fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ जनप्रतिनिधि भन्छन्- कोरोनाका विषयमा नागरिकबाटै गम्भीर लापर्बाही भयो

जनप्रतिनिधि भन्छन्- कोरोनाका विषयमा नागरिकबाटै गम्भीर लापर्बाही भयो

जनप्रतिनिधिहरूले कोरोना नियन्त्रणका विषयमा नागरिक स्तरबाटै गम्भीर लापर्बाही भइरहेको बताएका छन् । देशव्यापी परीक्षणको नतिजामा संक्रमित दर उच्च गतिमा बढ्दै जाँदा वडा कार्यालयमा दैनिक परीक्षणका लागि आउनेहरूबाटै गम्भीर लापर्बाही भइरहेको उनीहरूको भनाइ छ ।

काठमाडौँ महानगरपालिका १० का अध्यक्ष रामकुमार केसी एक सातायता दैनिक ५० देखि ७० जना मानिसले परीक्षणका लागि वडा कार्यालयमा सम्पर्क गर्ने गरेको बताउँछन् । ‘दुई साता अघिसम्म परीक्षण गराउनेको संख्या निकै कम थियो,’ उनी भन्छन्, ‘अहिले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरू परीक्षणका लागि आउने क्रम निकै बढेको छ ।’

अध्यक्ष केसीका अनुसार परीक्षणका लागि स्वाब संकलन गर्ने क्रम बढेसँगै रिपोर्ट आउन पनि ढिलाइ हुन थालेको छ । ‘पहिला ७२ घण्टासम्ममा रिपोर्ट आउने गरेकोमा हिजोआज ५–६ दिन लाग्ने गरेको छ,’ उनले भने, ‘हाम्रो वडामा जस्तै अन्य वडामा पनि परीक्षण गराउनेको संख्या धेरै बढेकाले पनि रिपोर्ट आउन ढिलाइ भएको हुनसक्छ ।’

कन्ट्याक्ट ट्रेसिङमा परेकाहरू र लक्षण देखिएकाहरूबाट भइरहेको गम्भीर लापर्बाहीका कारण कोरोना भित्रभित्रै असामान्य ढंगले फैलिरहेको उनको अनुमान छ । कोरोना परीक्षणका लागि स्वाब दिएकाहरूको रिपोर्ट नेगेटिभ आएपछि खोजी गर्दा कोही साथीभाइ भेट्न त कोही घुम्न गएको जवाफ दिने गरेको उनले बताए । ‘स्वाब संकलनका बेला सबैलाई रिपोर्ट नआएसम्म होम क्वारेन्टिनमा बस्नुस् भनेका हुन्छौँ, कतिपयलाई मतलब नै छैन, बेपर्वाह डुलिरहेका हुन्छन्,’ अध्यक्ष केसी भन्छन्, ‘मानिसहरू यसैगरी आफ्ना, आफन्त, साथीभाइ सबैलाई कोरोना सार्दै हिँडिरहेका छन् ।’

अरु वडाबाट परीक्षण गराउने र आफू बस्ने वडालाई जानकारी नगराउने पनि धेरै रहेको उनले बताए । ‘हामीकहाँ जानकारी आएर खोजी गरेपछि मात्र आफ्ना वडामा रहेका संक्रमितबारे थाहा पाइन्छ,’ उनी भन्छन्, ‘यो शैलीका कारण भित्रभित्रै कोरोना सल्किँदै गइरहेको छ ।’ आफूलाई लागेको थाहा पाइसकेपछि पनि संक्रमितको जस्तो व्यवहार नगर्दा सबै मानिस जोखिममा परेको अध्यक्ष केसीले बताए ।

हालसम्म काठमाडौँ महानगरपालिका १० मा हालसम्म ५५३ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये २८३ जना निको भएका छन् । अन्यको घर तथा अस्पतालमा उपचार भइरहेको छ । ५१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका २ जना भेन्टिलेरमा छन् । वडा कार्यालयको अग्रसरतामा हालसम्म १ हजार १३३ जनाको परीक्षण भएको छ ।

प्रकाशित समय १२:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु