fbpx
Nepal Mediciti

गृहपृष्ठ राजधानीमा डेंगु आतंक बढेपछि टेकुमा निःशुल्क परीक्षण र उपचार

राजधानीमा डेंगु आतंक बढेपछि टेकुमा निःशुल्क परीक्षण र उपचार

dengu-newskarobar

पछिल्ला ९ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु परीक्षण तथा उपचार गर्न जाने बिरामीमध्ये १ हजार ३५० मा डेंगु रोगको संक्रमण भेटिएको छ । अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब २ हजार ५०० बिरामीमध्ये झन्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ ।

अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको संख्या अत्यधिक रुपमा बढिरहेको छ । अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले अस्पतालमा बिरामीको चाप अत्यधिक बढिरहेको जानकारी दिँदै कार्यरत स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गराउन भ्याइनभ्याइ भएको बताए ।

सोमबारमात्रै अस्पतालमा ४४८ ले सो रोगको परीक्षण गराएका थिए । तीमध्ये ३११ मा सो रोगको संक्रमण देखापरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई डेंगु परीक्षण तथा उपचार गर्न आउने बिरामीसँग शुल्क नलिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको जनाइएको छ ।

काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखा पर्न थालेको छ । अस्पतालमा बिरामी भर्ना गर्ने शय्यासमेत अभाव छ । अस्पतालमा उक्त रोगका लागि २४ शय्या मात्र छन् । अस्पतालका निर्देशक चिकित्सक वासुदेव पाण्डेले रोगको परीक्षण गर्ने वृद्धि भएसँगै अस्पतालले परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरी सेवालाई अझ सहज बनाएको जानकारी दिए ।

उनले भने, ‘अस्पतालले सोमबारबाट छुट्टै ‘फिवर क्लिनिक’समेत सञ्चालनमा ल्याएको छ, क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न सुरु गरेको छौं ।’ यो रोगको संक्रमण देशका ४८ जिल्लामा देखा परिसकेको छ । मन्त्रालयका अनुसार रोगको संक्रमणका कारण तीनजनाको अकालमा मृत्युसमेत भएको छ ।

के हो डेंगु ?

डेंगु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट संक्रमित भई रोग सर्छ । २०७६ वैशाखदेखि हालसम्म ६ हजारभन्दा बढी बिरामी भइसकेका जनाइएको छ ।

सो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षातको समय सुरु भएपछि सो रोग बढी देखा पर्ने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण भएका सरुवा रोग विशेषज्ञ चिकित्सक बाँस्तोलाले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्यांकी, ग्रागी, बाल्टिन, ड्रम आदि सधैं छोपेर राख्ने सुझाव चिकित्सकको छ । (रासस)

यो पनि पढ्नुहोस्

डेंगु संक्रमणको घरेलु उपचार, कसरी बच्ने डेंगुबाट ?

प्रकाशित समय ०७:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु