fbpx
corona information

गृहपृष्ठ स्वास्थ्य चौकीहरुमा पाइनै छाड्यो अस्थायी साधन, स्वास्थ्यकर्मी भन्छन्- धेरै मानिस गाउँ फर्किएर होला

स्वास्थ्य चौकीहरुमा पाइनै छाड्यो अस्थायी साधन, स्वास्थ्यकर्मी भन्छन्- धेरै मानिस गाउँ फर्किएर होला

स्वास्थ्य सेवा स्थानीय तहमा गएपछि अत्यावश्यक औषधि सधैँ अभाव

कर्णाली प्रदेश सरकारको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य चौकीहरुमै अत्यावश्यक औषधि अभाव भएको छ । गत वर्ष नगरका आठ सहरी स्वास्थ्य केन्द्र र सात स्वास्थ्य चौकीमा वितरणका लागि ४५ लाख ५० हजार रुपैयाँबराबरको औषधि खरिद भए पनि अत्यावश्यक औषधि नै अभाव रहेको हो ।

प्यारासिटामल, गर्भनिरोधक पिल्स, कन्डम, डिपोलगायतका अत्यावश्यक औषधि नै स्वास्थ्य चौकीहरुमा छैन । सरकारले स्वास्थ्य चौकीहरुबाट निःशुल्क वितरण गर्ने ३८ प्रकारका औषधिमध्ये वीरेन्द्रनगरका अधिकांश स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि छैनन् । आर्थिक वर्ष २०७६/७७ मा वीरेन्द्रनगर नगरपालिकाले ४५ लाख ५० हजारको औषधि खरिद गरेको जनाएको छ ।

जर्बुटा स्वास्थ्य चौकीका प्रमुख नविन भुसालले पिल्स, कन्डम, डिपो, आइरन, दम, सुगर तथा ब्लड प्रेसरको औषधि नभएको बताए । ‘नभई नहुने औषधिको अभाव सधैँ झेल्नुपर्छ,’ उनले भने, ‘एक महिनालाई स्टक औषधि हुँदाखेरि नै पाँच महिनालाई पुग्नेगरी औषधि माग गर्दा पनि सधैँ औषधि अभाव हुन्छ ।’ स्थानीय तहमातहत स्वास्थ्य अधिकार गएपछि झनै अप्ठ्यारो भएको उनले बताए । ‘स्वास्थ्यको समस्या जनप्रतिनिधि र प्रशासनका अन्य कर्मचारीले बुझ्दैनन्,’ उनले थपे, ‘हरेक वर्ष स्वास्थ्य क्षेत्रका जनशक्तिसँग कुनै पनि छलफल नभई न्यून बजेट विनियोजन हुन्छ ।’ स्वास्थ्य चौकीहरुमा एचआईभी डिटरमाइन किटसमेत अभाव भएको उनले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य चौकी गढीमा पनि औषधि अभाव उस्तै रहेको प्रमुख गंगा श्रेष्ठले बताइन् । ‘कोरोनाको प्रभाव भएर होला,’ उनले भनिन्, ‘यो समयमा अस्थायी साधनको बढी अभाव छ ।’ कोरोनाभाइरस प्रभावले सबै घर फर्किएको र अस्थायी साधन पिल्स, डिपो र सिटामोललगायतका औषधि बढि खपत भएको उनको तर्क छ । उनका अनुसार सरकारले स्वास्थ्य चौकीलाई तोकेको ३८ प्रकारको औषधिबाहेक आवश्यकताको आधारमा आफूहरुले अन्य औषधिसमेत खरिद गरी वितरण गर्ने गरेको जानकारी दिइन् । ‘ठाउँअनुसार औषधि आवश्यक पर्छ,’ उनले भनिन्, ‘हाम्रो क्षेत्र विकट भएकाले चोटपटक, एलर्जी, प्यारासिटामोल र अस्थायी साधनको औषधि बढी आवश्यक पर्छ ।’ स्थानीय तहमार्फत औषधि प्राप्त गर्दा प्रक्रिया लामो र दिए पनि कम औषधि दिने गरेको उनले बताइन् ।

स्वास्थ्य चौकी सानीलेखका प्रमुख भरतकुमार पुरीले समेत प्यारासिटामोल, डिपो, इमप्लान्टलगायतका औषधिको अभाव भएको जानकारी दिए । उनले भएका औषधि नागरिकलाई निःशुल्क वितरण गरिने भए पनि नभएको अवस्थामा निजी स्वास्थ्य संस्थाबाट बिरामीले किनेर लैजाने गरेको बताए ।

वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्शराम खड्काले पनि स्वास्थ्य चौकीलाई वितरण गर्न पर्याप्त औषधि नभएको स्वीकार गरे । ‘पर्याप्त औषधि नै छैन,’ उनले भने, ‘भएको औषधि वितरण गरिरहेकै छौँ ।’ औषधि खरिद प्रक्रिया टेन्डर गरी गर्ने र टेन्डर प्रक्रिया गर्दा बजारभाउ माग गरी मूल्यांकनको आधारमा गरिने उनले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले औषधि खरिदका लागि २० लाख बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले ३५ लाख विनियोजन गरेको र संघीय सरकारले १५ लाख ५० हजार ससर्त अनुदान दिएको खड्काले बताए । चालू आर्थिक वर्षका लागि नगरले ५० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

ग्रामीण क्षेत्रका हुन् वा सहरी, स्वास्थ्य चौकीहरुमा सधैँ औषधि अभाव खट्किएको पाइन्छ । कर्णाली प्रदेशको राजधानी पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्यचौकीमा त अत्यावश्यक औषधि प्यारासिटामोल, पिल्सलगायतका औषधि अभाव छ भने विकट जिल्लाका स्वास्थ्य चौकीको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।

प्रकाशित समय ०८:१५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु