fbpx
corona information

गृहपृष्ठ एकै पटक २१ जनाले पराजित गरे कोरोना, स्वास्थ्य परामर्शपछि आज घर फर्किंदै

एकै पटक २१ जनाले पराजित गरे कोरोना, स्वास्थ्य परामर्शपछि आज घर फर्किंदै

नेपालगन्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगन्ज उपमहानगरपालिका ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगन्ज ८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार गराइरहेका उनीहरुमध्ये पहिलो संक्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । उनका अनुसार पहिलो संक्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइनेछ ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँको भनाइ छ । नेपालगन्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो । हाल संक्रमित १०१ पुगेका छन् ।

थप दुईमा संक्रमण

बाँकेमा बिहीबार संक्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए । नेपालमा आएलगत्तै क्वारेन्टिनमा रहेका खजुरा गाउँपालिका ३ का ४२ वर्षीया महिला र  नरैनापुर गाउँपालिका ३ का ३२ वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको आरटिपिसिआर प्रयोगशालामा गरिएको स्वाब नमुना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहीबार फेला परेका संक्रमित एक हप्ताअघि भारतबाट आएर गाउँकै क्वारेन्टिनमा बस्दै आएका हन् । कोरोना संक्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएपछि खजुराक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।  खजुरा गाउँपालिकामा पहिलो पटक बुधबार वडा नं ५ निवासी एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो भने बिहीबार थप एक जनामा पुष्टि भएको छ ।

खजुरामा संक्रमण नभई भारतबाटै संक्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले थप उच्च सतर्कता अपनाइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले  बताए । संकलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।

१५१ स्वाब संकलन

बाँकेमा बिहीबार विभिन्न स्थानबाट १५१ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राप्तीसोनारी गाउँपालिकाबाट ४६, डुडुवा गाउँपालिकाबाट २०, नेपालगन्जको कल्पतरु होटलको क्वारेन्टिनबाट १२, भेरी अस्पतालबाट सात, नेपालगन्ज मेडिकल कलेजबाट ६ र नेपाल प्रहरीका ६०  जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए । संकलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।

रमजान सादगीका साथ मनाउन आग्रह

कोरोना संक्रमणको महामारीबाट जोगिन मुसलमान समुदायले रमजान पर्व सादगीका साथ मनाउन आग्रह गरेको छ । नेपालगन्जस्थित मुसलमान समुदायका अगुवाले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आफ्ना धर्म संस्कार पनि सादगीका साथ घरमै मनाउन आग्रह गरेका हुन् ।

धर्मगुरु एवं नेपालगन्जका मुसलमान अगुवा मौलाना अबदुल जब्बार मञ्जरीले अलबिदाको नमाज र इदुल फित्रको नमाज संक्रमण फैलिने खतरा रहेकाले घरघरमै बसेर मनाउन आग्रह गरे । हाजी मोहमद हारुन हलवाईका अनुसार आगामी सोमबार रमजान पर्व सकिँदै छ ।  कोरोनाको समयमा हुने गरेका गलत अफवाहको पछि नलाग्न र त्यस्ता सूचना प्रवाह गर्नेहरुका बारेमा तत्काल प्रशासनलाई जानकारी दिन पनि उनले आग्रह गरेका छन् । (रासस)

प्रकाशित समय ०७:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु