fbpx
corona information

गृहपृष्ठ सुदूरपश्चिममा कोरोना महामारी : क्वारेन्टिन रित्तिँदै, संक्रमित थपिँदै

सुदूरपश्चिममा कोरोना महामारी : क्वारेन्टिन रित्तिँदै, संक्रमित थपिँदै

९ वर्षमुनिका संक्रमित बालबालिका बढे

विद्यालयको क्वारेन्टिनमा बसेकाहरू । (फाइल तस्बिर)

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय पुगेको छ । बुधबार थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सुदूरपश्चिममा हालसम्म कोरोनाका कारण ७ जनाको मृत्यु भइसकेको छ । यसमध्ये ४ जना कैलालीका, २ जना बाजुरा र अछामका एकजना रहेका छन् ।

सुदूरपश्चिमका विभिन्न अस्पतालबाट बुधबारसम्म चार सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार मंगलबार मात्रै ९१ जना संक्रमितलाई विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी डडेल्धुराका १ सय ३७, डोटीका १ सय २४, कञ्चनपुरका ८८ र कैलालीका ७६ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । त्यस्तै अछामबाट २८, दार्चुलाबाट १३, बैतडीबाट ९, बझाङ र बाजुराबाट दुई/दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

क्वारेन्टिन रित्तिदै, संक्रमित बढ्दै

सुदुरपश्चिम प्रदेशमा निर्माण गरिएका क्वारेन्टिनहरु रित्तिदै गएका छन् । तर प्रदेशमा कोरोना संक्रमितको संख्या भने दिनानुदिन वृद्धि भइरहेको छ । जेठ २८ गते प्रदेशभर ६६ हजार १ सय १२ जना क्वारेन्टिनमा रहेका थिए । असार १६ गते क्वारेन्टिनमा रहेकाहरुको संख्या घटेर १२ हजार १ सय ७४ मात्र छ । तर जेठ २८ गते कोरोना संक्रमितको संख्या १ सय ६१ रहेकोमा असार १६ गते संक्रमितको संख्या बढेर २ हजार ४ सय ८३ पुगेको छ ।

सरकारले १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई घर पठाउने नियम बनाएपछि क्वारेन्टिनमा बसेकाहरुको संख्या हवात्तै घटेको हो । क्वारेन्टिनमा हुँदा स्वाब संकलन गरिएको र घर पुगेपछि कोरोना पुष्टि हुनेको संख्या ठूलो छ । अहिलेसम्म क्वारेन्टिनबाट घर गइसकेपछि कोरोना पुष्टि हुनेका संख्या २ सय २३ छ । क्वारेन्टिनमा कोरोना पुष्टि भएकाहरुलाई पनि होम आइसोलेसनमा बस्न घरै पठाइएको छ । यसले सुदुरपश्चिममा कोरोनाको संक्रमण समुदायमा फैलाउने जोखिम बढेको छ ।

सरकारले १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई होम क्वारेन्टिनमा पठाउन निर्देशन दिएकाले १४ दिन पुगेका सबैलाई घर पठाउने गरेको घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीले बताइन् । तर यसले समुदायमा कोरोना फैलिने खतरा बढाएकोप्रति कसैको ध्यान गएको छैन । सरकारले क्वारेन्टिनमा १४ दिन बसिसकेपछि घर जाने र १ हप्तामा घरमै होम क्वारेन्टिनमा बस्न सबै स्थानीय निकायमा निर्देशन दिएको छ ।

क्वारेन्टिनबाट घर गएका अधिकांशमा संक्रमण

घोडाघोडीमा क्वारेन्टिनबाट घर पुगिसकेका ३१ जनामा कोरोना पुष्टि भएको थियो । डडेल्धुराको गन्यापधुरा नगरपालिकामा एकै दिन कोरोना संक्रमण देखिएका ५६ जनामध्ये ३६ जना क्वारेन्टिनबाट घर गएकाहरु थिए । त्यसको लगत्तै समुदायमा जोखिम बढेको विश्लेषण गर्दै गन्यापधुरा नगरपालिकाले एक साताका लागि पालिका सिल गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट आफैँ घर गएका १८ जनामा घर पुगेको दश दिनपछि कोरोना पुष्टि भएको थियो । त्यसपछि नगरपालिकाले सिल गरेर बजार बन्द गरिएको छ । गौरीगंगाका मेयर भीम देउवाले घर पुगिसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि घरकै होम क्वारेन्टिनमा बस्नु पर्ने बताए । संक्रमण देखिएकाहरुलाई ल्याएर आइसोलेसनमा राख्न सकिने सम्भावना नभएको मेयर देउवाको भनाइ छ ।

कन्चनपुरको लालझाडी गाँउपालिकामा असारको पहिलो साता क्वारेटिनबाट घर गएका १९ जनामध्ये ११ जनामा कोरोना पुष्टि भएको थियो । क्वारेन्टिनबाट घर गएकाहरुमा कोरोना संक्रमणको पुष्टिले समुदायमा संक्रमणको जोखिम बढाएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की विश्व स्वास्थ्य संगठनको मापदण्ड र संघीय सरकारको निर्देशिका अनुसार क्वारेन्टिनमा १४ दिन राखेर घर पठाउने गरिएको बताए ।

बालबालिकामा संक्रमण बढ्दै

सुदूरपश्चिममा हालसम्म १७५ जना ९ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना संक्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिका कोरोना संक्रमित थिए । तर यो संख्या बढ्दै गएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । संक्रमित सबै बालबालिका बुवाआमासँगै भारतबाट फर्किएकाहरु रहेको उनले बताए ।

कोरोना संक्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको मृत्यु भइसकेको थियो । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । सुदूरपश्चिमका नौवटै जिल्लामा ५७३ महिला संक्रमित छन् । उनीहरु पनि प्रायः श्रीमानसँगै भारतबाटै फर्किएका हुन् ।

क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

संक्रमणको दर तीव्र भएपछि सुदूरपश्चिममा क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । ८८ वटै स्थानीय तहमा हालसम्म १ हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ शय्याको क्वारेन्टिनमा हाल १२ हजार १७४ जना बसिरहेका छन् । ग्एको एक महिनामा सुदूरपश्चिमका सीमा नाका हुँदै १ लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्यांक छ । तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन् ।

जोखिम कायमै, परीक्षणको दायरा बढेन

लकडाउनको प्रभावकारी कार्यान्वयन नहुनु, भारतबाट विनापरीक्षण नेपाली नागरिकलाई प्रवेश दिनु लगायतका कारण सुदूरपश्चिममा संक्रमण बढ्दै गएको बताइएको छ । लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पीसीआर मेसिन एउटा मात्रै हुँदा परीक्षणको दायरासमेत बढ्न सकेको छैन । जसका कारण संक्रमितको संख्या अझै बढने सम्भावना बढेको छ ।

प्रकाशित समय १३:३९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु