fbpx
Nepal Mediciti

गृहपृष्ठ विद्यालय निर्माण अलपत्र छाडेर ठेकेदार बेपत्ता

विद्यालय निर्माण अलपत्र छाडेर ठेकेदार बेपत्ता

araniko-school-newskarobar

झापामा भारतको सहयोगमा निर्माणाधीन विद्यालय भवन एक वर्षदेखि अलपत्र छाडेर ठेकेदार कम्पनी बेपत्ता भएको छ । अलपत्र छाडिएका अधुरा र जोखिमपूर्ण भवनमा विद्यार्थी अध्ययन गर्न बाध्य छन् ।

निर्माण कम्पनी राजधानी कन्ट्रक्सन काठमाडौंले ३२ कोठे दुई तले विद्यालय भवनको ठेक्का पाएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थी झ्याल ढोका नभएको, छत भए पनि इँटाले नघेरिएको कक्षा कोठामा पढिरहेका छन् ।

विद्यालयको कक्षाकोठामा न बिजुली छ न त खानेपानी र शौचालय नै । भवन नबन्दा निकै दुःखले पढ्नुपरेको विद्यार्थीले बताएका छन् । बर्खाको बेला कक्षाकोठामा पानी पस्ने, हावाहुरी चल्दा बस्नै नसकिने तथा गर्मीमा पंखा चलाउने बिजुलीको व्यवस्था नहुँदा पनि विद्यार्थीलाई त्यहाँ पढाउनुको विकल्प नभएको शिक्षक खेमराज चिमरियाले बताए ।

२०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्ततिका लागि भारतीय दूतावासले चार करोड २१ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणका लागि ठेक्का लिएका थिए । कम्पनीले ठेक्का पाएको चार वर्षपछि २०७१ चैतदेखि निर्माण थालेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताए ।

तर, तत्कालीन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा सुरु भएको विद्यालय भवनको निर्माण एक वर्षदेखि ठप्प छ । भवन निर्माणले पूर्णता नपाउँदा रातको समयमा विद्यालय भवन नै डेटिङ स्थल बन्ने पुगेको प्रधानाध्यापक खरेल बताउँछन् । ‘दिउँसो त विद्यालय लाग्छ, रेखदख हुन्छ, रातको समयमा आपराधिक गतिविधिदेखि डेटिङ स्पट जस्तो समेत बनेको छ,’ उनले भने, ‘ठेक्का लागेको १० वर्ष बित्न लाग्दा पनि विद्यालय भवन निर्माण हुन सकेन ।’

जनप्रतिनिधि आएपछि अधुरो विद्यालय भवन निर्माणका लागि पटक पटक स्थलगत निरीक्षण गरेर पहल गरिरहेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले दाबी गरेका छन् । उनले भने, ‘सो विद्यालयको अधुरो काम सम्पन्न गराउन हामीले निरीक्षण गरेर सम्बन्धित पक्षसँग पहल गरिरहेका छौँ । दूतावासलाई समेत खबर गरेका छौँ । आशा छ अब चाँडै बन्ला ।’

अरनिको माविसँगै भारत सरकारको सहयोगमा निर्माण सुरु भएका जिल्लाका अरु विद्यालय भने बनिसकेका छन् । अरनिको मावि बनाउने मूल ठेकेदार र पेटी ठेकेदारबीचको आपसी लेनदेन र असमझदरीका कारण सो विद्यालय भवन अलपत्र परेको स्थानीयको आरोप छ ।

प्रकाशित समय १४:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु