fbpx
corona information

गृहपृष्ठ सुदूरपश्चिममा कोरोना महामारी : संक्रमित बसेकै टोलमा पनि पर्याप्त परीक्षण हुन सकेन

सुदूरपश्चिममा कोरोना महामारी : संक्रमित बसेकै टोलमा पनि पर्याप्त परीक्षण हुन सकेन

सुदूरपश्चिममा भारतबाट आउनेहरू बढे पनि उनीहरूको स्वास्थ्य परीक्षण हुन सकेको छैन । यसरी आएकाहरू सोझै गाउँ जाँदा संक्रमणको जोखिम बढेको छ ।

लुकिछिपी आएर क्वारेन्टाइनमा नबसेकाहरू सबैको जाँच हुन नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले बताए । परीक्षणको दायरा नबढाइँदा समुदायमा एकैचोटि संक्रमण फैलन सक्ने खतरा बढेको छ । सुदूरपश्चिममा वैशाख १ गते कैलाली, लम्कीचुहाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएयता थप संक्रमित देखिएका छैनन् । त्यसअघि चैत १४ गते अर्का एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो ।

त्यो बीचको अवधिमा करिब १२ हजारजतिको आरडीटी परीक्षण गरिएको थियो । तर पछिल्लो एक महिनाको अवधिमा जम्मा ९ हजार आरडीटी गरिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले किटलगायत स्रोतसाधन अभावमा कोरोना परीक्षणलाई गति दिन नसकिएको बताए । क्वारेन्टिनमा रहेका सबैको पीसीआरबाट परीक्षण गर्न किट नपुग्ने भएकाले केस रिपोर्टिङ, आरडीटी पोजिटिभ र बिरामीको कन्ट्रयाक्ट ट्रेसिङमा आएका व्यक्तिहरूको मात्र पीसीआर गरेको उनले जानकारी दिए ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार गत मंगलबार बेलुकासम्म पीसीआरबाट ३ हजार ९ सय ८३ जनाको मात्रै परीक्षण भएको छ । सेती प्रयोगशालामा १ हजार ४ सय २५ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट २ हजार ३ सय १६ जनाको परीक्षण भएको हो । तीमध्ये ५ जना संक्रमित फेला परेकामा सबै निको भएर घर फर्किसकेका छन् । थ्रोट स्वाब संकलन भएका २ सय ३८ जनाको रिपोर्ट आउन बाँकी छ । चार जना संक्रमित फेला परेको कैलालीमा १ हजार ३ सय १९ जनाको मात्रै पीसीआर परीक्षण भएको छ ।

संक्रमित बस्दै आएको टोलका बासिन्दाकै नमूना संकलन नगरिएको स्थानीयको गुनासो छ । कैलालीमा धनगढी उपमहानगर– ६, जाईका एकै परिवारका २ जना, लम्कीचुहा नगरपालिकामा २ जना र कञ्चनपुरमा १ जना संक्रमित भेटिएका थिए । जिल्लामा ४ सय २५ जनाको मात्रै पीसीआरबाट परीक्षण भएको छ ।

अछाममा २ सय ६७, बैतडीमा ४ सय ३५, बझाङमा १ सय ६७, बाजुरामा १ सय ६२, डडेल्धुरामा २ सय ७७, दार्चुला ४ सय ६२ र डोटीमा ३५० जनामा कोरोना परीक्षण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिमको ८८ वटै स्थानीय तहका करिब ४ सय क्वारेन्टिनमा १ हजार ६ सय ७९ जना रहेका छन् । तिनमा महिला २ सय २५ जना छन् । विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा गरी १३ जना आइसोलेसनमा छन् ।

प्रकाशित समय १२:०६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु