेको थिएँ । उनलाई भेट्नुभन्दा पहिला हजारौं कुरा मनमा खेलिरहेका थिए ।

एकछिनमै भेट भयो । बानेश्वरमा बस्यौं । बस्ने सिटमा पनि उनी एक छेउमा बसेपछि म झन्डै डेढ मिटर टाढा छेउमा बसेँ । उनी मतिर सरिन् । फेरि सरिन् । टाँस्सिएर बस्न थालिन् । मलाई निकै अप्ठेरो भइरहेको थियो । त्यतिखेरै मेरो कपालमा सेतो रौं देखिछन् ।
भनिन्, ‘हेर त कपाल फुलिसकेछ, खै खै म उखेलिदिन्छु फुलेको कपाल ।’

मैले अस्वीकार गर्दै थिएँ । उनी भने झन् नजिक भएको नाटक गर्दै थिइन् । मेरो कपालको रौं उखेल्न तयार नै भइसकिन् । अनि म रिसाएँ, ‘को हो के हो, चिन्नु न जान्नु के हो यो पारा ?’

उनी पनि के कम । साना बच्चाहरु रिसाएका ठुस्किए जस्तै गर्न थालिन् ।
‘मेरो आज अफिसमा बढी काम छ’ भन्दै म उठेँ ।
‘अफिसमा जागिर गर्नुहुन्छ र ! हिजो केही गर्दैन भनेको होइन ?’
‘उम् सानोतिनो काम गर्छु ।’
गोजीबाट मोबाइल झिक्दै थिएँ, मोबाइलसँगै परिचय पत्र पनि आएछ । उनले देखिहालिन् ।
‘खै खै ! कति छ तलब ?’
मैले पनि बढाएरै गफ दिएँ ।
‘खासै छैन, ७०/८० हजारमात्र हो । मेरै साथीहरु एक लाखसम्म तलब खान्छन्, मेरो त खासै छैन ।’

उनले भनिन्, ‘यति तलब भनेको त धेरै हो नि !’
म फेरि उनको अगाडि निकै अब्बल भएको नाटक गर्न थालेँ ।
‘कामअनुसारको केही छैन, डेढ दुई लाख कमाए पो राम्रै हो ।’
त्यो दिन मेरो पर्स नै छुटेर एकजना सहकर्मीसँग १०० रुपैयाँ मागेर गएको थिएँ ।
‘चिया पिउनुहुन्छ’ मैले शिष्टता देखाउन खोजेँ ।
‘पिउँदिन, बरु चटपटे खाऔं’

नजिकै चटपटेवाला थियो । देखेर पनि भनेको हुनसक्छ ।
३० रुपैयाँको चटपटे मागेर उनलाई दिएँ ।
‘मिलेर खाऔं’ उनले आग्रह गरिन् ।
रुघा लागेकाले नखाने जवाफ दिएँ र ‘हतार छ’ भन्दै हिडेँ ।
त्यो दिनभर अन्जनाले अर्कै योजना बनाएकी रहिछन् । राती फोन गरिन्, झन्डै आधा घण्टासम्म ।

त्यो बेला उनले आफ्नै मात्रै कुरा गर्न थालिन् । घरपरिवार । सबैले आफूलाई धेरै माया गर्ने, तराईमा धेरै जमिन खरिद गरेको, आफ्नो नाममा पनि ३-४ कठ्ठा जमिन रहेकोलगायतका अनेक कुुरा सुनाइन् ।
म ‘गजब-गजब-गजब’ रहेछ भन्दै गएँ ।

अन्तिममा उनले कुरो अन्तै मोडिन् । अगाडि आफू सम्पन्न परिवारको भएको संकेत देखाएकी अन्जना अन्तिममा मसँग अपेक्षा गर्न थालिन् । दिउँसो घरमा मेरो बारेमा कुरा गरेको जानकारी गराइन् ।
‘यस्तो केटा छ बुवा, यो केटालाई माग्न बोलाउनुपर्‍यो भनेको छु घरमा ।’
उनले मबाट केही अपेक्षा गरेको मैले बुझिसकेँ ।

‘अहिले राख्छु, मेरो काम छ’ भनेर फोन राख्न खोज्दै के थिएँ, मेरो अगाडि ठूलै प्रस्ताव राखिन्, ‘अब कागती सागती त्यस्तै हो, मलाई इमर्जेन्सी काम परेको छ, जसरी हुन्छ पाँच लाख दिनुस् म एक हप्तामै फिर्ता गर्छु ।’

‘अब कागती सागती त्यस्तै हो, मलाई इमर्जेन्सी काम परेको छ, जसरी हुन्छ पाँच लाख दिनुस् म एक हप्तामै फिर्ता गर्छु ।’

‘मसँग यत्रो पैसा छैन । आफैं ऋणमा छु,’ मैले भनेँ ।
‘भोलि नै होइन के, दुई/तीन दिनमा मिलाइदिनुस् न ! साथीहरुबाट सापट मागेर भए पनि ।’
‘सक्दैन’ भन्दा पनि एकदमै लचकता देखाउँदै ‘प्रयास’ गर्नुहोस् न भनिरहिन् ।
‘हुन्छ, प्रयास गर्छु तर ९० प्रतिशत सम्भव छैन’ भनेँ ।
त्यसैमा कुरा टुंग्यायौं ।

भोलिपल्ट ‘भ्यालेन्टाइन डे’ । फेसबुकका भित्ता श्रीमान् श्रीमतीका तस्बिरले भरिभराउ थिए । वर्षभरि जाँडरक्सी खाएर कुटपिट गर्नेहरुले पनि ‘भ्यालेन्टाइन डे’ विशेष भन्दै श्रीमतीसहितको तस्बिर राखेका थिए । बिहान करिब ९ बजेतिर हुँदो हो । अन्जनाले फोन गरिन् ।
‘हेलो !’ उनले सुरुमै भनिन्, ‘ह्याप्पी भ्यालेन्टाइन डे बूढो !’
म अक्क न बक्क ।

अपरिचित मान्छे एक/दुई दिन फोन । तेस्रो दिन ‘बूढो !’
फेरि भनिन्, ‘मेरो बूढोले मलाई आज गिप्टसहित हिजोको प्रस्ताव स्वीकार्नुभयो नि है ! पैसा लिन म त्यतै आउने कि, यता लिएर आउनुहुन्छ बूढो ?’
वाक्यैपिच्छे प्रयोग भइरहेको ‘बूढो’ सम्बोधनले म आहत भइसकेको थिएँ ।
‘म तिम्रो बूढो पो हुँ हाहाहा…’ म हाँस्दै थिएँ, उनी बोल्न थालिन् ।
‘अबदेखि मलाई तिमी पनि नभन्नु ‘तँ’ मात्र भन्नु है कान्छा ।’ मलाई यो नाटक सहन गाह्रो भइसकेको थियो ।

त्यसपछि लगातार उनबाट एकलौटी मायाको गहिराइमा डुबेझैं प्रेमिल शब्दहरुको ‘पुष्पवृष्टि’ हुन थाले ।
म पनि के कम, ‘पुरुषत्वको भाव’ देखाउन थालेँ ।

फेरि दिउँसो पैसाकै कुरा गर्दै फोन गरिन् । ‘बूढो पैसा छिटो चाइयो के, एक जना भाइ बिरामी भएर अस्पतालमा छ ।’
पैसा माग्न घरी भाइ बिरामी, घरी बुवाले बस किनेको किस्ता दिनुपर्ने, घरी तराईमा जमिन किन्नका लागि बैना दिएको पैसा जम्मा गर्नुपर्ने, यस्तै यस्तै…।
विभिन्न प्रयोजनका लागि एकोहोरो ‘पैसा पैसा’ भन्न थालिन् ।

त्यसपछि मेरो पालो आयो ।
मैले पनि गफ दिँदै गएँ । ‘मैले भर्खर २५ लाख ऋण निकालेको छु । काठमाडौंमा जमिन किन्ने तयारीमा छु । त्यसैले अहिले त पैसा छैन । यताउता पनि जुटाउन सकिन । दुःख नमान्नुस् ल ।’
काठमाडौंमा जमिन किन्न लागेको सुनेपछि एकदमै खुसी भएर कुरा गर्न थालिन् । त्यो दिन बिहानै नाता गाँसिसकेकी थिइन् ।

उनको तर्फबाट ‘बूढो’ सम्बोधन सामान्य भइसकेको थियो ।
‘हो र बूढो !’ जमिन किन्ने कुरा सुनेपछि उनी ‘पागल’ झैं भइन् ।
‘अब जमिन कसैको नाममा पनि नगर्नुहोला बूढो ! बरु यो ५ लाख पनि त्यतै लगानी लगाऔं । जमिन मेरो नाममा पास गरिदिनुस् है ।’
मैले पनि ‘तिम्रै नाममा गरिदिन्छु, केही चिन्ता नगर’ भन्दै फोन राखेँ ।

दुई दिनको मायामा लुकेको स्वार्थ क्षणभरममै छर्लंग भइसकेको थियो । अन्जना ठग त अवश्य हो नै । तर, ठग्ने तरिका पुर्‍याउन नसकेरै ठग्न खोजिन् र असफल भइन् । अरु कतिपय ठगिएका पनि हुन सक्छन् । थाहा छैन । अन्जना एक पात्र मात्र हुन् । विभिन्न ठाउँमा मायाको बहाना गर्दै ठग्नेहरुको संख्या अहिले बढ्दै गएको छ । यसमा सबैले सचेत हुन जरुरी छ ।

प्रकाशित समय १४:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु