fbpx
corona information

गृहपृष्ठ तीन जना संक्रमित नै लुकिछिपी कैलाली पुगेका थिए

तीन जना संक्रमित नै लुकिछिपी कैलाली पुगेका थिए

सुदूरपश्चिमका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका तीन र बैतडी तथा डडेल्धुराका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बैतडी र डडेल्धुरामा कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो ।

धनगढी प्रयोगशालामार्फत गएराति गरिएको परीक्षणमा पाँचै जनामा कोरोना पुष्टि भएको हो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । जानकी गाउँपालिका वडा नम्बर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

उनीहरु इटहरी, बाँके र भारतबाट लुकिछिपी फर्किएको खुलेको छ । जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोका अनुसार वडा नम्बर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए । उनी भारतको महाराष्ट्रबाट फर्किएका थिए । वडा नम्बर ७ का दुईमध्ये एक जना इटहरी र एक जना बाँकेबाट फर्किएका हुन् ।

इटहरीबाट आएका युवक वैशाख ३० गते जानकी गाउँपालिका पुगेका थिए भने अर्का संक्रमित युवक बाँकेको जानकी गाउँपालिका ३ बाट जेठ ३ गते कैलाली पुगेको उपाध्यक्ष महतोले जानकारी दिइन् । उनीहरु तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट फर्किएका युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो भने अन्य दुई संक्रमितलाई भने गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको थियो । उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको छ ।

बैतडीमा थुनुवा
बैतडीमा कोरोना संक्रमण पुष्टि भएका युवा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवा हुन् । जिल्लाकै शिवनाथ गाउँपालिकाका २ घर भएका २२ वर्षीय पुरुषलाई वैशाख १५ गते प्रहरीले पक्राउ गरेर थुनुवा कक्षमा राखेको थियो । बिहे गर्छु भनेर लगेकी किशोरी खोलामा मृत फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर म्याद थप गर्दै अनुसन्धान गरिरहेको थियो । उनैलाई कोरोना देखिएको हो । उनीसँगै उनको बहिनी पनि घटनामा संलग्न रहेको भन्दै पक्राउ परेकी थिइन् । उनको रिपोर्ट भने नेगेटिभ आएको छ । थुनुवामा नै कोरोनाको संक्रमण देखिएपछि कार्यालयलाई नै सिल गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

डडेल्धुराका संक्रमित डिस्चार्ज भइसकेका
डडेल्धुराका संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामी भएको खुलेको छ । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय कोरोना संक्रमित पुरुष अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामी रहेको खुलेको हो । डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश विष्टले अस्पतालबाट डिस्चार्ज भइसकेपछि कोरोना पुष्टि भएको जानकारी दिए । ‘ती पुरुषमा स्क्रब टाइफस पनि देखाएको थियो । सञ्चो भएर उनी घर फर्किसकेका छन् । अहिले सम्पर्कमा ल्याएर आइसोलेसनमा राख्ने तयारी छ,’ उनले भने । उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो ।

यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या १० पुगेको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेलापरेका थिए । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । वैशाख १ गते लम्की चुहा नगरपालिका१ की ६१ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन् । उनीहरु पाँचै जनाले कोरोनालाई जितिसकेका छन् ।

प्रकाशित समय १९:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु