fbpx
corona information

गृहपृष्ठ सुदूरपश्चिममा फेरि बढ्दै कोरोना संक्रमण

सुदूरपश्चिममा फेरि बढ्दै कोरोना संक्रमण

शुक्रबार देशभर २२४ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये सुदूरपश्चिमका मात्रै ११३ जना छन् । देशभरिको तुलनामा सुदूरपश्चिममा आधाजतिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी ११३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका तीन जनामा संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा आजमात्रै कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एक गरी २६ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका २३ जनामध्ये धनगढीका मात्रै १६ जना छन् ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आठ जना पुरुष र आठ जना महिलामा संक्रमण देखिएको हो । धनगढी उपमहानगरपालिका ६, ८, ११ र १८ का एक/एक जना, वडा नम्बर ७ का चार जना, वडा नम्बर १२ का तीन जना र वडा नम्बर १४ का पाँच जनामा संक्रमण पुष्टि भएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । यस्तै कैलालीको टीकापुर नगरपालिका ६ का तीन जना, वडा नम्बर १, २ ७ र ८ का एक/एक जनामा कोरोना देखिएको छ ।

सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठले बझाङको मष्टा १ का २० वर्षीय पुरुष, छब्बिस पाथिभेरा गाउँपालिका ७ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका १७ का २५ वर्षीय पुरुषमा कोरोना देखिएको जानकारी दिए । आज ११३ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ५२४ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ७० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका ७७०, अछामका ६७८ र बाजुराका ६१९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका ५४४, डडेल्धुराका ३०९, बैतडीका २९५, बझाङका २०९ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका तीन हजार ८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित समय २१:३२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु