गृहपृष्ठ कर्णालीका संक्रमितमध्ये ७९ प्रतिशत सुर्खेतमै

कर्णालीका संक्रमितमध्ये ७९ प्रतिशत सुर्खेतमै

प्रदेशभरका कोरोना संक्रमितमध्ये ७९ प्रतिशत संक्रमित सुर्खेत जिल्लामा रहेका छन् । प्रदेशभर ७ सय १८ सक्रिय संक्रिय रहेकामा ५ सय ६९ जना सुर्खेत जिल्लामै रहेका हुन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार हालसम्म करिब २५ हजारको स्वाब संकलन गरिएकोमा २ हजार २५ जना सुर्खेत जिल्लामा कोरोना पोजेटिभ भेटिएका हुन् । जसमध्ये १ हजार ६ सय २ जना सुर्खेतका र ४ सय २३ जना अन्य जिल्ला तथा प्रदेशका रहेको कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । उनले देशभरका सबै मुख्य सहरहरु कोरोनाको उच्च जोखिममा भएको भन्दै सुर्खेत जिल्लासमेत जोखिममा रहेको बताए ।

८६ प्रतिशत संक्रमित वीरेन्द्रनगरमा

सुर्खेत जिल्ला भर सक्रिय संक्रमित ५ सय ६९ हुँदा वीरेन्द्रनगर नगरपालिकामा मात्रै २ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् । नौ वटा स्थानीय तह रहेको सुर्खेत जिल्लाका अन्य आठवटा स्थानीय तहमा भने ३ सय ५ सक्रिय संक्रमित रहेका हुन् । हालसम्म नगरका ८ सय ५० जनालाई कोरोनाभाइरस पुष्टि भइसकेको छ । जसमध्ये ५ सय ८६ जना कोरोनामुक्त भइसकेको र २ सय ६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर ठेगाना भएकाहरुको मात्रै नगरले रेकर्ड राख्ने गरेको भए पनि नगरभित्र अन्य जिल्ला तथा स्थानीय तहको ठेगाना भएकाहरु होम आइसोलेसन बस्दै आएका छन् । जसले गर्दा वीरेन्द्रनगर कोरोनाको जोखिममा रहेको हो ।

बिहीबार थप ६७ जनामा कोरोनाभाइरस पुष्टि भएसँगै प्रदेशभर संक्रमितको संख्या ४ हजार १ सय ४ जना पुगेको छ । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परीक्षणमा ५९, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ५ जना र चौरजहारी रुकुमपश्चिमा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । गत चौबिस घण्टामा ५१ जना कोरोना भाइरसमुक्त भएसँगै प्रदेशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार २ सय ८० पुगेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । हालसम्म कोरोनाभाइरसका कारण प्रदेशभर दश जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु