fbpx
Rashifal Ad

गृहपृष्ठ तामाकोसी नदीमा जताततै औषधीजन्य फोहोर

तामाकोसी नदीमा जताततै औषधीजन्य फोहोर

hospital-waste1-newskarobar

दोलखाको तामाकोसी नदीको यत्रतत्र औषधीजन्य फोहोर फालिएको भेटिएको छ । सिंगटी बजार भएर बग्ने तामाकोसी नदीकिनारमा स्थानीय अस्पताल र फार्मेसीबाट निस्किएका औषधीजन्य फोहोर फालेको भेटिएको हो ।

सिंगटी खोला तामाकोसीमा मिसिने दोभानको बगरमा अस्पतालबाट निस्कने सुइ, ग्लोब्स, प्याड, स्लाइन पानीका बोतलजस्ता औषधीजन्य फोहोर यत्रतत्र भेटिन्छन् । यो फोहोर सिंगटी बजारमा सञ्चालिन निजी स्तरका अस्पताल र फार्मेसीबाटै फालिएको स्थानीयको अनुमान छ । त्यही फोहोरलाई कागले चलाएर अन्यत्र फैलाइरहेको छ ।

सिंगटी बजार भएर बग्ने तामाकोसी नदी र सिंगटी खोलामा दैनिक माझीले माछा मार्छन् । तिनै माछा सिंगटीका होटलमा पुग्छन् त कति कोसेलीका रुपमा राजधानी काठमाडौंसम्म । तर, बगरमा देखिएका यस्ता फोहोरले स्थानीयसमेत झस्किएका छन् ।

hospital-waste-newskarobar

सिंगटीको विगु गाउँपालिका ४ मा सिद्धार्थ फार्मेसी र खोलीखिममा अर्को एक गरी दुई वटा फार्मेसी छन् । त्यस्तै कालिञ्चोक गाउँपालिका ३ मा रोल्वालिङ सामुदायिक अस्पताल र जीवन फार्मेसी छ । बजारभन्दा डेढ किलोमिटरमाथि सरकारी स्तरको एक प्राथमिक स्वास्थ्य केन्द्र पनि छ ।

बजार छेउको तामाकोसी बगरमा जथाभावी प्रयोग गरेर फालिएका सुइ, स्लाइन पानीको बोतल जस्ता सामग्री भेटिनु दुखद् भएको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले बताए । व्यवसाय गर्न जसले पनि पाउँछ तर वातावरण नै प्रदूषित गरेर व्यवसाय गर्नु अपराध भएको उनले बताए । स्थानीयले स्थलगत निरीक्षण गरेर प्रशासनको ध्यानाकार्षण गराएका छन् ।

hospital-waste-newskarobar

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नदीमा सोझै औषधीजन्य फोहोर फालिएको खबर पाउनेबित्तिकै इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयलाई स्थलगत निरीक्षण गरी जानकारी गराउन निर्देशन दिएको बताए । नदी प्रदूषित हुनेगरी फोहोर फाल्ने जो कोही भए पनि कानुनी कारबाही हुने उनले स्पष्ट पारे ।

वातावरणविद् दिपक केसी औषधीजन्य फोहोर अरु सामान्य फोहोरभन्दा सयौं गुणा खतरनाक हुने बताउँछन् । यस्ता फोहोर सोझै नदीमा फाल्दा जलप्रणाली र खाद्य चक्रमै असर पार्ने उनले बताए । औषधीजन्य फोहोर व्यवस्थापन सामान्य फोहोर व्यवस्थापनभन्दा व्यवस्थित हुनुपर्ने विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको छुट्टै कानुन रहेको केसीले जानकारी दिए ।

hospital-waste2-newskarobar

प्रयोग भइसकेका सुइहरु पनि भाँचेर मात्र व्यवस्थापन गर्नुपर्नेमा सोझै नदीमा फालिएको देखिएको उनले बताए । ‘औषधीजन्य फोहोरले माछा जस्ता जलचरमा १० गुणा बढी र त्यही माछा मानिसले खाँदा १०० गुणासम्म असर गर्छ,’ उनले भने, ‘फोहोरलाई काग जस्ता पन्छीले चाँडै अन्यत्र फैलाउन पनि सक्छन् ।’

गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले यो फोहोर संरक्षण क्षेत्र बाहिरबाट आएको हुनसक्ने बताए । संरक्षण क्षेत्र भित्रबाट आए कडा कारबाही हुने उनले स्पष्ट पारे ।

तस्बिर सौजन्य : दिपक केसी

प्रकाशित समय १७:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु